बागलुङ‚ लमजुङ — बागलुङमा १४ औं पटकसम्म हात्तिपाइलेको औषधि खुवाउनु पर्ने भएको छ । पटकपटक खुवाएर पनि संक्रमण न्यूनीकरण नभएपछि फेरि औषधि खुवाउनु परेको हो । सबैभन्दा धेरै संक्रमित भेटिएको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा प्रत्येक व्यक्तिमा ‘ट्रान्समिसन एसेस्मेन्ट सर्भे’ समेत गरिने भएको छ ।
यहाँ १३ पटकसम्म औषधि खुवाएर पनि हात्तीपाइले निवारण नभएको कारण सर्भे गर्नुपरेको हो । प्रि ट्रान्समिसन सर्भेमा पास भए पनि जोखिम कायम रहेकोले अर्को परीक्षण गर्नुपर्ने बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
घरघरमा पुगेर हरेक व्यक्तिको रगत परीक्षण गरी रोग पत्ता लगाउने विधि ट्रान्समिसन सर्भे हो । प्रि ट्रान्समिसन सर्भेमा २ प्रतिशत भन्दाकम मानिसमा संक्रमण देखिएपनि नारायणस्थानमा मात्रै २० जना भन्दाधेरै संक्रमित पहिचान भैसकेका छन् । २०६६ यता यहाँ नियमित हात्तिपाइलेको औषधि खुवाइएको छ । जिल्लाभरी २ सय ४२ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । ‘२०७७ सालमा जिल्लाभरी गरेको सर्भेमा त्यो तथ्यांक भेटिएको हो, यो पटक केही कम भएको अनुमान छ’ उनले भनिन्, ‘तर जोखिम कायमै भएकोले १४ औं पटक हात्तीपाइलेको औषधि खुवाउनुपर्ने भयो ।’
हरेक वर्ष कोही न कोही छुट्ने र उनीहरूबाट फेरी अन्य व्यक्तिमा सर्ने कारणले यहाँ निरन्तर हात्तिपाइलेका रोगी भेटिएका छन् । किनेर औषधि खुवाउन पनि सकिएन’ खनालले भने, ‘यस अघिको औषधि स्वास्थ्यकर्मीको उपस्थितिमा नखाएको र कतिले घरमा लगेर फालेको समेत भेटियो ।’ २०६६ सालमै निवारण गर्ने भनिएको हात्तीपाइले बढेर अहिले २ प्रतिशतमा पुगेको हो । संख्याको हिसाबले सबैभन्दा धेरै नारायणस्थानमा देखिएको शर्माले बताइन् । त्योबाहेक गलकोट, बडिगाडलगायत स्थानमा पनि संक्रमित र लक्षण सहितका बिरामी भेटिएका छन् । अधिकांसलाई हाइड्रोसिल भएको र परीक्षण गर्दा हात्तिपाइलेको किटाणु भेटिएको थियो । रोग पत्ता लगाएर हरेक व्यक्तिलाई ६ पटक औषधि खुवाउने योजना बनेको शर्माले जानकारी दिइन् । तर कतिपयले बिचैमा छुटाएकाले नियमित १३ पटक खानेलाई पनि संक्रमणको जोखिम भएको उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसार ५ वर्षसम्म लगातार औषधि खुवाएपछि हात्तीपाइले निवारण हुन्छ । ‘पाँचपटक औषधि खाएको मानिसमा कीटाणु भएपछि फैलावट हुँदैन, अर्कालाई सार्न पनि सक्दैन’ उनले भनिन्, ‘१३ पटकसम्म जिल्लाभर औषधि खुवाएर पनि संक्रमण बढिरहनु जनस्वास्थ्यकै समस्या भयो ।’ औषधि छुटाएपछि सुसुप्त रहेको कीटाणु बढ्ने र त्यस्तो मानिसलाई क्युलेस जातको पोथी लामखुट्टेले टोक्दा अरुमा सजिलै सर्ने उनले बताइन् ।
नेपालमा अधिकांस जिल्लामा हात्तीपाइले रोग निवारण भैसकेको छ । बागलुङमा २ प्रतिशत भन्दा धेरैमा अझै देखिएको हो । ‘एक प्रतिशत भन्दा कम भयो भने मात्रै निवरण भएको मानिन्छ, यहाँ अझै २ प्रतिशत बढीमा देखिएको छ’ खनालले भने, ‘विश्वस्वास्थ्यको प्रोटोकल फेल भएपछि फेरी अभियान चलाइएको छ ।’ चार वर्षअघि बागलुङमा एक दशमलब ६ प्रतिशत बिरामी मात्रै भेटिएका थिए । त्यसपछि लगातार तीनपटक हात्तीपाइले औषधि खुवाइएको थियो । गत बर्ष सम्मको औषधिको उपलब्धि मापन गर्दा संक्रमित बढेर फेरी २ प्रतिशत पुगेको हो । नारायणस्थान बाहेक बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा, बडिगाड गाउँपालिकाको दगातुम्डाँडा र ग्वालीचौर लगायतको क्षेत्रमा बिशेष खोजी तथा औषधिखुवाउने अभियान चलाइएको थियो । ती स्थानमा पनि संक्रमण बढीरहेको देखिएको हो ।
सन २०१८ मा बागलुङलाई सन् २०२० भित्र हात्तिपाईले निर्मूल पार्ने लक्ष राखिए पनि पूरा हुन सकेको छैन । ‘अब कोही पनि नछ्ट्नुे गरी आम नागरिकलाई औषधिखुवाउने हो, रक्त परीक्षण मार्फत संक्रमणको अबस्था पनि पत्ता लगाउने हो’ किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका प्राविधिक रामबालख यादवले भने, ‘अहिलेसम्म कतै नगरेको ‘रिप्रिटास’ बिधिबाट हात्तिपाइले पत्ता लगाउन लागेका हौं ।’ नारायणस्थनमा एकै दिन ३ सय जनाको रगत संकलन गरेर परीक्षण गर्ने र सोको परिणाम अनुसार उपचार सेवा थाल्ने यादवले बताए । संक्रमितको खोजीमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालन भएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । बागलुङसहित ७ जिल्लाका लागि रगत परीक्षण किट आएको छ । नियमित औषधि खुवाउन बागलुङमा ४ सय ५० बढी स्वास्थ्यकर्मी, ९ सय ५० महिला स्वास्थ्य स्वयंसेबिका र ७ सयबढी अन्य स्वयंसेवक खटिनेछन् । खनालका अनुसार अझै नगरभित्र मात्रै १९ जना हात्तिपाइलेका बिरामीले नियमित औषधिसेवन गरेका छन् ।
लमजुङमा खोजी
हात्तीपाइले रोगका विरामी पहिचान हुन थालेपछि सरकारले नेपालभर बेसलाइन सर्भे गरियो । सन् २००१ मा गरेको बेसलाइन सर्भेका अनुसार प्रकोपदर ५.७६ प्रतिशत आयो । रोग नियन्त्रण हुन १ प्रतिशतभन्दा कम प्रकोप दर हुनुपर्छ । प्रकोपदर बढी भएको ठाउामा सरकारले पहिलोपटक सन् २००३ देखि ६ वर्षसम्म नियमित औषधि सेवनको अभियान थाल्यो । कम प्रभावित लमजुङमा भने सन् २०१० देखि २०१५ सम्ममा उक्त कार्यक्रम लागू गरियो । तर, २०१४ मै गरिएको सर्वेक्षणमा फेल भयो । त्यतिबेला चक्रतीर्थमा ५.६ प्रतिशतमा देखियो । भोटेओडारमा शून्य देखिएपछि सर्भेक्षणको अर्को ठाउ जिल्लामा बढी प्रभावितस्थल धमिलिकुवा सारियो । सन् २०१० देखि लमजुङवासीले वर्षेनी हात्तीपाइले रोगविरुद्धको औषधिसेवन गरिरहेका छन् । सन् २०१४ देखि प्रत्येक २/२ वर्षमा प्रि–टास (औषधि खुवाउनुअघिको सर्भेक्षण) गरिँदै आएको छ । सरकारले ६ वर्षमा निवारण गर्ने भनेको हात्तीपाइले रोग १३ वर्षसम्म लगातार औषधिखादा पनि लमजुङमा हुन सकेको छैन ।
पछिल्लो समय सन् २०२० मा सर्भे गर्दा चक्रतीर्थमा ४.९ र धमिलिकुवामा २.९ प्रतिशतमा प्रकोपदर देखियो । सरकारले प्रभावित जिल्लावासीका लागि आगामी माघ–फागुनमा १४ औं पटक आम औषधिसेवनको तयारी गरेको छ । लमजुङवासीले उक्त औषधिखानुपर्नेछ । उक्त औषधि खाएको ६ महिनापछि पुनः सर्वेक्षण हुन्छ । नियमित कार्यक्रम अन्तर्गत अहिले ५ औंपटक प्रि–टास गरिएको छ । यसअघि सन् २०१८ मा चक्रतीर्थमा १.२९ र धमिलीकुवामा ३.८६ प्रतिशत प्रकोपदर देखिएको थियो । २०१६ मा चक्रतीर्थमा ६.३१ प्रतिशत र धमिलीकुवामा ४.३३ प्रतिशतमा प्रकोपदर देखिएको थियो ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका सहायक इन्टोमोलोजिष्ट दीपककुमार साहका अनुसार मंसिर १३ देखि १५ गतेसम्म गरिएको परीक्षणमा प्रकोपदर १ प्रतिशत भन्दा माथि देखिएको छैन । राइनास नगरपालिका–४ चक्रतीर्थमा ३ सय २६ जनाको परीक्षण गर्दा ३ जनामा हात्तीपाइलेको नयाा विरामी फेला परेका छन् । वडा ६ को धमिलिकुवामा ३ सय १५ जनामा परीक्षण गर्दा ३ नयाा विरामी भेटिएका छन् । ‘अहिलेको प्रि–टास अनुसार विगतमा
औषधि खाएको रहेछ भन्ने बुझियो । प्रकोपदर १ प्रतिशतभन्दा माथि आएन । अहिलेलाई पास भयो’ उनले भने । एउटा ठाउामा ३ सय जना परीक्षण गर्नुपर्नेमा बढी सहभागिता भएको उनले बताए । उनका अनुसार पुराना बिरामी भने छँदै छन् । ‘अब फेरि आम औषधिको कार्यक्रम ल्याउने र परीक्षण गर्नुपर्छ । परीक्षण गर्दै जाादा नदेखिएमा निवारण भएको मानिन्छ । प्रकोपदर बढी भएमा आम औषधिखुवाउनुपर्छ’ उनले भने । उनका अनुसार सरकारले फागुनतिर आम औषधि सेवनको कार्यक्रम ल्याउँदै छ ।
स्वास्थ्य कार्यालय लमजुङ भेक्टर कन्ट्रोल निरीक्षक यमराज बरालका अनुसार अहिलेको प्रि–टास पास भएको छ । ‘अबको आमऔषधिसेवन कार्यक्रमको ६ महिनापछि पुनः सर्वेक्षण हुन्छ । त्यो बेला पास भएमा औषधिखुवाउनु पर्दैन । फेल भएमा फेरि आम औषधि खुवाउनुपर्छ’ उनले भने । त्यसपछि प्रत्येक २/२ वर्षमा २ पटक गरिने सर्भेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम आएमा हात्तीपाइले निवारण भएको मानिन्छ । गतवर्षको तथ्यांक अनुसार लमजुङमा १ सय ३९ जना हात्तीपाइलेका विरामी छन् । जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङले हात्तीपाइले रोग बारे सबै नागरिक सुसूचित नहुँदा र औषधिखान डराउने समस्या भएकाले यसको प्रकोपदर सोंचे अनुरुप घट्न नसकेको बताए ।
प्रकाशित : मंसिर १९, २०७९ ०८:१९