लमजुङमा मन्दिरका मूर्तिसहितका धातु चोरी गर्ने पक्राउ

आश गुरुङ

लमजुङ — मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्दै आएको गिरोहमध्ये ३ जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । डीएसपी प्रकाश श्रीमलका अनुसार बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नं. ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसीसहर नगरपालिका ८ का २० वर्षीय विनोद तामाङ र रौतहत घर भइ हाल बेंसीसहर नगरपालिका ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिश्वर राउतलाई पक्राउ गरिएको छ ।

लमजुङमा मन्दिरका मूर्तिसहितका धातु चोरी गर्ने पक्राउ

उनका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित ३ जनालाई बिहीबार साँझ पक्राउ गरिएको हो । उनले चोरीमा संलग्न अरु पनि हुन सक्ने भन्दै खोजी भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ । प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जनाएको छ । चोरी र बिक्रीमा संलग्न उनीहरूलाई जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरूबाट शिवको मूर्ति १ थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको १ थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्टी १० थान, फुटाएको घण्टी ६ थान, पानस २ थान, ७ वटा बत्ती भएको पानस २ थान, चरेका थाली २ थान, ढलोटका लोटा १ थान, चरेशका कचौरा २ थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकाशका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीका अनुसार चोरी र बिक्रीमा संलग्न उनीहरूले २ महिनायता बेंसीसहरका विभिन्न मन्दिरमा चोरीमा गरेको खुलेको छ । बेंसीसहरमा चोरी गर्ने र नारायणगढमा लगेर बिक्री गर्ने गरेको खुलेको उनले बताए । ‘चोरी र बिक्रीमा संलग्न गिरोह नै रहेको बुझिन्छ । अरु पनि हुन सक्छन्, हामी खोजी गर्दैछौं,’ उनले भने ।

प्रकाशित : मंसिर १६, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?