बाढीपहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — वर्षाका कारण बाढीपहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । यो सडक मनाङ जाने एकमात्र सडक हो । विजयादशमीको दिन बुधबार बिहान बेंसीसहर नगरपालिका ६, खरखरेमा पहिरो खसेकोमा यसलाई हटाइएको छ ।

बाढीपहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध

अपराह्नतिर मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।

अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढीपहिरोले सडक क्षतविक्षत बनाएको छ । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका ३, खोत्रोमा बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढीपहिरोले बाटो बगाउने, पहिरो आउने र बगाउने गर्नाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु बिकका अनुसार बुधबार अपराह्न सवा ४ बजेतिर बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने अर्खले र जगतबीचको २ ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मर्स्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्र साथै हिमाली जिल्ला मनाङको सिंगो बासिन्दाले सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । ‘पानी परिरहेको छ । राति भएकाले पनि सडक खुलाउन सकिरहेको छैन’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सडक खुलाउनको लागि प्रहरी सहित डोजर लगिएकोमा अबिरल वर्षाका कारण बाटो खुलाउन नसकिएको बताए । ‘पानी रोकिनेबित्तिकै सडक खुलाइनेछ,’ उनले भने ।

अबिरल वर्षाका कारण ग्रामीण भेगका सडकमा पनि क्षति पुगेको छ । यसअघि वर्षाका कारण बाढीपहिरो भएर असहज बनेको सडक तथा गोरेटोहरु फेरि बगाउन थालेका प्रहरीले जनाएको छ । दसैंका बेला केही सडकलाई सुधार तथा मर्मत गरिए पनि ती सडकहरु फेरि बगाउन थालेका छन् ।

प्रकाशित : आश्विन १९, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?