१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाँदरबाट हिउँदे बाली जोगाउनै सास्ती

अगन्धर तिवारी

पर्वत — कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीको फलेवास–३ मा १८ रोपनी खेतमा मंसिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिला छन् । कारण हो बाँदर । बाँदर आतंक बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिनमा यतिबेला आलु खेती छैन ।

बाँदरबाट हिउँदे बाली जोगाउनै सास्ती

उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन् । ‘धान जेनतेन थन्क्याउन सकिन्छ,’ टीकारामले भने, ‘हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।’

त्यतिमात्रै होइन फलेवास–४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हूल बाँदर पसेर सर्वनाश पारिदियो । बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलु खेती गर्दै आएका थिए । तर, बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो ३ वर्षयता आलु रोप्नै छोडिदिए ।

‘एक पटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ,’ उनले बाँदरको हैरानीबारे भने, ‘हजारौं खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले कति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन ।’ बाँदरको हैरानी खेप्न नसकेका उनले २ वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए ।

अहिले जिल्लाभर बाँदरको हैरानी छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ । बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको छ । बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन् । ‘अहिले बाँदर पनि ज्याद्रो हुन थालेछ,’ मोदी–२ का गुरुदत्त चापागार्इं भन्छन्, ‘पहिला कुकुर भुक्दा भाग्थ्यो । अहिले कुकुरलाई नै झम्टिन आउँछ ।’ जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि २ सय बोट पनि बाँकी नराखेर उखेलेको बताइन् ।

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलु खेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित छन् । ‘अहिले आलु मात्रै नभएर सुन्तला पनि खान थालेको छ,’ बाँसखर्कका समुद्र खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।’

उच्च पहाडी भेगमा पर्ने ती गाउँको मुख्य बाली आलु खेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको बदमासीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकोमा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको सरकारी अधिकारी बताउँछन् । फलेवास नगरपालिकाको कृषि शाखा प्रमुख केदार सापकोटाका अनुसार चालु वर्ष किसानलाई आलु र गहुँको बीउ वितरण गर्ने कार्यक्रम रहेकोमा अपेक्षित माग आएन ।

‘फाट्टफुट्ट माग आएको थियो,’ सापकोटाले भने, ‘बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौं, नत्र लैजाँदैनौं भनेका छन् ।’ महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन सकेन ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?