कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ग्रामीण सडकले जनजीवन सहज

अधिकांश पालिकामा कालोपत्र सडक पुर्‍याएको स्थानीय सरकारले बाँकी क्षेत्रलाई पनि जोड्दै
अगन्धर तिवारी

पर्वत — बारीमा लटरम्म फलेका सुन्तला ८ वर्षसम्म बारीमै कुहाउन बाध्य महाशिला–२ भोक्सिङका जीतबहादुर गुरुङ हिजोआज फुरुङ्ग छन् । ०६७ देखि १२ रोपनी क्षेत्रफलमा सुन्तला फलाएका गुरुङले गतवर्षदेखि बारीमै सुन्तला बिक्री गर्न पाएका छन् ।

ग्रामीण सडकले जनजीवन सहज

ग्रामीण सडक सन्जालले गाउँलाई जोडेपछि फलेवास–१० कुर्घाका देवेन्द्र शर्मासहितका दर्जनौं किसानको दुई वर्षयता सुन्तलालगायतका तरकारी तथा फलफूल बेचेर मनग्गे आम्दानी गर्न पाएका छन् । दैनिक १२ सय लिटर दूध पोखरा पठाउँदै आएका शर्मासहितका किसानले यसअघि सडक समस्याका कारण सास्ती खेप्दै आएका थिए ।

जीतबहादुर र शर्माजस्तै कैयौं किसानको उत्पादन अहिले गाउँबाट सिधै सहरसम्म पुग्ने गरेका छन् । स्थानीय सरकारको सक्रियता र तीन तहको सरकारको विकासमा होडबाजी चलेका कारण पछिल्लो ५ वर्षमा पर्वतका ग्रामीण सडक स्तरोन्नति हुने क्रम तीव्ररूपमा अघि बढेको छ । तत्कालीन जिल्ला विकास समितिकै तथ्यांकअनुसार पर्वतमा २०७३ सालमै करिब २२ सय किलोमिटर सडकको कच्ची ट्र्याक खुलेको थियो । स्थानीय तह कार्यान्वयनमा आएसँगै पालिकाले ती सडकको स्तरवृद्धिमा लगानी गर्न थालेका हुन् । प्रदेश र केन्द्रमा पहुँच हुने पालिका प्रमुखले मुख्य सडक स्तरवृद्धि तथा कालोपत्रको काम तीव्ररूपमा अघि बढाएका छन् ।

कुश्मा नगरप्रमुख रामचन्द्र जोशीका अनुसार नगरका सबैजसो वडामा कालोपत्र सडक पुगेको छ । ‘त्यहीं पाङमा सडकको समस्या थियो, कटुवाचौपारीको अवस्था उस्तै थियो,’ जोशीले भने, ‘अहिले कालोपत्रे सडकले नछोएको एक/दुई मात्रै वडा छन् । त्यो पनि यही कार्यकालभित्रै कालोपत्रेको तयारीमा छौं ।’ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाका सबैजसो वडामा बाह्रैमहिना सवारी सञ्चालन हुने गरी सडक स्तरोन्नति गरिएको छ । ‘मुख्य सडक प्रदेश र केन्द्रको प्राथमिकतामा परेका छन्,’ उनले भने, ‘केही ग्रामीण सडक हामीले पनि कालोपत्रे गरेका छौं ।’ प्राथमिकताका आधारमा अब टोलटोलमा विस्तार हुँदै छन् ।’ एक घर एक रोजगार, एक घर एक टनेललगायतका कार्यक्रम सफल कार्यान्वयन गरेको महाशिलाले किसानको उत्पादन बजार पुर्‍याउन सडक सञ्जालको स्तरोन्नतिमा ध्यान दिएको उनले बताए ।

पर्वतका सातै पालिकाको तथ्यांकअनुसार हालसम्म करिब २ सय किलोमिटर ग्रामीण सडक कालोपत्रे भइसकेको छ । त्यसबाहेक करिव ५० किलोमिटर सडक ढलान छ । भिरालो र ओसिलो क्षेत्रको सडक कालोपत्र गर्दा टिकाउ नहुने भएकाले ढलान गर्नुपरेको प्राविधिक बताउँछन् । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यका अनुसार चालु वर्ष डेढ सय किमि सडक कालोपत्र गर्ने गरी ठेक्का सम्झौताको तयारीमा छन् । ‘हामीले यो वर्ष १८ वटा सडकको १२ किलोमिटर कालोपत्रेको ठेक्का तयारी गर्दै छौं,’ आचार्यले भने, ‘सडक विभाग र पालिकाहरूले गर्ने कामको रेकर्ड हामीसँग हुँदैन ।’ चालु वर्ष नै सडक बोर्डबाट जलजला, बिहादी, पैयुँ र फलेवासका केही सडकहरू पनि कालोपत्रेको चरणमा छन् । फलेवास नगरपालिकाले वडा ७ र ८ जोड्ने ४ किलोमिटर कालोपत्रेको ठेक्का प्रक्रिया सुरु गरिसकेको प्रवक्ता अच्युत तिवारीले बताए । ग्रामीण भेगमै पर्ने कालीगण्डकी करिडोर (लोकमार्ग) को काम पनि तीव्र रूपमा भइरहेकाले बिहादी र फलेवास नगरपालिकाका अधिकांश वडा यसै वर्षभित्र कालोपत्रेसहितको राजमार्गमा विस्तार हुँदै छन् ।

ग्रामीण क्षेत्रमा हुने सडक विस्तारले यात्रामा सहज मात्रै नभएर कृषि र पशुजन्य उत्पादनले समेत सहज बजार पाउनेमा स्थानीय विश्वस्त छन् । त्यसबाहेक ग्रामीण क्षेत्रबाट हुने बसाइँसराइ पनि रोकिने स्थानीय अगुवा बताउँछन् । ‘यो क्षेत्रको मुख्य समस्या बसाइँसराइ हो । धेरैजसो बुटवल जानुभएको छ,’ बिहादीका रामप्रसाद पराजुली भन्छन्, ‘अब दुई लेनको सडक कालोपत्रे हुनेबित्तिकै तीन घण्टामै बुटवल पुगिन्छ । अनि बसाइँ सर्नुपर्ने अवस्था आउँदैन ।’ स्थानीय सरकारले ग्रामीण क्षेत्रमा माटो र हावापानी सुहाउँदो व्यावसायिक तरकारी, फलफूल, खाद्यान्न, जडिबुटी, पशुपालनलगायतमा लगानी केन्द्रित गर्ने हो भने आगामी दशकसम्म पर्वतका सबैजसो गाउँ सम्पन्नतोन्मुख मात्रै नभएर बसाइँ सरेर गएकाहरू पनि फर्किने उनले बताए ।

प्रकाशित : मंसिर २३, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?