उम्मेदवारलाई खर्च विवरण बुझाउन आह्वान


पर्वत — जिल्ला निर्वाचन कार्यालयले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च पेस गर्न आह्वान गरेको छ ।


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र उम्मेदवारले गरेको निर्वाचनको खर्च विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुरूप निर्वाचन आयोगअन्तर्गतको जिल्ला निर्वाचन कार्यालयले सबै उम्मेदवारलाई खर्च विवरण समयमै पेस गर्न भनेको हो । ४ मंसिरमा सम्पन्न निर्वाचनको अन्तिम परिणाम ८ मंसिरमा सार्वजनिक भएको थियो । सोही मितिले ३५ दिनभित्र अर्थात् पुस १४ भित्र चुनावी खर्च विवरण पेस गर्नुपर्ने हुन्छ । सोहीअनुरूप सबै उम्मेदवारलाई समय सीमाभित्रै सम्पूर्ण खर्च विवरण बुझाउन आह्वान गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए ।
खर्च विवरण बुझाउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–४० बमोजिमको ढाँचामा खर्चको बिल भर्पाइसहित बुझाउनुपर्ने भनिएको छ । यदि कसैले तोकिएको समयमा विवरण नबुझाएमा ती उम्मेदवारलाई कानुनअनुसारको कारबाही गरिने पनि शर्माले बताए ।
निर्वाचन कानुनमा समय सीमाभित्र तोकिएको खर्च विवरण नबुझाउनेमा निर्वाचित उम्मेदवार भए निजको पद खारेज हुने तथा पराजित उम्मेदवार भएमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउनेसम्मको व्यवस्था छ । साथै निजको निर्वाचन खर्चको अधिकतम सीमाबमोजिमको रकम जरिवाना गर्ने व्यवस्था छ ।
निर्वाचन खर्चको विवरण पेस गर्दा तोकिएको हदबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तर्क्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यमसमेतको खर्च विवरण बुझाउन आह्वान गरिएको छ । उम्मेदवारले सामाजिक सञ्जालमा गरेको विज्ञापनको खर्च विवरणसमेत पेस गर्न आह्वान गरिएको शर्माले जानकारी दिए ।
निर्वाचन कार्यालयले निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्च विवरणसमेत उम्मेदवार आफैं वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्न पनि उम्मेदवारलाई पत्रमार्फत अनुरोध गरिएको छ ।
प्रकाशित : मंसिर १७, २०७९ ०८:३८