१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

घनश्याम खड्का

म्याग्दी — म्याग्दीमा पहिलो पटक जलयात्रा व्यवसाय (र्‍याफ्टिङ) सुरु भएको छ । सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्‍याफ्टिङ सुरु गरेका हुन् । 

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

सन् १९९१ देखि बेनीदेखि स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्‍याफ्टिङ तथा कायाकिङ सुरु भएको हो । तर बेनी–मालढुंगासम्मको खण्डमा अलि बढी छालहरू बढी भएकोले व्यवसायीले मालढुंगा–मिर्मीसम्म मात्र र्‍याफ्टिङ गराउँदै आएका थिए । स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्‍याफ्टिङ सुरु गरिएको स्पाल्स नेपाल एड्भेन्चरका सञ्चालक/गाइड होम पुनले बताए ।

कोरोनापछि थलिएको जलपर्यटन व्यवसायलाई पुनर्जीवित गराउन पर्वतको मालढुंगादेखि स्याङ्जाको मिर्मीसम्म चल्दै आएको र्‍याफ्टिङ म्याग्दीसम्म उकालिएको हो । पुस १५ पछि चैत महिनासम्म कालीगण्डकी नदीमा र्‍याफ्टिङ तथा कायाकिङका लागि उपयुक्त सिजन हो । साहसिक जलयात्रा गर्ने बढी विदेशी पर्यटक हुने गरेकोमा पछिल्ला वर्ष आन्तरिक पर्यटकको पनि साहसिक जलपर्यटनमा आकर्षण बढेको छ ।

‘गलेश्वर–मालढुंगा–मिर्मीसम्मको जलयात्रा छँदै छ, स्थानीय युवायुवती र मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनीसम्म र्‍याफ्टिङ गराउन सकिने सम्भावना देखिएपछि र्‍याफ्टिङ/कायकिङ व्यवसायी र गाइडसँगको सहकार्यमा बेनीबाट व्यवसाय सुरु गरिएको हो,’ होटल व्यवसायसँग साहसिक जलयात्राको प्याकेज जोडेका गम पुनले भने, ‘गलेश्वर–बेनीसम्म कालीगण्डकीमा पानीको बहाव सलल बगेको छ, कम छाल भएकाले जलयात्रामा रुचि राख्ने सबैले सहज यात्रा गर्न सकिन्छ ।’

गलेश्वर–बेनीसम्मको दूरीमा र्‍याफ्टिङ छोटो समयमा सजिलै जलयात्राको अनुभव गर्न सकिन्छ । मुस्ताङ यात्रामा निक्लेको यात्रुले एक–दुई घण्टा बीचमा निकालेर जलयात्राको अनुभव गरी गन्तव्यतर्फ लाग्न सकिन्छ । जलयात्रा साहसिक हुने भएकाले अन्य यात्रामा जस्तो सहज बासको अपेक्षित हुँदैन । तर बेनी र गलेश्वरमा सबै स्तरका होटल सुविधा भएकाले बास, खाजाको पनि समस्या नहुने र यात्रुको सुरक्षा हुने व्यवसायीले बताएका छन् ।

पोखरा, काठमाडौंसमेत देशका विभिन्न सहरबाट म्याग्दी सदरमुकाम बेनीमा सहज सार्वजनिक बस वा निजी गाडीमा पुग्न सकिन्छ । बेनी हिमालपारिको जिल्ला मुस्ताङ भ्रमणमा जाँदा बाटोमा अवस्थित छ । बेनीको कालीपुल बसपार्कमै र्‍याफ्टिङका लागि सम्पर्क गर्न सकिन्छ । बेनी–जाोमसोम सडकबाट कालीगण्डकीमा जलयात्रा सहज हेर्न सकिन्छ ।

पुनले गलेश्वर–बेनी ३ किलोमिटर दूरीमा एक घण्टा जल सफर गरेको प्रतिव्यक्ति एक हजार दुई सय मूल्य तोकेको बताए । उक्त मूल्यमा खाजा सेट सप्लिमेन्ट राखिएको छ ।

प्रकाशित : पुस २१, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?