पूर्वीनवलपरासीमा सडक अवरुद्ध

रासस

कावासोती — पूर्वीनवलपरासीको पहाडी क्षेत्र जोडने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीका अनुसार लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको यातायात सेवा ठप्प भएको छ ।

दललदलेबाट पहाडी क्षेत्रका लागि छुटेका र पहाडी क्षेत्रबाट दलदलेतर्फ आउँदै गरेका सवारीसाधन पाङ्रग्रेमा थन्किएका छन् । दसैँमा टीका थाप्न हिँडेका सयौँ यात्रु पैदल नै आफ्नो गन्तव्यतर्फ लागेका छन् । उक्त क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडक पुनः सञ्चालनमा कठिनाइ भएको पुरीले बताए ।

यसैबीच राइकोटबाट दलदलेका लागि छुटेको गण्डकी प्रदेश–०४–००१ ज ००६ नम्बरको जिप पहिरोमा परेको छ । जिपमाथि पहिरो खसे पनि त्यसमा सवार यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : आश्विन १९, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?