विद्युत् पोल नहटाउँदा पृथ्वी राजमार्ग विस्तारमा बाधा- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् पोल नहटाउँदा पृथ्वी राजमार्ग विस्तारमा बाधा

आँबुखैरेनी–जामुने खण्डमा मात्रै २२ सय नयाँ पोल गाड्नुपर्ने
निर्माण सुरू गर्नुअगाडि नै ‘ साइट क्लियर ’ गर्नुपर्नेमा बल्ल टेन्डर
सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार कार्यले गति लिइरहँदा विद्युत् पोल बाधक बनेका छन् । सडकको स्तरोन्नति सुरु हुनुपूर्व नै विद्युत् पोल स्थानान्तरण गरिसक्नुपर्नेमा अझै हुन सकेको छैन । निर्माण कम्पनीले कामलाई तीव्रता दिइरहँदा नेपाल विद्युत् प्राधिकरणले भने पोल नहटाउँदा आयोजनाले प्रगति देखाउन सकेको छैन ।


राजमार्गको आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ । तर, दुवै खण्डमा सबै विद्युत् पोल सारिसकिएको छैन । जसका कारण अन्य निर्माणकार्य गर्न समस्या भइरहेको आयोजनाको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । ‘विस्तार कार्यलाई तीव्रता दिइए पनि समग्र आयोजनाको प्रगति अपेक्षित नहुनुमा विद्युत् पोल अझै नहटाइनु मुख्य कारण हो,’ उनले भने । सडक विभागले लागत अनुमान गर्दा विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने भने पनि प्राधिकरणले पुराना ९ मिटरका पोलको सट्टामा १३ मिटरका नयाँ पोल राख्नुपर्ने तर त्यसका लागि पर्याप्त बजेट नभएको भन्दै काममा ढिलाइ गरिरहेको छ ।

‘१३ मिटरको पोल गाड्नुपर्ने भएकाले त्यसको स्रोत जुटाउँदा ढिलाइ भयो,’ उनले भने, ‘अहिले प्राधिकरणले हटाउनुपर्ने पोलको इस्टिमेट निकालेर टेन्डर प्रक्रियामा गइसकेको छ । सम्भवतः माघको दोस्रो साताबाट विद्युत्का पोल हटाउने कार्य सुरु हुन्छ । यो आर्थिक वर्षभित्र पूर्वी खण्डका सबै विद्युत्का पोलहरू स्थानान्तरण गरिनेछन् ।’

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट बरादी पुलसम्मको करिब ७ किलोमिटर सडकखण्ड जनवरी १५ बाट कालोपत्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । तर, सडक सीमाभित्र रहेका विद्युत्का पोलहरू नहटाइँदा कालोपत्र गर्ने कार्य पनि अनिश्चित बन्न पुगेको छ । ‘पूर्वी खण्डमा नयाँ विद्युत् पोल राख्न टेन्डर भइसकेको छ,’ प्राधिकरणको तनहुँ शाखाका इन्जिनियर जनार्दन पौडेलले भने, ‘पोल हटाउने कार्यमा केही ढिलो भएकै हो । यो कार्यलाई अन्तिम रूप दिन हामी टेन्डर प्रक्रियामा गइसकेका छौं । यस खण्डमा करिब २ हजार २ सय नयाँ पोलहरू राख्नुपर्ने देखिएको छ ।’

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल भने बजेटभन्दा पनि प्राधिरकणले पोलको इस्टिमेट गर्नै ढिलाइ गरेको दाबी गर्छन् । ‘पहिले पोलको इस्टिमेट निकाल्न नै समय लगाइयो । पछि लागत अनुमानमा पनि छिटो काम हुन सकेन,’ उनले भने, ‘अहिले सबै समस्या समाधान गरी टेन्डर प्रक्रियामा गएको छ । हाललाई आवश्यकताअनुसार आन्तरिक रूपमा विद्युत्का पोल हटाएर कामलाई अगाडि बढाइएको पनि छ ।’

यात्रुलाई दिनदिनै सास्ती

अन्य विकल्प नभएकाले राजमार्गमा सवारी आवागमनकै बीच विस्तार कार्य भइरहेको छ । जसका कारण यात्रुले अनेक सास्ती झेल्नु परिरहेको छ । योजनाबद्ध र समन्वयात्मक ढंगले काम नगरिँदा घण्टौं जाममा फस्नुपरेको यात्रुको गुनासो छ । अत्यावश्यक कामले यात्रा गरिरहेका र बिरामी बोकेका एम्बुलेन्स बढी मारमा परेका छन् ।

तर, यात्रुलाई पनि समस्या नपरोस् र काममा अवरोध नआओस् भनी समयतालिका मिलाएर काम भइरहेको दाबी गर्छन् प्रजिअ अर्याल । ‘सरोकारवालसँग बैठक बसी लामो समय राजमार्ग अवरुद्ध नगर्ने र कामलाई पनि के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफलसँगै निर्णयहरू भएका छन् । सोहीअनुसार चिसो मौसम सकिएलगत्तै रातिको समयमा कामलाई तीव्रता दिने योजना बनाइएको छ,’ उनले भने । निर्माण पक्षले दिउँसो ट्राफिक कम हुने समयमा सवारीसाधनलाई ३० मिनेट रोकेर पहरो तथा भित्तो कटान गरी सडक चौडा पार्ने कार्य गरिरहेको उनले बताए ।

पुल पनि धमाधम बन्दै

हाल दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनको बनाउने क्रममा पूर्वी खण्डमा ४ वटा ठूला र १३ वटा साना पुलहरू पनि निर्माण गरिने भएको छ । हाल २ वटा ठूला र ३ वटा साना पुल निर्माणाधीन अवस्थामा छन् भने २ वटा साना पुलको निर्माण सम्पन्न भएको पूर्वी खण्डका प्रमुख सुवेदीले बताए । उनका अनुसार १ सय ७० वटा कल्भर्ट बन्नेमा ३० वटा निर्माण सम्पन्न भइसकेका छन् भने ३२ वटा कल्भर्ट निर्माणाधीन अवस्थामा छन् ।

कल्भर्ट तथा पुल निर्माणमा पनि विद्युत् पोल नै बाधक बनेको आयोजनाले जनाएको छ । प्रमुख सुवेदीले भने, ‘हरेक काममा रोकावट विद्युत् पोलबाटै देखिएको छ । सरोकारवाला निकायलाई समयमै पोल हटाउन ताकेता गरिरहे पनि आवश्यक पहल नभएको देखिन्छ ।’ यो खण्डमा विस्तार क्षेत्रमा पर्ने सबै रूखहरू भने काटिसकिएको उनले जानकारी दिए ।

सबैजसो घरटहरा भत्काइयो

पूर्वी क्षेत्रमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति देखिनुपर्नेमा डिसेम्बरसम्ममा ११.५ प्रतिशत मात्रै छ । आयोजनाले यो खण्डमा करिब ५ सय ५ वटा भौतिक संरचना भत्काउने भएको छ । दमौली र डुम्रे खण्डलाई नसमेटी ६ करोड ५४ लाख रुपैयाँ बराबरको मुआब्जा व्यहोर्नुपर्ने भएको पनि आयोजनाले बताएको छ । ‘भत्काउन भनिएका ३ सय ८० वटा भौतिक संरचनामध्ये २ सय ५० जनाले मुआब्जा लिइसकेका छन् भने १ सय ३० जनाले पहिलो किस्ता मात्रै लिएका छन् । अब ३/४ वटा मात्रै घरटहरा भत्काउन बाँकी छ,’ उनले भने ।

पृथ्वी राजमार्गको करिब ७२ किलोमिटर खण्ड तनहुँमा पर्छ । यस खण्डभित्र आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत साना–ठूला बजार पनि पर्छन् । जसमध्ये आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली क्षेत्रमा धेरै संरचना भत्काइएको छ । आयोजनाले बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेनको र ग्रामीण क्षेत्रमा ४ लेनको सडक विस्तार गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।

चार लेनमा विस्तार हुन लागेको मुग्लिन–पोखराको दूरी करिब ८८ किमि छ । आयोजनाले आँबुखैरेनी–जामुनेको ४१ किमिलाई पूर्वी खण्ड र जामुने–पोखराको ३९ किमिलाई पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरेको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोडमा २०७८ जेठ ३ मा र पूर्वी खण्ड निर्माणको ठेक्का अर्को चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा २०७८ वैशाख २ मा लिएका हुन् ।


प्रकाशित : पुस २५, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द

सम्झना रसाइली

तनहुँ — तनहुँमा मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिएको छ । दर्ता नभएका तथा नवीकरण नगरिएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न रहेका सबै क्रसर उद्योग बन्द गरिएको हो ।

गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई दर्ता र नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्लामा सञ्चालनमा रहेका २० वटै क्रसर उद्योगमा ताला लगाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले बताए । उनले भने, ‘बुधबार हामीलाई गृहमन्त्रालयबाट पठाइएको पत्र प्राप्त भयो । बिहीबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी र १० वटै पालिकाको प्रमुखको सहभागितामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णयअनुसार सबै क्रसर उद्योगमा ताला लगाएका हौं ।’

दर्ता र नवीकरण नभएका क्रसर उद्योग तत्काल बन्द गर्न गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको र तनहुँमा यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरीले उद्योग सञ्चालकको कागजपत्र हेरेर मापदण्ड पुगे/नपुगेको अवलोकन गरी मापदण्डविपरीत सञ्चालनमा रहेको क्रसर उद्योगमा ताला लगाएका हुन् । ‘दर्तामा रहेका तर नवीकरण नभएका उद्योगलाई गत आर्थिक वर्षमा नवीकरण गर्न तथा स्थान्तरण गर्नका लागि समय दिएका थियौं,’ उनले भने, ‘तर हालसम्म पनि मापदण्डविपरीत नै सञ्चालन भएको पाइएकोमा बन्द गरिदिएका हौं । मन्त्रालयबाट अथवा अनुगमन समितिको बैठकबाट कुनै निष्कर्ष नआएसम्म यी क्रसर उद्योगहरू पूर्ण रुपमा बन्द नै रहेछन् ।’

जिल्ला अनुगमन समितिको बैठकको निर्णयबमोजिम जिल्लाका २० वटै क्रसर उद्योगमा ताला लगाइएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘हामीले सम्बन्धित ठाउँका इलाका प्रहरीमार्फत शुक्रबार नै सबै क्रसर उद्योगहरूमा ताला लगाइसकेका छौं ।’जिल्लामा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग २० वटा रहेकोमा सबै प्रचलित कानुनविपरीत रहेको जिल्ला समन्वय अधिकारी थमन सिंह थापाले बताए । जिल्लामा सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा १३ वटा क्रसर उद्योग सञ्चालित छन् । उनले भने, ‘जिल्लाका कुनै पनि क्रसर उद्योग नवीकरण भएका छैनन् । अधिकांश उद्योगहरू बिनादर्ता, मापदण्डविपरीत र उद्देश्यविपरीत सञ्चालन भइरहेका छन् ।’

जिल्लाका क्रसर उद्योगहरू मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा सञ्चालन भइरहेका छन् । बस्ती तथा नदी छेउछाउमै सञ्चालनमा ल्याइएका उद्योगका कारण स्थानीयले मात्र नभई प्रकृतिले पनि सास्ती झेल्नु परेको छ । उद्योगबाट सञ्चालन हुने ठूलठूला टिप्पर र ट्र्याक्टरबाट वातावरण प्रदूषण हुनुका साथै स्थानीयको स्वास्थ्यमा समेत असर पुर्‍याउने गरेको छ । विशेष गरी सेती नदी किनारमा धेरै क्रसर उद्योग सञ्चालनमा रहेका छन् । जसका कारण नियमविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन अत्यधिक भएको पाइन्छ ।

जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई हटाउनका लागि जिल्ला अनुगमन समितिको पटकपटक बसेको बैठक, निर्णय र पत्राचार पनि उपलब्धिविहीन बनेको थियो । जिल्लामा २० वटा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा छन् । यीमध्ये १२ वटा क्रसर उद्योग घरेलु कार्यालयमा दर्ता छन् तर नवीकरण भने भएका छैनन् । २०७३ देखि नै जिल्लाका कुनै पनि क्रसर उद्योग दर्ता र नवीकरणको प्रक्रिया अगाडि नबढाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अविनाश कुँवरले बताए । शुक्लागण्डकी नगरपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा एउटा क्रसर उद्योग सञ्चालनमा छन् ।

२०७७ मा बनेको सरकारी मापदण्डअनुसार क्रसर उद्योग राजमार्ग, खोला वा नदी किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर टाढा मात्र क्रसर उद्योग राख्न पाइन्छ । पक्की पुलबाट ५ सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट २ किलोमिटर, वन तथा निकुञ्ज वा आरक्षण, घना बस्ती, हाइटेन्सन लाइनबाट २ सय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५ सय मिटर तथा चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटर टाढामात्र क्रसर उद्योग स्थापना वा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

क्रसर उद्योगबाट धुलो बाहिर निस्कन नदिन पानी छर्किएर नियन्त्रण गर्ने प्रविधि अनिवार्य जडान गर्नुपर्ने, वायु एवं ध्वनी प्रदूषणको सम्बन्धमा राष्ट्रिय गुणस्तर तयार भएपछि उक्त गुणस्तर अनुसार प्रदूषण नियन्त्रण गर्नुपर्ने, वफर जोनमा वृक्षारोपण गर्नुपर्ने भनिए पनि जिल्लास्थित कुनै पनि क्रसर उद्योगहरूले यो नियम पूरा गरेका छैनन् । बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तनहुँलाई परिपत्र गर्दै तनहुँभित्र प्रचलित कानुनविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई तत्काल बन्द गरी त्यसको विवरण गृहमा पठाउन निर्देशन भएकाले त्यसैबमोजिम उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘सरकारबाट अर्को निर्णय नआएसम्म क्रसर उद्योग सञ्चालन हुन दिने छैनौं,’ उनले भने, ‘सबै क्रसर उद्योग बन्द हुँदा विकास निर्माणको कार्य प्रभावित हुने विषयमा गृह मन्त्रालयलाई जानकारी छ, यसको निष्कर्ष पनि चाडै नै आउला ।’

प्रकाशित : पुस २४, २०७९ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×