कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

आश गुरुङ

लमजुङ — जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्तलाई ५ वर्षपछि पक्राउ गरेको छ ।

लमजुङको राइनास नगरपालिका ९ का ४२ वर्षीय बेलराम गुरुङलाई चितवनबाट पक्राउ गरिएको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार प्रहरीले गुरुङलाई मंगलबार राति साँढे ९ बजेतिर पक्राउ गरेर बुधबार बेंसीसहर ल्याइपुर्‍याएका थिए । पक्राउ परेका गुरुङलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

गाउँकै ५४ वर्षीय हितमान श्रेष्ठलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेपछि उनी फरार रहेका थिए । घटनापछि चितवनतर्फ लुकिछिपी बसेको हुन सक्ने भन्दै आएको सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले गुरुङलाई चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरबाट पक्राउ गरेर ल्याएको डीएसपी श्रीमलले बताए ।

इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले उनलाई बिहीबारबाट लागू हुने गरी ५ दिनका लागि जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान थालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले एक जना चौधरी थरका महिलालाई विवाह गरेर बसेको र आफ्नो नाम ढाँटेर आशमान गुरुङ भनी नाम‚ ठेगाना ढाँटेर बसेको अवस्थामा भेटिएको बताए । मृतक राइनास नगरपालिका १०, सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक हुन् ।

प्रकाशित : पुस २८, २०७९ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री दाहाल र जर्मन राजदूत प्रिन्सबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले जर्मनीको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले ‘प्रो-नेपाल पोलिसी’ को नाम दिएको बताए ।

भेटमा राजदूत प्रिन्सले संसद्‌बाट झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिएका थिए । उनले नेपालको पूर्वाधार‚ विकास र समृद्धिका क्षेत्रमा जर्मनीको पूर्ण सहयोग रहने बताए ।

प्रकाशित : पुस २८, २०७९ १४:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×