२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

को बन्ला अब गण्डकीमा मुख्यमन्त्री ?

दीपक परियार

पोखरा — गण्डकी प्रदेशसभातर्फ चुनावी परिणामले अन्तिम रूप पाउँदै गर्दा पाँचदलीय गठबन्धनको बहुमत पुग्ने सम्भावना बढेको छ । प्रत्यक्षतर्फ बिहीबार साँझसम्म गठबन्धनको २०, एमालेको १० र स्वतन्त्रको एक सिट आएको छ । ६० सदस्यीय प्रदेशसभामा समानुपातिकबाट आउने सिट संख्यासमेत जोड्दा कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्ने देखिएको हो ।

को बन्ला अब गण्डकीमा मुख्यमन्त्री ?

गण्डकीमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा २४ सिट संख्या छन् । ०७४ को चुनावमा प्रत्यक्षतर्फ ६ र समानुपातिकमा ९ गरी १५ सिटमा खुम्चिएको कांग्रेसले यसपल्ट सुधार गरेको छ । कांग्रेस एक्लैले प्रत्यक्षतर्फ १५ सिट जितिसकेको छ । गण्डकीमा अझै ५ सिटको छिनोफानो हुन बाँकी छ । पाँचमध्ये दुईमा कांग्रेस र एकमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । स्याङ्जाको १(१) र १(२) मा मतगणना सुरु भइसकेको छैन ।

एमालेले अघिल्लो चुनावमा प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ सिट ल्याएको थियो । यसपल्ट पनि समानुपातिकमा एमाले अगाडि छ । तर बहुमत नै पुर्‍याउने गरी सिट संख्या ल्याउने सम्भावना निकै न्यून छ । गएको चुनावमा एमालेले समानुपातिकमा एक सिटले मात्रै कांग्रेसभन्दा अघि थियो । अघिल्लोपल्ट माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ गरी १२ सिट जितेको थियो । एमाले र माओवादीको तत्कालीन वाम गठबन्धनले पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार बनाएको थियो ।

यसपल्ट गोरखामा माओवादी केन्द्रकै चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटासहित ५ सिट प्रत्यक्षमा माओवादीले पाएको छ । समानुपातिकमा सिट संख्या पहिलेभन्दा बढ्ने देखिँदैन । पहिला गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गरेको राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले यस वर्ष प्रवेश पाएनन् । मनाङबाट राजीव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसदका रूपमा निर्वाचित भइसकेका छन् ।

गण्डकीमा बहुमत पुर्‍याएर सरकार बनाउन ३१ सांसद चाहिन्छ, जुन गठबन्धनले पुर्‍याउन सक्ने देखिन्छ । माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्दा बहुमतको सरकार बन्ने स्थिति हुन्छ । मन्त्री पदको ‘बार्गेनिङ’ मा दीपक मनाङले कांग्रेस वा एमालेलाई समर्थन गर्न सक्छन् । उनको विगतको इतिहासले त्यही भन्छ । अघिल्लोपल्ट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन एमालेको समर्थन गरेर युवा तथा खेलकुदमन्त्री भएका उनी गुरुङकै सरकार ढलाउन कांग्रेसलाई समर्थन गरेर पुनः त्यही मन्त्रालयमा दोहोरिए । यसपल्ट उनको मत निर्णायक हुने झिनो सम्भावना छ ।

कांग्रेस नेतृत्वको सरकार बन्दा मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेको नाम चर्चामा छ । गोरखामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र पुष्पकमल दाहाललाई छोड्दा उनलाई गण्डकीको मुख्यमन्त्रीको आश्वासनमा प्रदेशमा पठाइएको बताइन्छ । चुनावका क्रममा दाहाल र अर्का नेता डा.बाबुराम भट्टराईले पाण्डेलाई गण्डकीको भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका थिए । कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा समानुपातिकबाट निर्वाचित भएर आउँदाको अवस्थामा उनी पनि मुख्यमन्त्रीका दाबेदार हुनेछन् । यद्यपि, समानुपातिकबाट चुनिएर आउने सांसदको टुंगो लागिसकेको छैन ।

समानुपातिकतर्फको सबै मतगणना सकिएपछि पार्टीले संसदीय दलको नेता को बन्ने भन्ने निर्धारण गर्ने कांग्रेस नेता पाण्डे बताउँछन् । ‘पार्टीले निर्णय गरिसकेको छैन । पहिले संसदीय दलको नेता चुनिनुपर्छ,’ उनले भने, ‘पार्टीले निर्णय गर्दाको अवस्थामा जिम्मेवारी सम्हाल्न तयार छु ।’ उनले पाँचदलीय गठबन्धनकै बहुमत आउने सम्भावना बलियो देखिएको बताए ।

कास्की–२(२) बाट निर्वाचित बिन्दुकुमार थापालाई पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । उनी यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा मन्त्री थिए । निर्वाचित भए पनि उनले पार्टीले जस्तोसुकै भूमिका निभाउन अवसर दिएको खण्डमा त्यो भूमिका निभाउन तयार रहेको बताए । एमालेबाट संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्यमन्त्रीको दाबेदार हुन् । उनी कास्की १(१) बाट निर्वाचित भएका हुन् । तर, गण्डकीको समीकरण हेर्दा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना अत्यन्त न्यून देखिएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?