दल बदल्दै मतदाता

जनप्रतिनिधिले जनइच्छा पूरा नगर्दा मतदाताले विकल्प रोजे
आश गुरुङ

लमजुङ — बहुदलपछि लमजुङको निर्वाचनमा नेपाली कांग्रेसले हैकम जमायो । २०४८, ०५१, ०५६ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पराजित भइरहे । यद्यपि ०४६ को परिवर्तनअघि पनि कम्युनिस्ट उम्मेदवारमाथि प्रजातान्त्रिक शक्ति हाबी हुँदै आएको थियो । त्यसको निरन्तरता कांग्रेसले ३ पटकको निर्वाचनसम्म कायम राख्यो ।

दल बदल्दै मतदाता

२०६४ मा तत्कालीन लमजुङ क्षेत्र १ (हाल प्रदेशसभा १) माओवादीका बुद्धिराम गुरुङ र क्षेत्र २ (हाल प्रदेशसभा २) मा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएर पहिलोपटक कम्युनिस्ट झण्डा फहराए । एमालेका गुरुङ २०४३ देखि हरेक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए ।

एउटै निर्वाचन क्षेत्र हुँदा २०४३ मा कांग्रेसका लेखनाथ अधिकारी विजयी बने । २०४८ मा क्षेत्र १ बाट कांग्रेसका रामचन्द्र अधिकारी र क्षेत्र २ बाट कांग्रेसकै रामबहादुर गुरुङले चुनाव जिते । २०५१ मा दुवैले उही निर्वाचन क्षेत्रबाट चुनाव जिते । २०५६ मा निर्वाचन क्षेत्र परिवर्तन गरेर कांग्रेसका रामबहादुर गुरुङले क्षेत्र १ मा कांग्रेसको जितलाई निरन्तरता दिए । क्षेत्र १ उनकै गृहनिर्वाचन क्षेत्र हो । क्षेत्र २ मा कांग्रेसका हरिभक्त अधिकारी विजयी भए । २०४३ देखि एमालेका पृथ्वीसुब्बा गुरुङ कांग्रेस उम्मेदवारसँग लगातार हारिरहे ।

लमजुङका मतदाताले २०६४ यता भने दल बदल्दै उम्मेदवारलाई जिताउने गरेका छन् । २०६४ दुवै क्षेत्र कम्युनिस्टलाई जिताएका मतदाताले २०७० मा क्षेत्र १ बाट एमालेका जमीन्द्रमान घलेलाई जिताए । क्षेत्र २ बाट एमालेका पृथ्वीसुब्बा गुरुङलाई हराए । त्यतिबेला जमीन्द्रले कांग्रेसका टकराज गुरुङलाई हराएका थिए । कांग्रेसका चन्द्रबहादुर कुँवरले एमालेका पृथ्वीसुब्बा गुरुङलाई हराएका थिए ।

२०७४ मा एमाले–माओवादी केन्द्र मिल्दा मतदाताले कांग्रेसका दिलबहादुर घर्तीलाई हराएर प्रतिनिधिसभा सदस्यमा माओवादीका देवप्रसाद गुरुङलाई जिताए । लमजुङ प्रदेश १ मा कांग्रेसका गर्जबहादुर गुरुङलाई हराएर एमालेका धनञ्जय दवाडी र प्रदेश २ मा कांग्रेसका कृष्णप्रसाद कोइरालालाई हराउादै एमालेका पृथ्वीसुब्बा गुरुङलाई विजयी बनाए । गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बने ।

२०७४ मा दुवै क्षेत्र कब्जा गरेको एमाले यसपटक दुवै क्षेत्रको निर्वाचनमा चुकेको छ । प्रदेशसभा १ मा मतदाताले २०७० का विजयी उनै जमीन्द्रमान घलेलाई हराउँदै कांग्रेसका टकराज गुरुङलाई निर्वाचित गराए । प्रदेशसभा (२) मा एमाले उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई हराएर मतदाताले कांग्रेसका भेषबहादुर पौडेललाई जिताएका छन । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई हराएर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मतदाताले जिताएका छन् । एमालेसँग मिल्दा माओवादी केन्द्रका देवप्रसाद गुरुङले चुनाव जितेका थिए । कांग्रेससंग मिल्दा भने पराजित भए ।

बेंसीसहर नगरपालिका–८ फूलबारीका सुरेशकुमार प्रधानका अनुसार पछिल्लो वर्षका निर्वाचनलाई हेर्दा मतदाताले पार्टी परिवर्तन गरेर जिताउने गरेका छन् । ‘मतदाता समयसापेक्ष चल्छ । यसअघि विजयी भएकाले विकास गर्न नसक्दा मतदाताले पार्टी वा उम्मेदवार फेर्छन्,’ उनले भने । उनका अनुसार भोटर कसैको पेवा हुँदैनन् । ‘पार्टीले भोटरलाई कार्यकर्ताको नजरले हेरिदिँदा फरक रिजल्ट आउँछ । लमजुङकै उदाहरणलाई लिन सकिन्छ,’ उनले भने ।

वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेल लोकतन्त्र र गणतन्त्र आएको भन्दै राजनीतिक दल र नेताले ठूलो सपना देखाउँदा नागरिकमा वितृष्णा छाएको बताउँछन् । ‘नागरिक परिवर्तन चाहन्छ यो मानवीय स्वभाव हो । नेता र राजनीतिक दल आफैंले नागरिकलाई देखाएको सपना पूरा नगर्दा मतदाताले दल अदलबदल गरिहेका छन्,’ उनले भने । ठूलो आशा देखाउने तर दल, नेता र उम्मेदवारबाट त्यो पूरा हुन सकेको छैन । विकास र समाजमा परिवर्तन हुन सकेको छैन । ‘यो भनेको खतराको घण्टी हो । नेता, दल सच्चिनुपर्छ,’ उनले भने, ‘जनताको ढोकामा गएर साँचो कुरा नगरे फेरि हुने यस्तै हो । मतदाता यसलाई भोट हालेर हुन्छ कि, फलानोलाई भोट हालेर हुन्छ कि भनेर मत परिवर्तन गरिरहन्छन् ।’

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको लमजुङमा ८० हजार २ सय २७ मत खसेको थियो । प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ८५ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ९१ मत पाए । प्रदेशसभा १ तर्फ कांग्रेस जिल्ला सभापति टकराज गुरुङ र प्रदेशसभा २ तर्फ कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल विजयी बने ।

प्रकाशित : मंसिर १६, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?