३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पूर्वी नवलपरासीमा एमालेसँग तालमेल गरेका छैनौं : राप्रपा

नारायण शर्मा

पूर्वी नवलपरासी — राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वी नवलपरासीले जिल्लामा एमालेसँग तालमेल नगरिएको प्रस्ट पारेको छ । कावासोतीस्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष विष्णु अधिकारीले निर्वाचन घरदैलो अभियानमा एमाले कार्यकर्ताले राप्रपाको सर्मथन रहेको भनेर भ्रम छरेकोमा आपत्ति जनाउँदै तालमेलको विषय सरासर गलत रहेको बताए । 

पूर्वी नवलपरासीमा एमालेसँग तालमेल गरेका छैनौं : राप्रपा

'एमालेलगायत केही दलका नेता, कार्यकर्ता मतदाताको घरदैलोमा जाँदा यो जिल्लामा राप्रपाले आफूहरुलाई सर्मथन गरिसकेको दुष्प्रचार गरेको पाइयो । कोही कसैलाई सर्मथन गरिँदैन,' अधिकारीले भने, 'यो निर्वाचनमा राप्रपा एक्लै लड्ने हो ।'

'यो जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा राप्रपाका ६ जना उम्मेदवार (संघ र प्रदेशमा समेत) छन् । कोही कसैसँग कुनै पनि क्षेत्रमा सहमति, सहकार्य र तालमेल गरिएको छैन,' अधिकारीले भने, 'यस्तो दुष्प्रचारमा नलाग्न र राप्रपालाई जिताउन अपिल गर्दछु ।'

एमाले र राप्रपाको तालमेल देशभरिका तीनवटा जिल्लामा मात्र रहेको र अन्य जिल्लामा कहींकतै कुनै किसिमको तालमेल वा समझदारी हुनै नसक्ने उनले बताए । एमाले हार्ने मनस्थितिमा पुगेपछि राप्रपाका शुभेच्छुकहरुलाई भ्रम छर्न खोजेको भन्दै उनले आपत्ति जनाए । देशमा ३२ वर्षदेखि सत्तामा रहेका दलहरुबाट जनता आजित भएकाले राप्रपा विकल्पका रुपमा नयाँ शक्तिका रुपमा उदाएको अधिकारीले दाबी गरे ।

पूर्वी नवलपरासीका सबै स्थानमा राप्रपाका उम्मेदवार रहेकाले यो पटकको निर्वाचनमा कोही कसैलाई सर्मथन गर्ने भ्रम नछर्न र आफ्नो दलका उम्मेदवारलाई निर्धक्कका साथ मतदान गर्न अधिकारीले आह्वान गरे ।

प्रकाशित : कार्तिक २३, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?