गोरखाको खार गाउँमा पहिरो : २ घर पुरिए, ३ जना सख्त घाइते- गण्डकी - कान्तिपुर समाचार

गोरखाको खार गाउँमा पहिरो : २ घर पुरिए, ३ जना सख्त घाइते

हेलिकप्टर कुर्दै घाइते
 लोक्पा पहिरोले दुइ वडा आउजाउ ठप्प
हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित खार गाउँमा झरेको पहिरोमा पुरिएर तीन जना सख्त घाइते भएका छन् । बिहिबार दिउँसो खसेको पहिरोले दुइ घर सँगै तीन जनालाई पुरेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बताए ।

सडक सञ्जालले नजोडेको खार गाउँका घाइतेलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याउन बिहिबार साँझ सम्म प्रयास गरिएको उनले बताए । ‘आज साँझ पर्‍यो, प्रशासनसँग हेलिकोप्टरका लागि अनुमति मागेका छौँ,’ उनले भने,‘भोली बिहानै उद्धार गर्ने गरि पहल भइरहेको छ ।’ घाइतेहरुको हेलिकोप्टर बाहेक उपचारका लागि लैजाने अन्य विकल्प नरहेको लामाले बताए ।

त्यस्तै लगातारको वर्षाले चुमनुव्री गाउँपालिका–६ लोक्पा भिरमा पुन: पहिरो खसेको छ । लोक्पा पहिरोले चुमनुव्री गाउँपालिका–६ र ७ को दुइ वडा आउजाउ ठप्प बनेको छ । त्यस्तै वर्षाका कारण सल्लेरी र सिर्दिवासबीचको पैदलमार्गमा पनि पहिरो खसेको लामाले जानकारी दिए । विहिको राना, प्रोकको वुर र एक्लेभट्टीमा पनि पहिरोले पैदलमार्ग अवरुद्ध बनेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : आश्विन २०, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्

डुबानले बाँकेमा २ सय ५० भन्दा बढी विस्थापित

जे पाण्डे

नेपालगन्ज — बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका- १ को चौफेरि बस्तीका २ सय ५०  भन्दा बढी बासिन्दा  डुवानमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले  चौफेरि गाउँका कम्तीमा ८० घर परिवारका अढाइ सय  बासिन्दालाई  नजिकैको एउटा आश्रय स्थलमा राखेको जानकारी दिए ।

राप्ती नदी र डुडुवा नालाको बीचमापर्ने चौफेरि गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो । ढुवान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । कच्ची घरहरु भत्कन थालेका छन् । बिस्थापितहरु गाँस बासको समस्यामा छन् ।

यसै क्रममा बाँकेको नरैनापुरका विभिन्न क्षेत्र पनि जलमग्न भएका छन् । नरैनापुरको बनिया गाँउ, घोडदौरिया, जमुनहा, र दोधदरा बस्ती जलमग्न भएको प्रहरीले जनाएको छ । घोडदौरीया गाउँका १० वटा घर भत्केका छन् । घर भित्र बस्न नसक्ने भएपछि प्रभावित बासिन्दाले सरसामान सार्न थालेका छन । कतिपय पाल टाँगेर बसेका छन् ।


प्रकाशित : आश्विन २०, २०७९ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×