२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुई केन्द्रमा सयभन्दा कम मतदाता

गोरखा — जिल्लाका दुईवटा मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन् । चुमनुव्री गाउँपालिका–४ को स्वास्थ्य चौकी नामरुङ लार्के बजार मतदान केन्द्रमा ८३ मतदाता छन् । ४६ पुरुष र ३७ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै चुमनुव्री गाउँपालिका–१ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ५६ पुरुष र ४२ महिला गरी ९८ मतदाता छन् । चुमनुव्री गाउँपालिका–४ क्वाक आधारभुत विद्यालयमा एक सय १ मतदाता छन् । क्वाक आधारभुत विद्यालयमा ४८ पुरुष र ५३ जना महिला मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

चुमनुव्री–४ कै हिमालचुली आधारभूत विद्यालय छाकमा १ सय ९, बारपाक सुलिकोट गाउँपालिका–३ को स्तुल आधारभूत विद्यालय स्तुलखोलामा १ सय २३, चुमनुव्री गाउँपालिका–३ को बौघ हिमाली आधारभूत विद्यालय न्याकमा १ सय ३५, उक्त वडाको सिदुङ आधारभुत विद्यालय सरस्यूमा १ सय ४४ मतदाता छन् । जिल्लाका ३ सय १७ मतदान केन्द्रका कर्मचारी पुगेर मतदान केन्द्र व्यवस्थापनको काम सकेका छन् ।

दुई प्रतिनिधिसभा र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको गोरखामा ३ सय १७ मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार आइतबार मतदान सकिएपछि मतपेटिका संकलन सुरु हुनेछ । गोरखा क्षेत्र नं. २ को आइतबार रातभरि र हेलिकोप्टरको व्यवस्था भएमा क्षेत्र नं. १ को मंसिर ५ को साँझसम्म मतपेटिका संकलन सक्ने योजना रहेको उनले सुनाए । ‘मतपेटिका संकलनको आन्तरिक तयारी पनि भइरहेको छ,’ उनले भने ।

मतदानको दिन उम्मेदवार र प्रतिनिधि मतदान केन्द्रका जाँदा पाँच सय मिटर परिधिभित्र स्थिर रूपमा बस्ने कार्य नगर्न पनि आग्रह गरिएको छ । मतदानको दिन मतदान केन्द्रमा मतदान गर्ने मतदाताबाहेक अन्य बाह्य अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाइएको छ ।

चुमनुव्री गाउँपालिकाअन्तर्गतको २२ वटा मतदान केन्द्रका मतपेटिका संकलनका लागि निर्वाचन आयोगसँग हेलिकोप्टरको माग गरिएको छ । तर शनिबार साँझसम्म कुनै निर्णय भइसकेको छैन । हेलिकोप्टरको व्यवस्थापन भए संकलन केन्द्र तोकेर सदरमुकामको मतगणना स्थलसम्म मतपेटिका ल्याउने गरी आन्तरिक तयारी गरिएको छ ।

मतगणनाका लागि तारजाली र सीसीटीभी क्यामेरासहित व्यवस्थापनको काम पनि सकिएको छ । गोरखा क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको भवन तथा क्षेत्र नं. २ को भू तथा जलाधार व्यवस्थापनको कार्यालयमा मतगणना स्थल निर्माण भएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?