कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घरदैलोमै जोड

प्रकाश बराल

बागलुङ — एमाले बागलुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमाप्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को बुर्तिवाङमा एउटा मात्रै चुनावी सभा गर्दै छ । यहाँका एमाले निर्वाचन कमाण्डर इन्द्रलाल सापकोटाले उक्त जानकारी दिएका हुन् । 

घरदैलोमै जोड

कांग्रेसले केन्द्रीय नेतृत्वको उपस्थितिमा सभा गर्नेबारे कुनै कार्यक्रम तय नगरेको जिल्ला सचिव गण्डकी थापा अधिकारीले बताइन् । ‘अहिलेसम्म चुनावीसभा गर्ने कुरा भएको छैन’ उनले भनिन्, ‘घरदैलो र टोल सभाबाटै मत माग्ने काम भएको छ ।’ अन्य दलले पनि बागलुङमा कुनै पनि चुनावी सभा गरेका छैनन् र योजना पनि नभएको बताए । बागलुङमा गठबन्धनबाट प्रतिनिधि सभाका लागि केन्द्रीय नेतृत्व नै उमेदवार छन् । क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका उम्मेदवार छन् । उनका प्रतिस्पर्धी एमालेका सूर्य पाठक छन् ।

क्षेत्र नं. २ मा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल उठेका छन् । उनको प्रतिस्पर्धी एमालेकी मञ्जु शर्मा चालिसे छिन् । ‘दुवै उम्मेदवार हेभिवेट छन्, शीर्ष तहका अन्य नेता पनि उम्मेदवार भएकोले जिल्ला ल्याउने विषयमा कुरा भएको छैन,’ माओवादी नेता चन्द्रबहादुर केसीले भने, ‘आमसभा गरेरभन्दा घरदैलोजस्ता कार्यक्रम नै बढी प्रभावकारी छन् ।’ मनोनयन गरेपछि सबै उम्मेदवारले लगातार टोलटोलमा पुगेर मतदाता भेट्ने काम गरिहेकोले त्यसैमा निरन्तरता दिने बताए ।

एमालेका पूर्व जिल्ला अध्यक्षसमेत रहेका सापकोटाले जनता खेतीपातीमा व्यस्त भएको बेला आमसभा गरेर काम नहुने बताए । ‘हरेक मतदातालाई भेटेर मागेको जस्तो आमसभा गरेर केही नहुने रहेछ,’ उनले भने, ‘यो अभियानले चुनावी खर्चसमेत बचत भएको छ ।’ आमसभा गर्दा टाढाबाट गाडी रिर्जभ गरेर कार्यकर्ता ल्याउनुपर्ने, तर जनता नआउने भएकोले प्रभावकारी नहुने उनले बताए ।

क्षेत्र नं. २ मा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसे गत साउनमा मात्रै एमाले प्रवेश गरेकी हुन् । प्रदेशसभा १ का उम्मेदवार प्रकाश घर्ती पनि माओवादीको बागी हुँदै अहिले पनि स्वतन्त्र उम्मेदवार हुन् । घर्तीलाई नै एमालेले आफ्नो उम्मेदवार बनाएको हो । क्षेत्र नं. १ (२) का उम्मेदवार नवराज पौडेल पनि कांग्रेस छाडेर आएका हुन् । त्यसैले उक्त स्थानको प्रचारका लागि आमसभा आयोजना गरेर केन्द्रीय अध्यक्ष बोलाउने निर्णय गरेको हो । अन्य कार्यक्रम निर्वाचन परिचालन कमिटीले तय गर्ने भए पनि आमसभाका लागि निर्णय नहुने सापकोटाले बताए । जिल्लाका क्षेत्र नं. १ मा ३८ र क्षेत्र नं. २ मा ४७ वडा रहेका छन् ।

आमसभा गर्दा दुई दिनसम्म एउटै कार्यक्रममा खटिनुपर्ने र कार्यकर्ता मात्रै जुट्ने हुँदा त्यतिन्जेल तीन/चारवटा वडा घुमेर भ्याइने नेताले बताए । ‘गाउँमा पुग्दा जनताको सुखदुःख बुझ्न पाइने, उनीहरूको समस्या समाधानका योजना बनाउन पनि पाइन्छ,’ माओवादी नेता बलाबती शर्माले भनिन्, ‘यो पटक शीर्ष नेताको खोजी भएको छैन ।’ आम जनताले पनि उम्मेदवारबाटै अपेक्षा गरेको उनले बताइन् ।

सामाजिक अभियन्ताले भने राजनीतिक दलप्रति उत्साह कम भएकोले योपटक सबैले घरदैलोलाई रोजेको बताए । ‘नेताप्रति जनताको विश्वास घटेको छ, बरु अहिले उठेका युवा र नयाँ उम्मेदवारले जनताको पीरमर्का बुझिदिए भने सजिलो हुन्छ,’ नागरिक समाजका अगुवा काजीगाउँले श्रेष्ठले भने, ‘दुई/चार जनालाई रोजगारी दिएर होइन, धेरै नागरिक स्वरोजगार बन्ने कार्यक्रम चाहिन्छ ।’

प्रकाशित : कार्तिक १८, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?