कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखामा समानुपातिकमा एक सय मत नकटाउने धेरै

हरिराम उप्रेती

गोरखा — प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ भाग लिएका ४८ मध्ये गोरखामा केही दलले ५० मत पनि कटाएका छैनन् ।

गोरखामा समानुपातिकमा एक सय मत नकटाउने धेरै

प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फ ३४ वटा पार्टीले सामानुपातितर्फ ५० मत कटाएनन् । प्रतिनिधिसभा गोरखा क्षेत्र नं. २ को सामानुपातिकमा पनि ३१ दलले ५० मत पनि प्राप्त गरेनन् । प्रदेश समानुपातिकतर्फ गोरखा–१ मा भाग लिएका ३१ मध्ये १८ वटा पार्टीले एक सय मत कटाएका छैनन् ।

गोरखा–२ को प्रदेशसभाको समानुपातिकतर्फ ३१ मध्ये १९ दलले समानुपातिकतर्फ सय भन्दा कम मत पाएका छन् । समानुपातिकमा माओवादीले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । माओवादीले सामानुपातिकतर्फ ३७ हजार ४ सय ७१ मत प्राप्त गरेको छ । कांग्रेसले २७ हजार ५ सय ५३, एमालेले १८ हजार ४ सय ४१ मत प्राप्त गरेको छ ।

२०६४ र ०७० को संविधानसभा निर्वाचनको तीनवटै क्षेत्र माओवादीले जितेको थियो । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा गोरखा–२ मा कांग्रेसको गठबन्धनबाट तत्कालीन नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईले जित हात पारे । उक्त क्षेत्रको प्रदेशसभा १ मा पनि नयाँ शक्तिकै हरिशरण आचार्य विजयी बनेका थिए भने २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी बनेका थिए ।

०७४ मा प्रतिनिधिसभा गोरखा–१ मा कांग्रेसका चिनकाजी श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका हरिराज अधिकारीसँग पराजित बनेका थिए । गोरखा १ अन्तर्गतको दुवै प्रदेशसभा निर्वाचन क्षेत्र वाम गठबन्धनका उम्मेदवार विजयी बनेका थिए । यसपल्टको निर्वाचनमा भने नेपाली कांग्रेसले दुईवटा प्रदेशसभा र एउटा संघीय निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।

प्रतिनिधिसभातर्फ गोरखा–१ मा निर्वाचित कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईंले प्रदेश हारको बदला संघमा लिएका हुन् । २०७४ को निर्वाचनमा गोरखा १ (२) प्रदेशसभामा एमालेका रामशरण बस्नेतसँग पराजित बनेका बजगाईंले पाँच वर्षपछि प्रतिनिधिसभामा भारी मतान्तरसहित उनै बस्नेतलाई हराएका हुन् । १६ हजार ६ सय ४३ मतसहितको फराकिलो मतान्तरले बजगाईं विजयी बने ।

बजगाईंले ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार बस्नेतले १६ हजार ७ सय ८५ मत ल्याएर पराजित बने । १ लाख १५ हजार ३ सय ९७ मतदाता रहेको गोरखा–१ मा ६० हजार २ सय ८२ मत खसेको थियो । सदर मत ५७ हजार २ सय ३१ रहेको गोरखा–१ मा ३ हजार ५१ मत बदर भएका थियो ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनन्धनको तर्फका उम्मेदवार बस्नेतलाई प्रदेशमा सहज बनेको थियो । बजगाईंले पाँच वर्षपछि भने माओवादीको साथले पुरानो प्रतिस्पर्धी बस्नेतलाई पराजित गरे ।

यद्यपि उम्मेदवारी दर्ताको एक दिनअघि मात्र बजगाईंको टिकटको टुंगो लागेको थियो । माओवादीसँग तालमेल गरेपछि उनी आशावादी थिए । गोरखा १ (२) प्रदेशसभा पनि कांग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपाने र २ (२) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी बनेका छन् । प्रतिनिधिसभा गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गोरखा १ (१) प्रदेशसभामामा माओवादीका कृष्ण धिताल विजयी वनेका छन् भने २ (२) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा विजयी बनेका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?