कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुढाले पाएन बजार

‘दिनमा ५० देखि ६० वटासम्म मुढा बनेर तयार हुन्छ तर बजार नपाउदा भने आम्दानी टुटेको छ’
सम्झना रसाइली

तनहुँ — जिल्ला कारागारमा कैदीबन्दीले बनाएका बाँसका मुढाले बजार पाउन सकेको छैन । उनीहरूले कारागारभित्रै सीपमूलक तालिम सिकेर मुढा उत्पादन गर्दै आएका छन् ।

सजाय भुक्तान गरेपछि समाजमा फर्किदा स्वावलम्बी भएर जिउन मद्दत पुगोस् भन्ने उद्देश्यले कारागारभित्रै मुढा, गलबन्दीे, झोला बुन्नेलगायत सीपमूलक तालिम दिने गरिन्छ । तालिमपछि कैदीबन्दीले विभिन्न सामग्री उत्पादन गरी बिक्रीवितरण गर्दै आएका छन् ।

अघिल्ला वर्षमा बुनेका सबै मुढा बिक्री भएकोमा यस वर्ष भने सोचेजस्तो बिक्री नभएको चौकीदार अर्जुन तामाङले बताए । अन्य जिल्लाका कारागारबाट आएका कैदीबन्दीबाट मुढा बुन्न सिकेका ३१ वर्षीय तामाङले भने, ‘दिनभरिको समयलाई कैदीबन्दी दाजुभाइले मुढा बनाएर बिताउनुहुन्छ । यसले उनीहरूलाई आम्दानीसँग पनि जोडिरहेको छ । तर पछिल्लो समय उत्पादित मुढाले बजार नपाउँदा चिन्तित बनाएको छ ।’

करागारका २५ कैदीबन्दिले मुढा बनाउँछन् । उनका अनुसार केही कैदीबन्दी भर्खर मुढा बनाउन सिक्दै पनि छन् । उनले भने, ‘दिनमा ५० देखि ६० वटासम्म मुढा बनेर तयार हुन्छ तर बजार नपाउँदा भने आम्दानी टुटेको छ ।’ कैदीबन्दीले तीन प्रकारका मुढा बनाउँछन् । सानो मुढालाई ३ सय ५०, मझौलालाई ४ सय ५० र ठूलो मुढालाई ५ सय रुपैयाँमा बिक्री गर्छन् । यहाँका कैदीबन्दीले मुढा बेचेर मासिक १० हजार रुपैयाँको हाराहारीसम्म आम्दानी गर्ने तामाङले बताए । मुढा बेचेर कमाएको पैसा घर खर्चका लागि पनि पठाउने गरेका छन् । तर पछिल्लो समय मुढा बिक्री नहुँदा ५ सय बढी मुढा स्टकमा रहेका छन् ।

व्यापारीहरूले कारागारमा उत्पादित मुढा खरिद गरी बिक्रीवितरणका लागि लग्ने गरे पनि पछिल्लो समय मुढा खरिद गर्न व्यापारी नआएको कैदीबन्दीले बताए । अघिल्लो वर्ष ८ हजार थान गोटा बिक्री गरेको स्मरण गर्दै उनले भने, ‘अहिले करिब ७ सय गोटा मुढा बिक्री भयो होला । यतिबेला मुढाको माग पनि छैन । नबनाउँ भने पनि हामीलाई समय के गरी काटौं भन्ने हुन्छ । बनाउँदा बिक्री नभएकाले यहीं खात लगाएर राख्नुपरेको छ ।’

मुढाका लागि आवश्यक बाँस र धागो स्थानीय बजार र टायर चितवनबाट ल्याउने गरिन्छ । मुढा बनाउँदा टायर बाँध्ने, बिट हान्ने, बुट्टा भर्ने काम भिन्दाभिन्दै व्यक्तिले गर्छन् । उत्पादित मुढा कैदीबन्दीले नै व्यवसायीसँग समन्वय गरेर कारागारबाटै बेच्दै आएका थिए । तर पछिल्लो समय भने मुढा नबिकेको जिल्ला कारागार दमौलीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए । कारागारभित्रै गलबन्दी बुन्ने र डाइनिङ टेबल बनाउने पनि गर्छन । अर्डर आएअनुसार काम गर्ने कैदीबन्दीले बताए । कैदीबन्दीमध्ये ५ जनाले करिब एक वर्षदेखि गलबन्दी बुन्दै आएका छन् । माग भएअनुसार बजारमा पठाउने र केही गलबन्दी आफन्तलाई उपहारस्वरूप पठाउने पनि गरेका छन् । ]

प्रकाशित : मंसिर १२, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?