लमजुङको मध्यनेपालमा चर्दीखोला पुल निर्माण सुरु


लमजुङ — मध्यनेपाल नगरपालिका ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने गरी पक्की पुल निर्माण कार्य सुरु भएको छ । कुन्छा–सोतीपसल–दुइपिप्ले सडक अन्तर्गत चर्दीखोलामा पुल नहुँदा बर्खायामको समय सवारीसाधन र स्थानीयलाई आवतजावतमा कठिनाइ हुने गरेको थियो ।


मध्यनेपाल नगरपालिका आफैंले बजेट विनियोजन गरी पुल निर्माणको काम सुरु गरेको वडा नं. ३ का अध्यक्ष केशव न्यौपानेले बताए । ‘बर्खायाममा चर्दीखोला बढेर ठूलो हुन्छ । मान्छेले पनि सक्दैनन् । सवारी साधन नै वारपार हुन्छ । पुल बनेपछि सहज हुनेभयो’ उनले भने ।
उनका अनुसार चुनाव अघिसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाइसकिएको छ । चुनावपछि धमाधम निर्माण भइरहेको उनले बताए ।
मध्यनेपाल नगरपालिकाका ईन्जिनियर उत्तम सुवेदीका अनुसार गत जेठमा केबीसी–प्रसाद जेभी चितवनसँग सम्झौता गरी पुल निर्माण कार्य सुरु गरिएको छ । करिब ३ करोड ७५ लाख रुपैयाँको लागत स्टिमेट रहेको उक्त पुल निर्माण व्यवसायीले भ्याटसहित २ करोड ५० लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको छ । उनका अनुसार आगामी असार मसान्तसम्म पुल निर्माण सक्ने सम्झौता व्यवसायीले गरेको छ ।
कूल २० मिटर लामो र १० मिटर चौडाइको पक्की पुल यहाँ निर्माण हुने सुवेदीले बताए । ‘यो पुल निर्माण भएपछि लमजुङ र तनहुँको कुन्छा क्षेत्र, मध्यनेपाल नगरपालिकाको उत्तरपूर्वी भेगका नागरिकलाई मध्यनेपाल नगरपालिका, तनहुाको दमौली, प्रदेश राजधानी पोखरा, संघीय राजधानी काठमाडौंलगायत ठाउँमा आउजाउ सहज हुने मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए । ‘चर्दीखोलामा पुल नहुँदा नागरिकले धेरै दु:ख पाए । हामी आफैंले बजेट विनियोजन गरी पुल निर्माण थालेका छौं’ उनले भने ।
प्रकाशित : मंसिर १७, २०७९ १४:५९