बागलुङ–१ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङ–१ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी

कान्तिपुर संवाददाता

बागलुङ — बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । 

थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार थिए । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ ।

बागलुङ–२ (१) मा कांग्रेसका शेरचन विजयी

बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका हुन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन् ।

शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा (एमाले)ले सघाएको थियो । यस क्षेत्रमा शेरचन र घर्तीबाहेक अन्य उम्मेदवार थिएनन् । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो ।

प्रकाशित : मंसिर ७, २०७९ ०२:५९
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ मा जनता समाजवादी पार्टी, नेपालका लालबाबु राउतले ७ हजार ५४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारयणप्रसाद कुर्मीले ६ हजार २१२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनयप्रसाद झाले २ हजार ८४१ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×