मेमे पोखरी घुम्न गएका श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

आश गुरुङ

लमजुङ — दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी (४,८०० मि.) घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मेमे पोखरी घुम्न गएका श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

सँगै गएका ५ जनामध्ये ३ जना भेडीगोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । सर्लाही लालबन्दीका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती लमजुङको बेंसीसहर नगरपालिका १०, साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छिन् ।

उनीहरूको खोजीकार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्‌को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए ।

‘श्रीमान्-श्रीमती पछि आउँदै गर्ने र अन्य ३ जनाले अगाडि बास खोज्न जाने सल्लाहबमोजिम ३ जना अघि-अघि आएर श्रीमान्-श्रीमती पछि बसेछन् । त्यही बेला श्रीमान्‌लाई लेक लागेछ‚’ उनले भने, ‘श्रीमान्‌लाई भएको समस्याबारे जानकारी गराउन हामीलाई खोज्दै हिँड्दा बाटो पहिल्याउन नसकेपछि श्रीमती पनि सम्पर्कविहीन छन्‚’ विकले भने ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट बराहपोखरी पुग्न ३ दिन लाग्छ । यसका लागि १ दिनमा बराहपोखरी पुग्नुपर्छ । मुस्किलले १ दिनमा बराहपोखरी पुगेपछि २ दिनमा मेमेपोखरी पुग्न सकिन्छ ।

प्रकाशित : आश्विन २१, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?