नारायणीमा देखियो डल्फिन

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डल्फिन देखिएको छ । कावासोती नगरपालिकाको दक्षिणमा रहेको अमलटारी नजिक नदीमा बुधवार दिउँसो डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोको टोलीले नारायणीमा ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका हुन् ।

नारायणीमा देखियो डल्फिन

‘साथीसँग डुंगा लिएर नदीमा जाँदै गर्दा अमलटारी घाटमा डल्फिन देखिएको हो,’ उनले भने, ‘डल्फिन देखिएको बारेमा स्थानीयले जानकारी गराएपछि दुई सातादेखि त्यसैको खोजीमा थिएँ । बुधबार भेट्टाएँ ।’

डल्फिन नारायणीमा दुर्लभ मानिन्छ । जाडोयाममा चराको संख्या बढ्दै गएका कारण महतो चितवन निकुञ्ज र आसपासको मध्यवर्ती जंगल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्न डुलिरहन्छन् । विदेशी पर्यटक पनि यहाँका नदीमा चरा अबलोकनका लागि आउने गर्छन् । महतो पन्छी संरक्षण संघमा आबद्ध छन् । पानीको सतह घटेको बेलामा नदीमा खेलिरहेको डल्फिन देखिएको हो । नारायणीमा सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीमा डल्फिन देखिएको हो ।

११ महिनाअघि पनि चरा गणनाको समयमा भैलौजीमै डल्फिन देखिएको थियो । बुधबारको टोलीमा अमलाटारीकै थारू कम्युनिटी लजका स्टाफहरू नारायणीमा डुंगामा जाँदै गर्दा डल्फिन देखिएको र तस्बिर लिइएको महतोको भनाइ छ । महतो नेचर गाइडका रूपमा ९ वर्ष अघिदेखि कार्यरत छन् । नारायणी नदीमा बढ्दो प्रदूषणसँगै डल्फिन लोपोन्मुख रहेको चितवन निकुञ्जले बतायो ।

प्रकाशित : मंसिर १५, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?