पहाडी सडकमा थपियो प्रहरी बिट

नारायण शर्मा

पूर्वी नवलपरासी — पहाडी सडकमा बढदो दुर्घटना कम गर्नका लागि प्रहरीले दुर्गममा ५ वटा प्रहरी बिट थपेको छ  । जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार पहाडी सडकमा दुई महिनाको अवधिको दुर्घटनाको तथ्यांक विश्लेषण गरेर दुर्गममा प्रहरी बिट थपिएको जानकारी दिए ।

पहाडी सडकमा थपियो प्रहरी बिट

दुर्गम भेटमा सञ्चालन हुने जिपले सिट क्षमताभन्दा दोब्बर बढी यात्रु ओसार्ने गरेका छन् । ९ सिट क्षमताको जिपले २१ जना यात्रु बोक्ने गरेको पाइएपछि दुर्घटनाको जोखिम बढेको र नियन्त्रणका लागि प्रहरी बिट थप्न परेको प्रहरीको भनाइ छ ।

ती क्षेत्रमा प्रहरी चेकिङ बढाउँदा दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने उनको दाबी छ । पहिलो चरणमा ५ स्थानमा १२ जना प्रहरी खटाइएको तिवारीले बताए । त्यहाँ आलोपालो ड्यूटीको व्यवस्था मिलाइएको छ । तिवारीका अनुसार पहाडी भेगका मुण्डे, कुम्सोत, बोझापोखरी, कोखे र देवीस्थानमा चेक पोस्ट थपिएको छ । पहाडमा सञ्चालन हुने जिप, बस र ट्रयाक्टरले क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने गरेको पाइएपछि प्रहरी चेकिङ बढाउन चेकपोस्ट थपिएको हो । तिवारीले पहाडी भेगमा आफू चेकिङका लागि जाँदा बढीमा ९ सिट क्षमताको जिपले २१ जनासम्म यात्रु बोकेको पाइएको सुनाए । जिपको छत र पछाडि झुन्डिएर यात्रुहरु बोक्ने गरेका छन् ।

पहाडी भेगका बुलिङटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा कच्ची सडक सञ्जाल छ । त्यहाँ प्रहरी गस्ती कम हुँदा दुर्घटना बढेको स्थानीयको गुनासोपछि जिल्ला प्रहरीले ती स्थानमा प्रहरी पोस्ट थपेको हो । पहाडी भेगमा सञ्चालन हुने गाडीका धनी र यातायात व्यवसायीसँग दुर्घटना न्यूनिकरणका बारेमा छलफल पनि भइरहेको प्रहरीले जनायो । गत एक महिनाको अवधिमा दुर्गम पहाडी सडकमा भएका दुर्घटनामा १० जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : मंसिर २०, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?