लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना- गण्डकी - कान्तिपुर समाचार

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आश गुरुङ

लमजुङ — मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

लमजुङमा प्रदेश सभाको २ वटा क्षेत्र र प्रतिनिधि सभाको एउटामात्रै क्षेत्र छ । दुवै प्रदेश सभा ‘क’ र ‘ख’ साथै प्रतिनिधिसभा सदस्य निर्वाचन हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, नायब सुब्बा वा खरिदार, लेखापाल, कम्प्युटर अपरेटर, मुख्य निर्वाचन अधिकृतको अंगरक्षक, चालक र २ जना सहयोगी गरी ९ जना कर्मचारी रहनेछन् ।

जिल्ला अदालतका तहसिलदार एवं सहायक निर्वाचन अधिकृत विश्वराज कुइँकेलले असोज २३ गते आइतबार मनोनयन दर्ताको कार्यक्रम, २४ गते उम्मेदवारको विरोधमा दाबीविरोध, २५ गते नामावली प्रकाशन, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने साथै निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले निर्वाचन भयरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी प्रशासन तयारी अवस्थामा रहेको दाबी गरे । ‘हामीले सुरक्षाको सबै प्रबन्ध मिलाइसकेका छौं । राजनीतिक दलले मनोनयन दर्ता गराउनेदेखि सबै खालको गतिविधि गर्दा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गर्दछु,’ उनले भने ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलसँग शुक्रबार दिउँसो छलफल गर्दैछ । आयोगका तर्फबाट गर्ने सबै कामहरु जिल्ला निर्वाचन कार्यालयले गर्ने उनले बताए ।

मुख्य निर्वाचन कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालको संयोजकत्वमा बसेको बैठकले निर्वाचनलाई व्यवस्थित गर्ने र आयोगबाट प्राप्त सबै सामग्रीलाई सुरक्षित तवरबाट राख्ने निर्णय गरेको छ ।

निर्वाचनपछिको भण्डारणकक्ष र सीसी क्यामराको लागि बेंसीसहर नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको व्यवस्थापन समितिका सदस्यसचिव रहेका निर्वाचन अधिकारी सापकोटाले बताए ।

प्रकाशित : आश्विन २०, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा सडकको भेलले बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता 

कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिका २ सिमटार सडकको भेलले बगाउँदा बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् । ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले नालीमा पुर्‍याएको थियो ।

छोरी बेबिसा बगेको ठाउँबाट २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपछि उपचारका लागि ग्रिनसिटी अस्पताल काठमाडौंमा लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । श्रेयान घिमिरे हालसम्म बेपत्ता रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सिमटारबाट बेरुवातर्फ जाँदै गरेको बा ८० प ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको ठूलो भेलले उनीहरुलाई दुवैलाई बगाएको थियो ।

प्रकाशित : आश्विन २०, २०७९ १९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×