कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
बागलुङ पहिरो

पहिरोपीडित बस्ती फर्कन सकेनन्

प्रकाश बराल

बागलुङ — गत भदौको दोस्रो साता खसेको पहिरो थपिँदै जाँदा यहाँको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएकाहरु फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरे ।

पहिरोपीडित बस्ती फर्कन सकेनन्

पानी पर्दा वा नपर्दा पनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दसैंको झरीले थप क्षति पुगेको छ । यहाँका १२ घरसहित जैमिनी नगरपालिका १ को ओडारका ८ घरमा पहिरो पसेको थियो । पहिरो खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांश खेतबारी र घरगोठ बगेकोले पुनर्स्थापना समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जबर्जस्ती बसाल्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

‘घरै भत्कियो, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन,’ स्थानीय ७८ वर्षीय ढालनाथ शर्माले भने, ‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ?’ उनको घर गोठ र खेत पहिरोले पुरेको थियो । पहिरोले शर्मासहित यहाँका दुइटा खानेपानीका ट्यांकी पनि बगेको थियो । अहिले पनि स्थानीयले टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिँदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो ।

पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका १ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिँचाई योजनाको कुलो बगेकोले सिँचाई छैन । ‘यतिको ठूलो पहिरो अहिलेसम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ,’ स्थानीय विष्णु पौडेलले भने, ‘खानेपानी र बिजुली बिना नै दसैं मान्नु पर्‍यो ।’ पहिरो पीडितलाई दसैंमा नगरपालिका, लायन्स क्लब लगायतका संस्थाले खाद्यान्न सहयोग गरेका थिए । ‘पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन, बरु १०/१२ घर स्थानान्तरण गरेर एकीकृत बस्ती बनाउन सके सुरक्षा होला,’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने, ‘त्यसका लागि सुरक्षित जग्गा खोज्ने तयारी गर्छौं ।’ एकीकृत बस्ती भएमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने उनले बताए ।

‘पहिरो पन्छाएर बस्ती बसाल्न कठिन छ, त्यसैले नयाँ ठाउँको खोजीमा छौं,’ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘दिर्घकालीन योजना बनाएर अन्य बस्तीको पनि पुनर्स्थापना खोज्नु पर्ने भएको छ ।’

किसानको खरबारी र सुन्तला लगाएको बारी समेत गरी सैयौं रोपनी बगेको छ । पहिरो गएको बेला धेरैले पुगेर अनुगमन गरेपछि बिर्संदै गएको स्थानीय वीरबहादुर थापाले गुनासो गरे । यो वडामा सुरक्षित घरघडेरी बसाल्ने स्थान भेट्नै मुस्किल हुने उनले बताए ।

प्रकाशित : कार्तिक ९, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?