कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गाउँमै योजना सम्झौता

६० भन्दा बढी योजना चैतभित्रै सक्ने तयारी 
आश गुरुङ

लमजुङ — सरकारी कार्यालयले बजेट विनियोजन गरेपछि उपभोक्तालाई योजना सम्झौता गर्न कार्यालयमै बोलाउँछ । उपभोक्ता समिति गठन, बैठक, निर्णय, उनीहरूका कागजातपत्रलगायत बटुलेर कार्यालयसम्म आउँदा केही न केही कागजपत्र छुट्न सक्छ । योजना सम्झौताका लागि सबै जना एकै पटक कार्यालय जाने समय नजुर्न सक्छ । कार्यालय आउजाउ गर्दा उपभोक्ताले व्यक्तिगत रकम खर्च गर्नुपर्छ ।

गाउँमै योजना सम्झौता

उपभोक्तालाई दुःख नदिने भन्दै क्व्होलासोंथार गाउँपालिकाका कर्मचारीले गाउँगाउँमा खटिएर योजना सम्झौता गरेका छन् । ‘योजना सम्झौताका लागि उपभोक्ता कार्यालयमा आउनुपरेन । हामी आफैं गएका छौं,’ पालिका योजना शाखाका नायबसुब्बा चित्र घलेले भने । पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेकोमध्ये वडा नं. ३ देखि ९ नम्बरसम्मका सबै योजना सम्झौता गरिसकेको घलेले बताए । उनका अनुसार अहिले वडा नं. २ को योजना सम्झौता चलिरहेको छ । त्यसपछि वडा नं. १ को हुन्छ । उनका अनुसार चालु आर्थिक वर्षमा छनोट गरिएका ६० भन्दा बढी योजना छन् । ती योजनाहरू चैतभित्र सक्न र त्यसपछि भुक्तानीको प्रक्रिया अघि बढाउन भनिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङका अनुसार गाउँठाउँमै पुगेर योजना सम्झौता गराउँदा उपभोक्ता समितिका पदाधिकारी सदस्यहरू सबैले जानकारी पाउँछन् । समितिलाई समय र खर्चको व्यायभार पनि पर्दैन । आवश्यक कागजातपत्र गाउँमै उपलब्ध गराउन सकिने उनले बताए । ‘योजना सम्झौता गर्न हामी आफैं गाउँ पुगेका छौं । उपभोक्ता समितिका पदाधिकारीलाई अुनशिक्षण गराएका छौं । त्यसपछि योजना सम्झौता गरेका छौं,’ उनले भने । योजना सम्झौताका लागि प्राविधिकहरूका साथमा उनी आफैं खटिएका छन् । योजना सम्झौताका बेला पालिकाले दिने सेवा साथै योजनाबारे बुझाउन स्वास्थ्य, कृषि, पशु, रोजगार केन्द्रलगायत कर्मचारी पनि खटिने गरेका छन् । ‘कर्मचारी स्वयं गाउँमा पुगेर नागरिकको आवश्यकता बुझ्न सजिलो हुन्छ । यसले योजना छनोट, बजेट विनियोजनदेखि कार्यान्वयनसम्म सहज हुन्छ,’ उनले भने ।

पालिकाले चैत मसान्तसम्म योजना सक्ने तयारी गरेको छ । वैशाख र जेठ महिनामा आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्ने र त्यसपछि बजेटको तयारी थाल्ने जनाएको छ । असार १० गते गाउँसभा हुन्छ । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले उपभोक्तालाई दुःख नदिन कर्मचारीलाई गाउँ पठाएको बताए । उनका अनुसार पालिकाले लिएको नीति, कार्यक्रम र बजेटबारे गाउँमै भनिएको बताए । ‘योजना सम्झौतासँगै स्थानीयलाई भेला गर्ने, योजनाको बारेमा जानकारी गराउने, उपभोक्ता समितिको काम कारबाहीबारे जानकारी गराउने गरिएको छ,’ उनले भने । पालिकाले चालु आर्थिक वर्षको लागि ३५ करोड १८ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?