२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ढल व्यवस्थापन गरेर कम्पोस्ट मल

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिकाले बजार क्षेत्रको ढल व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउने भएको छ । बजारभित्रको ढल निकासका लागि २० रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र बनाउन लागिएको हो । त्यसको विस्तृत योजना प्रतिवेदन (डीपीआर) कार्यान्वयन गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

प्रशोधन केन्द्रका लागि कम्तीमा १ अर्ब १५ करोड खर्च गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडीले बताए । दुई स्थानमा प्रशोधन केन्द्र बनाएर व्यवस्थापन गर्ने गरी तीन वर्षअघि डीपीआर बनेको थियो । महँगो र अव्यवस्थित हुने भएपछि पालिकाले एकै स्थानमा प्रशोधनका ५ वटा केन्द्र बनाउन विभागको विज्ञ टोली झिकाएर काम थालेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । विभागको विज्ञ टोलीले पनि एकै स्थानमा प्रशोधन केन्द्र बनाउन सुझाव दिएको छ । हालसम्म बागलुङ बजारमा ढल व्यवस्थापन भएको छैन । काठेखोला र कालीगण्डकी किनारमा गरिने दुईवटा प्रशोधन केन्द्र हटाएर काठेखोला छेउमा एउटै प्रशोधन केन्द्र बनाउन विभागको टोलीले सुझाव दिएको हो । तत्काल जग्गा छनोट गरेर काम अगाडि बढाउने श्रेष्ठले बताए ।

ढलको पाइपलाइन लैजान सामुदायिक वनसँग सहमति लिनुपर्छ । त्यसको जिम्मा पालिकाले लिएको उपप्रमुख राजु खड्काले बताए । विज्ञ प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर तत्काल डिजाइन फेर्न पनि सुझाएको दुवाडीले बताए । ‘डिजाइन फेरेपछि पूर्वाधारको काम सुरु हुन्छ, लगानीमा समस्या छैन,’ दुवाडीले भने, ‘वन क्षेत्रको समस्या समाधान र जग्गा प्राप्तिमा नगरपालिकाले साथ दिनुपर्छ ।’ लागत साझेदारीसमेत गर्ने तयारी भएकोले ती समस्या समाधान हुने नगर प्रमुख श्रेष्ठले बताए ।

सहकारीमार्फत फोहोर उठाइरहेको पालिकाले व्यवस्थित ढल निकास बनाएर अर्गानिक मल बनाउने लक्ष्य राखेको छ । हाल पालिकाले संकलन गर्ने फोहोर कालीगण्डकी र काठेखोला छेउमा अव्यवस्थित रूपमा फाल्दै आएको छ । जसले गर्दा खुतुर्केस्थित डम्पिङ साइट दुर्गन्धित छ । दैनिक यात्रा गर्ने सयौंले दुर्गन्ध व्यहोर्न बाध्य छन् भने नदीको प्रदूषणले जलचरलाई समेत समस्यामा पारेको छ । ‘नदीको ढुंगागिट्टी र बालुवाको अव्यवस्थित दोहनसँगै फोहोर फाल्दा जलचर र पानीको उपभोग गर्ने आम मानिसमा स्वास्थ्य समस्या परिरहेको छ,’ अधिवक्ता राम शर्माले भने, ‘मानवीय सभ्यतामै असर पर्ने काम रोक्नुपर्छ ।’ त्यसका लागि व्यवस्थित ढल निकास आवश्यक भएको उनले बताए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?