२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

म्याग्दीका दुर्गा भगवती मन्दिरहरुमा फूलपाती भित्र्याइयो

घनश्याम खड्का

म्याग्दी — जिल्लाका दुर्गा भगवती मन्दिरका दसैं घरमा उखु, हलेदो, केराको बोट, धानकाबाला, बेलपत्र, दारिम, जयन्तीसमेत ९ थरी फूलपातीलाई नवदुर्गाको प्रतीक मानी धुमधामसहित भित्र्याएको छ । 

म्याग्दीका दुर्गा भगवती मन्दिरहरुमा फूलपाती भित्र्याइयो

पश्चिम म्याग्दीको ताकमकोट, सदरमुकामको बेनीकोट, ज्यामरुककोट, राखुभगवती कोट र उत्तरी भेगको घारकोट मन्दिरमा नौमती बाजासहित फूलपाती ल्याएर दसैं घरमा शास्त्रीय विधीअनुसार पूजापाठसहित भित्र्याइएको हो । जिल्लाका सबै बस्तीमा भगवती मन्दिर रहे पनि ताकम, ज्यामरुककोट, बेनी, राखु र घारका कोट मन्दिर कम्तीमा तीन सय वर्ष पुराना र ऐतिहासिक हुन् । परम्पराअनुसार म्याग्दीको घारकोट, भगवती कोट, ज्यामरुककोट र ताकमकोट मन्दिरमा नवमीका दिन दुर्गाकालीलाई बलि चढाइने राँगो मार हन्न (काट्न) झण्डै वोलकबोल गरिन्छ ।

ऐतिहासिक भगवती कोट मन्दिरमा दुर्गा भगवती चढाइने बलि (राँगो मार) बाईसे/चौबीसे राज्यकालदेखि बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । राखुभगवती मन्दिरमा वली चढाउने राँगा काट्न नेपालकै धेरै एक लाख ८० हजार बढी बोलकबोल हुने गरेको छ । त्यस्तै सरकारी राँगो मार हान्न उत्तरी क्षेत्रको घारमा पनि बोलकबोल गर्ने गरिन्छ ।

७ सय वर्षअघि तत्कालीन राजामहाराजाले स्थापना गरेको राखुभगवती कोटमन्दिर जिल्लामा ‘धजाअक्षेता’ शीर्षकमा सरकारी खर्च आउने यो एकमात्र कोट मन्दिर हो । गुठी संस्थानले मालपोत कार्यालयमार्फत हरेक वर्षको दसैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहकी रानी सुवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना, एक पैसा, एक दाम (२८८९३–९–१–१) क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पुजारी तोकीदिएकी थिइन् । सोही समयदेखि यहाँको भगवती कोट मन्दिरमा पनि पूजा सञ्चालन खर्च आउने थोको हो । पछिल्ला वर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी हरेक वर्ष दसैंमा तीन हजार पठाउने गरेको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?