२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

३ वर्षदेखि दमौली कारागारमा छैनन् स्वास्थ्यकर्मी

सम्झना रसाइली

तनहुँ — तनहुँ जिल्ला कारागारमा ३ वर्षदेखि स्वास्थ्यकर्मी पद रिक्त छ । जसका कारण सामान्य बिरामी हुँदा पनि कैदीबन्दीले समस्या झेल्नुपरिरहेको छ । केही समस्या भइहाले जिल्ला अस्पताल पुग्नुपर्छ । नियमित स्वास्थ्य जाँच गराउनुपर्ने तथा दीर्घरोग लागेका कैदीबन्दीलाई बढी समस्या परिरहेको लागूऔषध ओसारपोसार मुद्दामा सजाय काटिरहेकी ३५ वर्षीया महिलाले भनिन् । 

३ वर्षदेखि दमौली कारागारमा छैनन् स्वास्थ्यकर्मी

उनी यौनसम्बन्धी दीर्घरोगबाट पीडित छिन् । महिनावारी हुँदा अत्यधिक तल्लो पेट र ढाड दुख्छ । कारागारमा स्वास्थ्यकर्मी नभएकाले नियमितजस्तै जिल्ला अस्पताल गइरहेको उनले सुनाइन् । ‘पहिला कास्की कारागारमा हुँदा सजिलो थियो,’ उनले भनिन्, ‘यहाँ त आएदेखि नै कारागारमा स्वास्थ्यकर्मी छैनन् । दिन–रात जुनसुकै बेला बिरामी परे १० मिनेट हिँडेर अस्पताल जानुपर्छ ।’

बिरामी पर्दा कारागार प्रशासनले बेलैमा अस्पताल जाने व्यवस्था भने मिलाउने गरेको उनको भनाइ छ । ‘मसँगै दम रोग लागेकी एक बिरामी पनि हुनुहुन्छ । उहाँलाई चाहिने औषधि अस्पतालका चिकित्सकको सल्लाहअनुसार कार्यालय सहयोगीले नै किनेर ल्याइदिने गर्छन्,’ उनले भनिन्, ‘तर कारागारमै स्वास्थ्यकर्मी उपलब्ध भए दुवैतर्फ सजिलो हुने थियो ।’

बिरामी परेर अस्पताल जाँदासमेत हतकडी लगाइने भएकाले महिनावारीका बेला आउनेलगायत साना समस्याको उपचार आफूले घरेलु विधिबाटै गर्ने गरेको उनको भनाइ छ । ‘सानो समस्या भए पनि हतकडी लगाएर दमौली अस्पताल जानुपर्ने भएकाले कारागारमै तातोपानी, घरेलु औषधि खाएर बस्ने गरेका छौं । जटिल समस्या भए अस्पताल जाने गरेका छौं,’ उनले भनिन्, ‘कतिपयले यही झन्झटका कारण समस्या लुकाएरसमेत राख्छन् ।’

दमौली कारागारमा गत फागुनबाट महिला कैदीबन्दी राख्न सुरु गरिएको हो । यसअघि जिल्लाका महिला कैदीबन्दीलाई कास्की, गोरखालगायत कारागारमा पठाइन्थ्यो । कारागारले कैदीबन्दी महिलाको सहयोगीका रुपमा २ जनालाई खटाएको भने छ ।

कारागारमा अन्य समयभन्दा महिनावरीको समयमा अलि असहज हुने २६ वर्षीया महिला कैदीले बताइन् । ‘महिनावरी मध्यरात, दिउँसो जति बेला पनि हुन सक्छ । रातिको समयमा रगत बग्न लाग्यो र प्याड छैन भने सुतिरहेकालाई उठाएर प्याड माग्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘यो बेला सफासुग्घर कायम राख्न पनि मुस्किल पर्छ । जसबाट संक्रमणको जोखिम रहन्छ ।’

कारागारमा निःशुल्क प्याडको व्यवस्थापन छैन । कहिलेकाहीं प्याड किन्ने पैसा नभएर परिवारसँग माग्नुपर्ने र कपडाको पनि प्रयोग गर्नुपरेको कैदीबन्दीहरू बताउँछन् ।

कारागारमा २१ वर्षदेखि ४५ वर्षसम्मका महिलाले सजाय काटिरहेका छन् । पटक–पटक स्वास्थ्यकर्मीको माग गरिरहे पनि पदपूर्ति हुन नसकेको कारागार प्रमुख नारायणप्रसाद अधिकारीले बताए । ‘कैदीबन्दीलाई केही समस्या परेको थाहा पाएसँगै उपचारका लागि दमौली अस्पताल लैजाने गरेका छौं,’ उनले भने, ‘कारागारमै स्वास्थ्यकर्मी राख्न माग गरिरहेका छौं । आशा छ, चाँडै नै पाउने छौं ।’

२० जनाको क्षमता रहेको कारागारमा तनहुँ, गोरखा र रूपन्देहीका १४ महिला कैदीबन्दीलाई राखिएको अधिकारीले बताए ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?