कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झिनियाँसहित तयारी रोटीको माग उच्च

रासस

बागलुङ — तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकारको माग बागलुङमा उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । 

झिनियाँसहित तयारी रोटीको माग उच्च

बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको भीड नै लाग्ने गरेको छ । बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकारको माग उच्च भएको विगत १० वर्षदेखि बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका परिकार बनाउँदै आएकी मीरा श्रेष्ठले बताइन् ।

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । श्रेष्ठ विगत १० वर्षदेखि झिनियाँ, चिनी रोटी, फिनी रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन् ।

“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ, लगातारको वर्षाले झिनियाँ सुकाउन समस्या भयो, झिनियाँको माग धान्नै समस्या छ”, श्रेष्ठले भनिन्, “झिनियाँ मात्रै नभएर चिनी, फिनी र सेललगायत तयारी रोटीको माग बढेको छ, यो सिजनमा दिनरात नभनी काम गरिरहेका छौँ ।”

मीरासँगै उनका श्रीमान् र छोराले दसैँ अघिदेखि रातदिन नभनेर झिनियाँ, चिनी, फिनी, भेली र नमकिनलगायत तयारी परिकार बनाइराखेका छन् । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमी श्रेष्ठले धान्दै आएकी छन् ।

श्रेष्ठले दसैँ तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बेचेर रु छ लाख कमाउने लक्ष्य राखेकी छन् । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा समेत झिनियाँसहित अन्य सात प्रकारका तयारी रोटीको माग भएको हो ।

माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँतिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेष गरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँलगायतका रोटी बनाइराखेको श्रेष्ठले बताइन् ।

बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रूपमा झिनियाँ बनाउँदै आएकी उनले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताइन् । अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । उनले तीन वर्षदेखि एक लाख रुपैयाँको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेर बनाउन थाल्दा माग आपूर्तिमा सहजता भएको बताइन् ।

थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रु दुई सय ५० र सानोमा रु एक सय ४० मा बिक्री गर्दै आएको उनले बताइन् । दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ८०, फिनी रोटी रु ७०, भेली रोटीलाई रु ५० र नमकिन रोटीलाई रु ५० मा बिक्री गर्दै आएकी छन् ।

प्रकाशित : कार्तिक ४, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?