प्रदेश सरकार गठनमा केन्द्रको ‘सिग्नल’ कुर्दै

केन्द्रीय राजनीतिअनुसार नै सत्ता समीकरण बन्ने हुँदा केन्द्रले निर्णय नलिँदासम्म अघि नबढ्ने प्रदेश नेताका धारणा
प्रतीक्षा काफ्ले

कास्की — प्रदेश सरकार बनाउने चर्चा र अड्कलबाजी भइरहे पनि गण्डकीमा सरकार बनाउनेतर्फ कुनै दल अघि सरेका छैनन् । त्यसो त कुनै दलले बहुमत पनि पाएका छैनन् । सरकार गठनका लागि यहाँका दलहरूले केन्द्रबाट ‘ग्रिन सिग्नल’ नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन नसकेका हुन् । 

प्रदेश सरकार गठनमा केन्द्रको ‘सिग्नल’ कुर्दै

गण्डकी प्रदेशसभामा ३६ निर्वाचन क्षेत्र छन् । जसमा ३५ वटाको चुनावी परिणाम सार्वजानिक भइसकेको छ भने स्याङ्जा २ (२) को नजिता आउने क्रममा छ । गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ निर्वाचन क्षेत्र छन् । जहाँ १७ वटाको चुनावी नतिजा आइसकेको छ । गण्डकी प्रदेशसभामा कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जित्दा एमालेले १२, माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जितेका छन् । २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने भए पनि समानुपातिकतर्फको मतगणना सकिएको छैन । सत्ता गठबन्धनबाट चुनावी मैदानमा होमिएका दलले केन्द्रमा सरकारको समीकरण नबनिसकेकाले प्रदेशमा अहिले नै भन्न सकिने अवस्था नहेको बताएका छन् । यता, १२ सिट जितेको एमालेले पनि सरकार गठनमा कसरत गरेको छ ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशमा ५ दलीय गठबन्धनको सरकार बन्ने बताए । ‘स्याङ्जाको नतिजा सार्वजानिक भएपछि हामी छलफलमा जुट्छौं,’ उनले भने, ‘आइतबार बिहान पनि गठबन्धनको संयुक्त बैठक छ । त्यस बैठकपछि सरकार गठनबारे तयारी थाल्छौं ।’ उनले हालसम्म चुनावी नतिजा पूरै नआइसकेकाले सरकार गठनबारे छलफल नभएको बताए । ‘घोषणा नभए पनि स्याङ्जामा हामीले नै जितेका छौं,’ उनले भने, ‘अब तयारीमा जुट्नुपर्छ ।’

केन्द्रीय राजनीतिले प्रदेशमा पनि असर पार्ने हुँदा केन्द्रीय निर्णय पनि आवश्यक रहेको सभापति शर्माले बताए । माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले केन्द्रले निर्णय नलिँदासम्म आफूहरू सरकार गठनको प्रक्रिया सुरु नगरेको बताइन् । उनले केन्द्रीय राजनीतिअनुसार नै सत्ता समीकरण हुने बताइन् । यता, एमालेले मिले कांग्रेस, नमिले माओवादी र साना दल लिएर सरकार बनाउन वार्ता थालेको एमाले स्रोतले जनाएको छ । कांग्रेस स्रोतका अनुसार कांग्रेसले एमालेसँग भन्दा पनि माओवादीसँग मिलेर सरकार बनाउन इच्छा देखाएको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिँदा बहुमत पुग्ने शर्मा बताउँछन् ।

एमालेका गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले रहेको बताए । वामपन्थीको सरकार बनाउने चाहना आफूहरूको रहेको बताउँदै उनले भने, ‘केन्द्रको निर्णय पर्खिएका छौं । माओवादीले कांग्रेससँग सहकार्य गर्छ कि गर्दैन भन्ने पर्खाइमा छौं । जनमतले आ–आफ्नो हैसियत देखाएको छ । दोस्रो तहका नेताको चाहना पनि वामपन्थी मिलेर जानुपर्छ भन्ने हो । यसकारण पनि हामी माओवादीसँग मिलेर जान चाहन्छौं ।’ उनले स्थिर सरकार बनाउने विषयमा छलफल थालेको बताए ।

पार्टीगत रूपमा छलफल नभए पनि व्यक्तिगत रूपमा छलफल भइरहेको उनको भनाइ छ । गण्डकी सरकार गठनमा माओवादी निर्णायक देखिएको छ । प्रदेशमा तेस्रो रहेको माओवादीको ५ सिट प्रत्यक्षमा जितेको छ । समानुपातिकबाट माओवादीले ३ देखि ४ सिट पाउने आशा गरेको छ । कांग्रेस र एमालेले भने आफूहरू समानुपातिकमा ९/९ सिट पाउने दाबी गर्छन् । यद्यपि यहाँ समानुपातिकमा एमाले अगाडि छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । अहिलेसम्म ५ दलीय गठबन्धन कायमै रहेका बेला गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

प्रकाशित : मंसिर १८, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?