एजेन्डा छैनन्, आरोप–प्रत्यारोपमा उम्मेदवार- गण्डकी - कान्तिपुर समाचार

एजेन्डा छैनन्, आरोप–प्रत्यारोपमा उम्मेदवार

‘हामी मतदाताले नेतालाई असल मानेर होइन, खराबमध्येका कम खराबलाई रोज्नुपर्ने बाध्यता छ’
प्रदेश ब्युरो

पोखरा — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार अहिले मत माग्न व्यस्त छन् । घरदैलो, भेटघाट, छलफल, उम्मेदवार परिचय कार्यक्रम, शुभकामना आदानप्रदानलगायत कार्यक्रमसाथ गाउँ छिरेका छन् । तर उनीहरूसँग सर्वसाधारणका दैनिक सरोकारका विषयसँग जोडिएका एजेन्डा खासै छैनन् । पुरानै शैली र एजेन्डामा गाउँ छिरेका उम्मेदवार बरु एकअर्कामा आरोपप्रत्यारोपमै सीमित छन् ।

लमजुङका मतदाताले दुईछाक खान, राम्ररी सुत्न र शरीर ढाक्ने वातावरण मिलाइदिन बाहेक ठूलो आशामा छैनन् । उम्मेदवार भने विपक्षी दललाई गाली गरेरै समय खर्चिरहेका छन् । जनताका आवश्यकताप्रति उनीहरूको खासै चासो छैन ।

बेंसीसहर–२ भकुन्डेका काजी बस्नेत उम्मेदवार जनतालाई झुक्याएर भोट मात्रै खोजेको ठान्छन् । ‘जनजीविकाका कुरा उम्मेदवारले सम्बोधन गरेका छैनन्,’ उनले भने, ‘हामीले नेतालाई असल मानेर होइन, खराबमध्येबाट रोज्नुपर्ने बाध्यता छ ।’

बेंसीसहर–११ रामचोकबेंसीका वासुदेव सेढार्इँका अनुसार उम्मेदवार र नेताले जनतालाई भोटबैंक मात्रै सोचिरहेका छन् । जनताको पक्षमा काम गर्न नसकेको उनले आरोप लगाए । भने, ‘पहिले, अहिले र भोली पनि त्यही आश्वासनले असन्तुष्टि बढाएको छ ।’ सत्ता गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङ, प्रदेश (१) का उम्मेदवार कांग्रेसका टकराज गुरुङ र प्रदेश (२) का उम्मेदवार कांग्रेसका भेषबहादुर पौडेलले भाषणमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेलाई गाली नगरेको कुनै दिन छैन ।

एमाले उम्मेदवार भने एमाले सरकारलाई परमादेशले फालेको भन्दै प्रतिवादमा छन् । उनी ‘परमादेश’ सरकारले महँगी र भ्रष्टाचार बढाएको भन्दै कांग्रेसको गाली गरिरहेका छन् । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, प्रदेश (१) का उम्मेदवार एमालेका जमीन्द्रमान घले र प्रदेश (२) का एमाले उम्मेदवार कृष्णप्रसाद अधिकारीले पनि दिनकै कांग्रेस–माओवादी र सत्ता गठबन्धनको सरकारलाई गाली गरिरहेका छन् । नेताका पछि हिँडेका कार्यकर्ताले पनि एकले अर्कालाई गाली गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक अहिले आरोपप्रत्यारोपले रंगिएको छ ।

बागलुङमा ५ वर्षअघिको निर्वाचनमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र गर्ने नारा दिएर चुनाव जितेपनि दुवै सडक उस्तै विजोग छन् । आसन्न निर्वाचनमा उम्मेदवारले फेरि यी सडक बनाउने नारा लगाएका छन् । उत्तरगंगा जलविद्युत् आयोजना र ढोरपाटन सालझन्डी सडक सम्पन्न गर्ने एजेन्डा पनि नारामै सीमित भयो । बागलुङ (१) का गठबन्धन उमेदवार चित्रबहादुर केसी र एमालेका सूर्य पाठक दुवै पुरानै अनुहार हुन् । क्षेत्र नं. २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल पुरानै हुन् । क्षेत्र नं २ मा एमालेकी उमेदवार मञ्जु शर्मा भने नयाँ हुन् । प्रदेशतर्फ धेरै नयाँ छन् । उनीहरूले भने पूर्वाधारसँगै सुशासनका नारा लगाएका छन् । पौडेल यसअघि एमाले, राजमोसहितको वाम गठबन्धनबाट विजयी भएका थिए । केसी भने अघिल्लो निर्वाचनमा एमालेका सूर्य पाठकलाई जिताउन लागेका थिए । केसीकै सर्मथनमा जितेका एमालेका पाठक यो पटक केसीका प्रतिस्पर्धी हुन् । उनीहरू आफ्ना एजेन्डाको दममा भन्दा आरोप लगाएरै जित्ने ध्याउन्नमा छन् ।

‘दलले यो राम्रो एजेन्डा बोकेका छन्, त्यसैले भोट हाल्नुपर्छ भन्ने केही देखिँदैन,’ वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले भने, ‘हाम्रो नीति यो हो, हामीले जितेपछि यो नीतिमा परिवर्तन गर्छौं र राष्ट्रियताको विषयमा यो काम गर्छौं भनेको सुनिएन ।’ परराष्ट्रनीति, गणतन्त्र र जनताले पाएका अधिकार रक्षामा के गर्ने भन्ने नबोलेको उनले बताए । पूर्वाधारको नारा लगाउन सजिलो भएको उनको टिप्पणी छ । ‘प्रदेशमा लडेका उम्मेदवारले प्रदेशको अवस्था र अबको गन्तव्यबारे प्रस्टाउनुपर्नेमा त्यो पनि भएको छैन,’ श्रेष्ठ भन्छन्, ‘पार्टी र नेतालाई गाली गरेपछि चुनाव जितिन्छ भन्ने मनोविज्ञान बनेको छ ।’ केसीले गणतन्त्र, धर्म निरपेक्षता जोगाउने, राष्ट्रियताको पक्षमा वकालत गर्ने तथा जनताको जनजीविकाको विषयमा काम गर्ने एजेन्डा लिएको बताए । ‘हामीले धेरै समय विकृति विसंगतिविरुद्ध भन्डाफोर गर्ने नीति लियौं, चुनावी एजेन्डा पनि त्यही बनायौं,’ केसीले भने, ‘यसपटक भने जनजीविकालाई पनि सुधार गर्न पहल गर्ने नीति बनाएर चुनावमा लागेका छौं ।’ पाठकले बसाइँसराइ रोक्न ‘कनेक्टिभिटी’, उत्तरगंगा जलविद्युत्मा पहल, अस्पतालको सुधार गरी विशेषज्ञ सेवा दिने तथा शिक्षाको गुणस्तर सुधार्ने नाराबाट मत मागेको बताए । बागलुङ क्षेत्र नं २ की एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेले सानो काममा सदरमुकाम आउनुपर्ने बाध्यता हटाउनुपर्ने भन्दै मत मागेकी छन । पश्चिम क्षेत्रको स्वास्थ्य समस्या र लोकमार्गको स्तरोन्नतिबाट मात्र जिल्लाको मेरुदण्ड खुल्ने शर्माले बताइन् ।

पर्वतमा पुराना उम्मेदवारहरू आफूले विगतमा गरेका वाचा र अपुरा काम पूरा गर्ने तथा नयाँनयाँ आश्वासन लिएर पुगेका छन् भने नयाँ उम्मेदवार अवसर नपाएको र पाएकाले पनि वाचा पूरा नगरेकोले आफूहरूले काम गर्ने प्रतिबद्धतासहित घरदैलोमा पुगेका छन् । एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको पर्वतमा संघीय सांसदका उम्मेदवार भने पुरानै अनुहारका छन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका अर्जुनप्रसाद जोशीले आफूले पाँच वर्षअघि चुनाव जित्न नसकेका कारण सडक, खानेपानी, सिँचाइ, शिक्षालगायतका पूर्वाधारका काम अघि बढ्न नसकेको भन्दै ती काम पूरा गर्ने वाचा मतदातासँग गरेका छन् । जोशीले अघिल्लो पटक जनताले बहुमत दिएको पार्टीले जनभावनाअनुरूपका काम गर्नुको सट्टा संसद नै विगठन गरेकाले यसपालि आफूलाई जिताउन आग्रह गरेका छन् । प्रदेशतर्फ (१) र (२) का उम्मेदवार सबै नयाँ अनुहारका छन् । प्रदेशमा प्रतिस्पर्धा गरिरहेका दुवै क्षेत्रका उम्मेदवारले मतदातासमक्ष यसअघिका जनप्रतिनिधिले जनगुनासो नसुनेको, भोट माग्न मात्रै मतदाताकामा पुग्ने गरेको आरोप लगाउँदै आफूहरूले चुनाव जितेमा त्यसो नगर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन् । तर, हालसम्म कुनै पनि राजनीतिक दलका उम्मेदवारले आफ्नो व्यक्तिगत तथा पार्टीको घोषणापत्र तथा प्रतिबद्धतापत्र लिपिबद्ध गरेर मतदाताकामा पुर्‍याउन भने सकेका छैनन् ।

तनहुँमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आ–आफ्ना चुनावी नारा र प्रतिबद्धतासहित मतदातासमक्ष मत मागेका छन् । तनहुँ–१ का उम्मेदवार एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै बसौंबसौं बनाउन आफू राजनीति रहिरहेको बताउँदै आएका छन् ।

गोरखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उमेदवारले स्थानीयस्तरका साना विषयदेखि समृद्धिको मोडल नै गोरखाबाट सुरु गर्ने प्रतिबद्धतासहित चुनावी गतिविधि सुरु गरेका छन् । प्रतिनिधिसभा गोरखा (२) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समृद्धिको नमुनाका रूपमा विकास गर्न आफ्ना पहल हुने बताउँदै आएका छन् । ‘हिजो राजनीतिक क्रान्तिमा गोरखा, आज समृद्धिको क्रान्तिका लागि गोरखा’ भन्दै उनले सामाजिक सञ्जालबाट पनि घोषणा गरेका छन् ।

चुनावी अभियानमा गठबन्धन दलको संयुक्त जिल्लास्तरीय प्रतिबद्धतापत्र बनाउन कांग्रेस, माओवादी, नेपाल समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधि रहेको समिति पनि बनेको छ । गठबन्धनभित्रका दलले आ–आफ्नो प्रतिबद्धता पत्र बनाउने र त्यसपश्चात् गठबन्धन दलभित्र छलफल गरेर साझा प्रतिबद्धता पत्र बनाउने काग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए । एमाले उम्मेदवाले भने प्रतिबद्धता पत्रसहित मतदाताकामा गएको जिल्ला सचिव काजिराम रोकाले बताए । शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधारलगायतका विषयलाई प्राथमिकतामा राखेको बताउँदै उनले उत्तरी गोरखाको नाका खोल्न पहल गर्ने, बुढीगण्डकी परियोजना जस्ता विषय समेटेर मत मागिएको सुनाए ।

आश गुरुङ (लमजुङ), प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी (पर्वत), सम्झना रसाइली (तनहुँ) र हरिराम उप्रेती (गोरखा)

प्रकाशित : कार्तिक ६, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

बदलिँदै चुनाव प्रचारशैली

उम्मेदवारहरु सहरबजारमा सामाजिक सञ्जाल र गाउँघरमा भेटघाटमा व्यस्त
प्रदेश ब्युरो

लुम्बिनी — निर्वाचन आयोगले ठूला आमसभा र तडकभडकमा रोक लगाएपछि दलले प्रचारशैलीमा बदलेका छन् । यसअघि प्रत्यक्ष भेटघाट गर्दै आएका उम्मेदवारको ध्यान अहिले सामाजिक सञ्जालमा केन्द्रित भएको छ । त्यसबाहेक प्रचार कार्यालय स्थापना गरेर भेटघाटलाई निरन्तरता दिएका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उम्मेदवार निकट कार्यकर्ता र प्रचारकले फेसबुक, ट्वीटर, टिकटकजस्ता सञ्जाललाई बढी प्रयोग गरिरहेका छन् । उम्मेदवारका नाममा ‘फेसबुक पेज’ बनाएर प्रचार गर्ने र त्यसलाई बुस्ट गरिरहेका छन् । यसका लागि निजी सहयोगी वा कार्यालयमै कर्मचारी खटाइएको छ । रूपन्देही ३ बाट कांग्रेस र गठबन्धन दलका उम्मेदवार जिताउन प्रचारप्रसार समिति गठन गरिएको प्रचार संयोजक तथा क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

उनले निर्वाचन क्षेत्रका ३६ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरेर प्रचार तीव्र बनाइएको बताए । त्यसबाहेक सञ्चार क्षेत्रमा उम्मेदवारले गरेका काम र भावि योजनाबारे पत्रकारलाई जानकारी गराउने, फेसबुक पेज बुस्ट गरी प्रचार गरिरहेको उनले बताए । ‘उम्मेदवार नागरिकका घरघर पुग्ने समय छैन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालमा मतदाताको पहुँच बढेकाले त्यसमार्फत प्रचारलाई जोड दिइएको हो ।’

प्रदेशमा चुनावी रौनक पहिलेजस्तो नभएको नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष डा. बुद्धबहादुर थापाको भनाइ छ । चाडपर्वका बेला भएकाले तडकभडक खालको प्रचार नदेखिएको उनले बताए । ‘आचारसंहितालाई ख्याल गरिएको होला,’ उनले भने, ‘आमसभा, जुलुस, कार्यक्रम, घरदैलो हुन बाँकी छन् कि,’ डिजिटल माध्यम चर्चित र प्रभावकारी देखिएकाले यसको प्रयोग बढाइएको हुन सक्ने उनको तर्क छ ।

पाल्पामा पनि प्रचार शैलीमा परिवर्तन देखिएको छ । २०५१ सालको प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका र अहिले पनि पाल्पा २ बाट उम्मेदवारी दिएका सोमप्रसाद पाण्डेयले २८ वर्षअघिको प्रचार शैली र अहिलेमा धेरै फरक आएको बताए । ‘त्यतिबेला भित्तेलेखन, हातैले लेखेका तुल, ब्यानर, पोस्टर हुन्थे,’ उनले भने, ‘कोही कसैले चुनाव चिह्नका टिसर्ट, टोपी पनि बनाउँथे ।’

उनको अनुभवमा अहिले वडाध्यक्षले गर्ने खर्च त्यतिबेला प्रतिनिधिसभाका उम्मेदवारले गर्थे । २०५६ सालमा प्रतिनिधिसभाका उम्मेदवार बनेका यादवबहादुर रायमाझीले त्यतिबेला ७ लाख रुपैयाँ प्रतिनिधिसभा निर्वाचनमा खर्च भएको अनुभव सुनाए । २० वर्षअघिका निर्वाचनमा गुणात्मक प्रचारशैली रहेको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्ण कार्कीर्ले बताए ।

‘जुन ढंगले प्रचारको शैली बदलियो, त्यो गुणात्मक होइन,’ उनले भने, ‘यसबाट केही कार्यकर्ता साथमा लहडमा हिँडेको देखिन्छ । तर, यसबाट फाइदा कमै हुने गर्छ ।’ अहिलेको निर्वाचन आचारसंहिताले उम्मेदवारलाई धेरै फाइदा पुगेको उनले सुनाए । ‘घरमा भेट्न आएनन् भन्ने मात्र हो,’ उनले भने, ‘अहिले माइक बजाउने, ठूला जुलुस गर्नुपर्छ भन्ने नै छैन । जनता नेताभन्दा जानकारी लिनमा धेरै अगाडि छन् ।’

बाँकेमा पनि विगतको भन्दा प्रचार शैली फेरिएको देखिएको छ । थोरै मात्रामा पोस्टर र पम्पलेट छापिएका छन् । माइकिङदेखि आमसभा पनि कम हुँदै गएका छन् । विगतका चुनावहरूमा बाँकेका गाउँबजारलगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पार्टी, मन्दिर, पुल र सडकका भित्तामा उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्ड सजिएका हुन्थे । यसपटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण धार्मिकस्थलदेखि सार्वजनिक स्थलहरू कुरूप हुन नपाएको अधिकारकर्मी बसन्त गौतमले बताए ।

‘दलहरूले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएकाले पनि तडक–भडक र ध्वनि प्रदूषण हुने खालका प्रचार कम भएको हो,’ उनले भने ।

मनोनयन दर्तासँगै प्रचार सामग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावमा जस्तो भ्याइनभ्याइको अवस्था नरहेको छापाखाना तथा अफसेट प्रेसका सञ्चालकहरू बताउँछन् । निर्वाचन आचारसंहिताका कारण ठूला ब्यानर र पर्चा पोस्टर छाप्ने अर्डन नआएको जय बागेश्वरी अफसेट प्रेसकी सुशीला चुकेले बताइन् ।

‘विगतमा यतिबेला पोस्टर, घोषणापत्र छाप्न भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भनिन्, ‘समय परिवर्तनसँगै सबैजसो उम्मेदवार डिजिटल प्रचारप्रसारमा सरिक भएका छन् ।’ कागजी माध्यमभन्दा प्रत्यक्ष र डिजिटल माध्यमबाट मत माग्ने काम भइरहेको राजनीतिक विश्लेषक जनार्दन आचार्यले बताए । ‘यो राम्रो अभ्यास हो । यसले नेतालाई चिन्न र बुझ्न मतदातालाई सजिलो पनि भएको छ,’ उनले भने, ‘उम्मेदवारहरू सहरबजारमा सामाजिक सञ्जालबाट र ग्रामीण भेगमा भेटेरै मतदाता रिझाउन खोजिरहेका छन् ।’

दाङमा पहिलेजस्तो जुलस, सभा, माइकिङ र पर्चा–पम्पलेट अहिले देखिंदैनन् । नेताहरू आधुनिक प्रविधि र घरदैलोमा पुगेर भेटघाटको माध्यमबाट प्रचारमा जुटेका छन् । धेरैजसो उम्मेदवारले सामाजिक सञ्जालको माध्यमबाट प्रचार गरिरहेका छन् । विभिन्न आकर्षक एजेण्डा र तस्बिरसहितका प्रचार समाग्री डिजाइन गरेर सामाजिक सञ्जालमा सेयर गर्ने चलन बढेको छ । यसका लागि प्रविधि जानेको जनशक्ति परिचानलन गरिएको छ ।

सबैजसो उम्मेदवारले सञ्चार डेस्क स्थापना गरेर प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । यसका साथै घरदैलो र टोलटोलमा ससाना भेला आयोजना गरी उम्मेदवारले भोट मागिरहेका छन् । अहिले अधिकांश नागरिक सूचना प्रविधिको पहुँचमा रहेकाले सामाजिक सञ्जालमार्फत प्रचार गर्दा प्रभावकारी देखिएको प्रदेश सभा सदस्यका लागि दाङ ३ (१) का एमाले उम्मेदवार घनश्याम पाण्डेले बताए । मिडिया परिचालनमा पनि उम्मेदवारहरू आकर्षित भएका छन् ।

पाण्डेले शनिबार तुलसीपुरमा ‘पत्रकारसँग घनश्याम पाण्डे’ कार्यक्रम आयोजना गरेर पत्रकारसामु आफ्ना एजेण्डा प्रस्तुत गरे । समयअनुसार प्रचार शैली बदलेर जनतासामु गइरहेको उनले बताए । ‘यो सूचना प्रविधिको युग हो । सञ्चार माध्यमबाट जनतामाझ पुग्न सकिन्छ,’ पाण्डेले भने, ‘घरदैलो र भेटघाट पनि प्रभावकारी माध्यम भएको छ ।’

सभा, जुलुस र भीडभाड गर्नुभन्दा सानो समूहको भेटघाट र सामाजिक सञ्जालको प्रचार बढी प्रभावकारी भइरहेको क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस नेता राजु खनालले बताए । ‘समयको माग अनुसार जनतामाझ आफ्ना कुरा राखिरहेका छौं । सामाजिक सञ्जाल, फोन, मेसेज र भेटघाटबाट प्रचार बढाएका छौं,’ उनले भने, ‘यसले झन्

नजिकबाट चिनजान गर्न र आफूलाई चिनाउन सजिलो भएको छ ।’

दाङमा अहिले गीत, भिडियो, शुभकामना सन्देश, म्यासेज, जिंगलजस्ता सामग्रीबाट निर्वाचनको प्रचार बढी भइरहेको राजनीतिक विश्लेषक विकिरण गौतमले बताए । ‘ठूलो जनसहभागितामा प्रत्यक्ष रूपमा आफ्ना कुरा राखेजस्तो सामाजिक सञ्जाल प्रभावकारी नहुन सक्छ,’ उनले भने, ‘तैपनि, उम्मेदवारलाई चिनाउन र आफ्ना एजेन्डा राख्न सामाजिक सञ्जाल र सञ्चार माध्यम उपयोगी भइरहेका छन् ।’ निर्वाचनको प्रचारशैली बदलिंदा प्रतिस्पर्धा स्वच्छ हुन पनि सहयोग मिलिरहेको नागरिक समाजका संयोजक केबी मशालले बताए । ‘अनावश्यक तडकभडक कम गर्न यसले सहयोग पुर्‍याएको छ । गाडीमा हजारौं मानिस ओसारेर सभा, जुलुस गर्दा शक्ति प्रदर्शन गरेजस्तो हुन्छ,’ उनले भने, ‘त्यस्तो कार्यक्रममा खर्च पनि बढी हुन्छ । सूचना प्रविधिको प्रयोग गरी गरिने प्रचार शान्त, स्वच्छ र सभ्य देखिएको छ ।’

निर्वाचन आयोगले मतदान हुनुभन्दा १७ दिनअगाडिसम्म प्रचारप्रसार र आमसभामा रोक लगाए पनि बर्दियामा सामाजिक सञ्जालमार्फत भोट माग्न थालिएको छ । अधिकांश उम्मेदवारले सामाजिक सञ्जालमार्फत निर्वाचन जितेपछि विकास निर्माणदेखि आमूल परिवर्तन ल्याउने प्रतिबद्धतासहित प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गरेका छन् । निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्न छुट दिएको जिल्ला निर्वाचन अधिकृत कृष्ण कुँवरले बताए । ‘सामाजिक सञ्जालमार्फत उम्मेदवारले प्रचारप्रसार गर्न पाउँछन्,’ उनले भने, ‘तर, अन्य व्यक्ति र समूह सहभागी भएर त्यस्तो प्रचारप्रसार गर्न भने पाइँदैन । अहिले यो समस्या सामाजिक र नैतिक चुनौती बनेको छ ।’

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई पहिलोपटक सम्झाउने र अटेर गरे कानुन अनुसार कारबाही गरिने निर्वाचन कार्यालयले जनाएको छ । मोटरसाइकल वा अन्य सवारी साधन प्रयोग गरी र्‍याली निकाल्न र राष्ट्रिय झण्डा बोकेर प्रचारप्रसारमा सरिक हुन आयोगले रोक लगाएको छ ।

सन्जु पौडेल (लुम्बिनी), माधव अर्याल (पाल्पा), रूपा गहतराज (नेपालगन्ज), दुर्गालाल केसी (दाङ) र कमल पन्थी (बर्दिया)

प्रकाशित : कार्तिक २, २०७९ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×