पप्पुसँग ठेक्का तोड्ने चेतावनी

८ वर्षदेखि अलपत्र पुलको साताभित्र काम सुरू नगरे ठेक्का सम्झौता अन्त्य गर्नेबारे सूचना
हरिराम उप्रेती

गोरखा — त्रिशूली नदीमाथि पक्की पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनलाई एक साताभित्र काम सुरु नगरे ठेक्का तोड्ने सडक कार्यालयले चेतावनी दिएको छ ।

पप्पुसँग ठेक्का तोड्ने चेतावनी

एघार किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडक योजना कार्यालयले बुधबार सूचना जारी गर्दै ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(२ क) बमोजिम ठेक्का अन्त्य किन हुनु नपर्ने ?’ भन्दै ठेकेदार कम्पनीलाई प्रश्न सोधेको छ । पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको बुट्टार जोड्ने पुल ८ वर्षदेखि अलपत्र छ । पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत काम सुरु गर्न प्रयास र तदारुकता नदेखाएपछि सार्वजनिक सूचना जारी गर्दै कार्यालयले काम सुरु गर्न ताकेता गरेको हो ।

सात दिनभित्र निर्माणस्थलमा व्यवसायी परिचालित भएर निर्माण कार्य सन्तोषजनक, तथ्यगत र वस्तुगत सम्झौताको मर्म र कानुनी परिधिभित्र रही स्पष्ट प्रमाण र आधारसहित निर्माण कार्य गर्न कार्यालयले निर्देशन दिएको छ । त्यसो नभए सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको सर्तबमोजिम ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने योजना प्रमुख पशुपति ज्ञवालीले बताए । ‘यो अल्टिमेटम पनि हो, सात दिनभित्र काममा नआए ठेक्का तोड्ने प्रक्रिया थाल्छौँ,’ उनले भने, ‘पत्राचार बारम्बार भइरहेको छ, कोभिडको वहानाबाजी पनि सकियो, यो अन्तिम पटक हो भनेर ठेकेदार कम्पनीलाई पूर्व जानकारी गराएका हौँ ।’

गण्डकी गाउँपालिका–१ मकैसिङ बुट्टार र पृथ्वीराजमार्गअन्तर्गत चितवनको चुमखोला जोड्न मोटरेवल पुलको निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले २०७१ असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ४२ महिना अर्थात् २०७४ पुस २८ भित्र निर्माण सम्पन्न हुने मोटरेवल पुलको ८ वर्षसम्म १० प्रतिशत मात्र काम सकिएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण सामग्री र ‘इक्युपमेन्ट’ बुट्टारसम्म पुर्‍याउन समस्या परेको बहाना बनाउँदै सम्झौता अवधि गुजार्दै आएको छ । तेस्रो पटक २०८० असार २० सम्म ठेक्का सम्झौता अवधि थप भए पनि काममा कुनै प्रगति नभएको ज्ञवालीले बताए ।

निर्माण स्थलमा दुवैतर्फ पिल्लर उठाउनेबाहेकका अन्य संरचना बन्न सकेको छैन । ठेक्का सम्झौता भएपछि सुरुका दिनमा कामदार देखिए पनि ५ वर्षयता निर्माणस्थलमा कामदार भेटिँदैनन् । निर्माण स्थलमा रहेको रडलगायत निर्माण सामग्री पनि त्रिशूली नदीले बगाइसकेको छ । मकैसिङतर्फ जमिनबाट २४ मिटर तल खन्नुपर्नेमा १४ मिटर खने पनि कडा चट्टान भेटिएपछि ठेकेदार कम्पनीले काम रोकेको हो ।

१७ करोडको लागतमा त्रिशूलीमाथि १ सय ५१ मिटर लम्बाइको पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको थियो । पुल नबन्दा किसान डोकोमा तरकारी बोकेर बिक्रीका लागि पृथ्वीराजमार्गसम्म पुग्ने बाध्यतामा छन् । पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल आउजाउ गर्ने बाध्यात्मक अवस्था रहेको स्थानीयको दुखेसो छ । पुल बने गण्डकी गाउँपालिकाका सबै वडाका स्थानीयलाई आउजाउमा सहज हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?