कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा

नारायण शर्मा

पूर्वी नवलपरासी — मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक डायलासिस सेवा सुरु भएको छ । मिर्गौला बिरामीहरूका लागि जिल्ला अस्पताल डण्डामा ४ वटा उपकरण राखेर डायलासिस सेवा सुरु भएको हो । 

जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले डायलासिस सेवाका लागि कम्तीमा ६ जना दक्ष जनशक्तिको आवश्यकता रहेको र त्यसको दरबन्दीका लागि प्रदेश स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिएको जनकारी दिए । डायलासिस सेवा दैनिक पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि यसैका विज्ञ स्वास्थ्यकर्मीको आवश्यकता पर्ने उनले औँल्याए । यो जिल्ला अस्पताल १५ शय्याको स्वीकृति रहेको छ ।

अस्पतालको हाल रहेको दरबन्दीअनुसार डायलासिस सेवा नियमित गर्न सकिँदैन । हाल भरतपुर अस्पतालबाट आएका स्वास्थ्यकर्मीले यो सेवा सुचारु गर्न सघाएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ४ वटा उपकरण राखेर यो अस्पतालमा सेवा सुरु गरिएको हो । यो अस्पतालबाहेक पूर्वी नवलपरासीका अन्य कुनै पनि निजी वा सरकारी अस्पतालमा डायलासिस सेवा छैन । पहिलो पटक कावासोतीको डन्डमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु गरिएपछि छिमेकी जिल्ला चितवन र काठमाडौँ जानपर्ने बाध्यताको अन्त्य भएको उपचारका लागि आएका दुम्किवासका रामहरी श्रेष्ठले बताए । यहाँ सुरु भएको सेवाले पैसा र समयको बचत भएको उनले सुनाए ।

एकैपटक ४ जनाको मिर्गौला डायलासिस गर्न आवश्यक पर्ने दरबन्दी थपिएपछि वर्षैभरि यो सेवा सुरु गर्न सकिने डा. कँडेल बताउछन् । जिल्ला अस्पताल हातामा नवर्निमित छुट्टै भवनमा ४ वटा उपकरण राखेर डायलासिस सेवा सुरु गरिएको हो । प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले अस्पतालमा आयोजित एक कार्यक्रममा डायलासिस सेवाको सुरुआत गरेकी हुन् । यो अस्पतालले दिने डायलासिस सेवा नि:शुल्क हुनेछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार यो जिल्लामा नियमित डायलासिस गर्नैपर्ने बिरामी (मिर्गौला रोगी) को संख्या एक सयभन्दा बढी छ । देवचुली एउटै नगरपालिकामा २७ जना मिर्गौला रोगी रहेको त्यहाँका मेयर हरीप्रसाद न्यौपानेले जानकारी दिए ।

कावासोती नगरपालिकाले दियो १५ लाख

मिर्गौला रोगीका लागि डायलासिस कार्यमा सघाउन कावासोती नगरपालिकाले पहिलो चरणमा एकमुष्ठ १५ लाख नगद अस्पताललाई दिने भएको छ । कावासोती नगरपालिकाका मेयर विष्णु भुसालले डायलासिस सेवा जिल्ला अस्पतालमै सुरु हुनु अत्यन्तै खुसीको कुरा भएको बताउँदै त्यसलाई सघाउन आफ्नो नगरपालिकाले १५ लाख दिने घोषणा गरेका हुन् । उनले जिल्लाका देवचुली , मध्यबिन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले पनि डायलासिस सेवाका लागि वार्षिक नियमित बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?