तनहुँमा पनि अफ्रिकन स्वाइन फिभर


तनहुँ — विगत ४ वर्षदेखि भिमाद नगरपालिका–६ की रीता थापा व्यावसायिक बंगुरपालनमा आबद्ध छिन् । बंगुरपालनबाट राम्रै आम्दानी हुन थालेपछि १७ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका श्रीमान् सुरवीर थापा पनि एक वर्षअघि स्वदेश फर्किए र श्रीमतीलाई सघाउन थाले ।

आम्दानी राम्रै भइरहेको थियो । घरखर्च चलाएर केही रकम बचतसमेत गर्न थालेका थिए । तर, मंसिर चौथो साता उनको फार्ममा रहेका सबै ८ वटा बंगुर मरे ।
‘बंगुरलाई बंगुरकै रगत खान दिएका थियौं । त्यसको २ दिनभित्रमै सबै बंगुर मरे,’ रीताले भनिन् । जिल्ला पशु सेवा कार्यालयले २/४ महिना बंगुर नपाल्न सुझाव दिएपछि उनको खोर अहिले रित्तो छ । राम्रै आम्दानी दिइरहेको बंगुरपालनमा एकैपल्ट ठूलो नोक्सान भएको उनले दुखेसो पोखिन् ।
अचानक ठूलो संख्यामा बंगुर मरेपछि परीक्षणका लागि नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको थियो । परीक्षणबाट अफ्रिकन स्वाइन फिभरका कारण बंगुर मरेको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उनका अनुसार जिल्लाका अन्य स्थानमा समेत बंगुर मरेको जानकारी आएको छ । तर, स्वाइन फिभरकै कारण मरेको भन्ने यकिन भइसकेको छैन ।
‘अचानक एकै फार्मका सबै बंगुर मरेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको हो,’ उनले भने, ‘जिल्लाको एक फार्ममा संक्रमण देखिएकाले अन्य फार्ममा पनि संक्रमण फैलिसकेको हो कि भन्ने आशंका गरिएको छ तर अन्य फार्मबाट संकलित नमुना परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।’
अहिले केन्द्रका पशु चिकित्सक र प्राविधिकको टोली किसानका बंगुर फार्मको निरीक्षण र अनुसन्धानमा जुटेका छन् । जिल्लाका अन्य क्षेत्रका फार्ममा संक्रमण फैलिएको छ कि छैन भनी अनुगमन भइरहेको उनले बताए । प्राविधिकसहितको टोली अनुगमनमा गए पनि किसानले सत्यतथ्य विवरण दिन कन्जुस्याइँ गरिरहेको केन्द्रका डा. रोशन ज्ञवालीले गुनासो गरे । ‘फार्म निरीक्षणमा जाँदा किसानले मरेका बंगुर लुकाउने र त्यसको मासु/रगत स्वस्थ बंगुरलाई खुवाएको नखुलाएको पाइएको छ,’ उनले भने, ‘यसो गर्दा संक्रमण झन् फैलिने खतरा देखिएको छ । केही किसानले भने आफैंले नमुना लिएर पोखरा गई परीक्षण पनि गर्नुभएको छ ।’
झोक्राउने, एकै ठाउँमा बस्ने, कमजोर देखिने, कान र घाँटीको भागमा रातो दाग देखिने जस्ता लक्षण देखिए तत्काल परीक्षण गराउन उनले आग्रह गरे । ‘संक्रमण हुन नदिन ६–६ महिनामा बंगुरलाई खोप लगाउने, फार्म र वरपर नियमित सरसफाइ गर्ने, संक्रमित बंगुरको रगत आहारा नबनाउने र तत्काल उपचार गरेमा संक्रमण नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।
यसअघि म्याग्दीमा पनि संक्रमण फैलिएर बेनीलगायत क्षेत्रमा हालसम्म ३ सय बंगुर मरिसकेको किसानले बताएका छन् ।
प्रकाशित : पुस २३, २०७९ ०८:२३