तनहुँका दुई विद्यालयमा नर्स राखिँदै

सम्झना रसाइली

तनहुँ — गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका दुई विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ को श्रृङ्ग माध्यमिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त विद्यालयहरूमा स्टाफ नर्स (पाँचौं तह) को दरबन्दी थप गरिएको छ ।

तनहुँका दुई विद्यालयमा नर्स राखिँदै

आँबुखैरेनीले गत भदौमा नै गाउँपालिकाको आन्तरिक स्रोतबाट रामशाह माविमा नर्स नियुक्ति गरिसकेको छ । गाउँपालिकाले नियुक्ति गरेको नर्सलाई अर्कै विद्यालयमा नियुक्त गरी रामशाहमा प्रदेश अन्तरगतको कार्यक्रम लागु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख अगमराज उपाध्यायले बताए ।

विद्यालयमा नर्स नियुक्तिका लागि गाउँपालिकाको आफ्नै नीतिनियम रहेको बताउँदै सोहीअनुसार रामशाह माविमा प्रदेशबाट नर्स आउनेबित्तिकै गाउँपालिकाबाट नियुक्त गरिएको नर्सलाई अर्कै विद्यालयमा नियुक्त गरिने उनले बताए । उनले भने, ‘रामशाहपछि आँबुखैरेनी–१ स्थित मित्रता माविमा नर्स राख्ने छलफल भइरहेको छ ।’ रामशाहमा करिब २ हजार ८ सय विद्यार्थी छन् भने मित्रता माविमा करिब साढे ७ सय विद्यार्थी अध्ययनरत छन् ।

आन्तरिक स्रोतबाट विद्यालयमा नर्सको व्यवस्थापन गर्दै आएकोमा स्थायी रूपमा नर्सको दरबन्दी भएपछि सहज हुने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘पालिकामा रहेका माध्यमिक विद्यालयमा करारमा नर्स नियुक्त गर्ने कार्यक्रम यसअघि नै ल्याइसकेका थियौं । अहिले प्रदेशबाट स्थायी रूपमै नर्स कार्यक्रम प्राप्त भएको छ ।’ गाउँपालिकाका ३४ सामुदायिक विद्यालयमध्ये ६ वटा मावि तहका छन् । सबै विद्यालयमै नर्सिङ सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए ।

विद्यालयमा नर्सिङ सेवा सुरु गरेपछि विद्यार्थीलाई निकै सहज भएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछाने बताउँछन् । ‘विद्यालयमा खेल्दा लड्दा लाग्ने सानोतिनो चोटको उपचार विद्यालयमै भएको छ’, उनले भने, ‘छात्रालाई पनि निकै सजिलो भएको छ । विद्यार्थीलाई महिनावारी, यौन तथा प्रजनन शिक्षा, पौष्टिक खानेकुरा र स्वास्थ्य रहन अपनाउनुपर्ने शिक्षा प्रदान गर्न सहज भएको छ । अब प्रदेशले स्थायी रूपमै विद्यालयमा नर्स नियुक्त गर्ने भनेपछि विद्यालयबाट यो सेवा निरन्तर रूपमा दिन पाउनेमा हामी खुसी छौं ।’

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिन सहज हुने बताए । श्रृङ्ग माविमा करिव २५० जना विद्यार्थी छन् । सरकारी दरबन्दीमा तनहुँमा दुई विद्यालय छनोट भए पनि कतिपय विद्यालयले भने यसअघि नै आन्तरिक स्रोतबाट विद्यालयमा नर्स राखेका छन् । व्यास नगरपालिका–२ स्थित सत्यवति माविले बिएससी नर्सिङ उत्तीर्ण सुनिता जोशीलाई नियुक्त गरेको छ ।

यसैगरी शुक्लागण्डकी–४ दुलेगौडास्थित पञ्चमुनिदेव माविले आन्तरिक स्रोतबाट २०७६ देखि नर्सिङ सुविधा दिंदै आएको छ । प्रजनन्, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श, प्राथमिक उपचारका लागि औषधि, उपकरणको व्यवस्था, सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा नर्सले राख्दै आएका छन् ।

अखाद्य वस्तु ‘जंक फुड’ को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?