कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिमपात नहुँदा मनाङका किसान चिन्तित

पुस नलाग्दै हिउँ पर्न सुरू हुनेमा यस पटक ढिलो हुँदा माटोको चिस्यान घटेर तरकारी बाली तथा स्याउको उत्पादनमा असर पर्न सक्ने
आश गुरुङ

लमजुङ — मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न मनाङी कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, पोखरा, बेंसीसहर झर्ने गर्छन् । 

हिमपात नहुँदा मनाङका किसान चिन्तित

‘मंसिरदेखि नै प्रायः जसो हिमपात हुन्थ्यो । अहिले त पुस पनि आधा कटिसक्यो, तैपनि हिउँ परेन,’ मनाङ ङिस्याङ गाउँपालिका–८ मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले भने, ‘आकाशमा अलिअलि मात्र बादल लागेको छ । हिउँ पर्ने अझै कुनै छाँटकाँट छैन ।’ तापक्रम भने निकै घटेर मौसम चिसिएको उनले बताए । उनका अनुसार शनिबारसम्म आकाश खुल्ला थियो । आइतबारदेखि आकाशमा कतैकतै बादल लागेको छ ।

मनाङ ङिस्याङ–९ खाङसारका वडाध्यक्ष च्योल्पा गुरुङले मौसम निकै चिसिए पनि हिउँ पर्न नसकेको बताए । विगतमा यतिबेला हिउँले ढाकिएको मनाङ अहिले सुक्खा छ । हिमालको हिउँ पनि पग्लिएको छ । ‘यो बेला हिउँ पर्नुपर्ने हो । हिमपात र चिसो छेक्न सबैले गाउँघर छाडिसके । घरआँगन छोडेको डेढ महिना बितिसक्दा पनि हिउँ परेको छैन,’ गुरुङले भने । उनका अनुसार जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । ‘अहिले हिउँ परे पो जमिनमुनि चिस्यान पुग्छ । अहिले हिउँ परेन भने खेतीबाली राम्रो हुँदैन । पछि तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्छ ।’

कृषि अधिकृतसमेत रहेका नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताए । उनका अनुसार डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ देखिए पनि बस्ती र खेतबारीमा आइसकेको छैन । कहिलेकाहीं पानीको छिटा परे पनि हिउँ भने नपरेको उनले बताए । उनका अनुसार ४ हजार २ सय मिटर उचाइमा रहेको नार र ४ हजार ५० मिटर उचाइमा रहेको फू गाउँ यतिबेला रित्तै छन् । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै झरिसकेका छन् । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भोट हालेपछि सबै झरेको उनले बताए । ‘अब गाउँले झरेको पनि डेढ महिना हुन लाग्यो । हिउँ पर्ने छाँटकाँट छैन,’ उनले भने ।

पाख्रिनका अनुसार समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउँछ । ‘यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ, तबमात्र माटो भिज्छ,’ उनले भने, ‘जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी तल जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ ।’ उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउलाई असर पर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले मनाङमा हालसम्म हिमपात नभएको बताइन् । उनका अनुसार चिसो भने अत्यधिक बढेको छ । ‘मनाङमा हालसम्म हिउँ परेको छैन,’ उनले भनिन् । एक साताअघि मात्रै सरुवा भएर मनाङ आएका उनले हालसम्म हिउँ नपरेको र मनाङको अवस्थाबारे बुझ्ने प्रयासमा रहेको बताइन् । मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र १ हजार ७ सय मिटर उचाइमा रहेको तालमा समेत यसअघि यो समय हिउँ पर्ने गर्थ्यो ।

प्रकाशित : पुस १८, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?