सहज छैन ग्रामीण सडकको यात्रा- गण्डकी - कान्तिपुर समाचार

सहज छैन ग्रामीण सडकको यात्रा

कच्ची सडकमा बर्खे पानी जम्ने, पहिरो जाने र हिलाम्मे बन्दा सवारीमा कठिनाइ
हरिराम उप्रेती

गोरखा — दसैं सुरु भइसक्दा पनि जिल्लाका ग्रामीण सडकमा सहज यात्रा हुन सकेको छैन । ग्रामीण सडकमा यातायात सञ्चालन गर्दै आएको दरौदी यातायात सेवा कम्पनीका अनुसार बर्खे पानीले बिगारेको केही ग्रामीण सडक सफाइ नहुँदा अझै सवारी सञ्चालनमा समस्या छ । बर्खा सुरु भएसँगै अवरुद्ध केही सडकमा जबर्जस्ती सवारी चलाइएको छ । 

बर्खायता सोती–माछाखोला, बारपाक–लाप्राक, थालाजुङ–भीरसिं सडकमा सवारी सञ्चालन हुन नसकेका हुन् । लार्के सडकको ट्र्याक खुलेसँगै बर्खायाममा दोभानसम्म सवारी चल्थ्यो । अहिले सडक सफाइ नहुँदा माछाखोलासम्म पनि ठूला गाडी चल्न नसकेको धार्चे गाउँपालिका–७ लापुका सूर्य गुरुङले बताए । ‘ठाउँ–ठाउँमा साना पहिरा छन्, दसैं लाग्दासम्म पहिरो फाल्न सुरु भएको छैन,’ उनले भने, ‘पहिरो नपन्छाउँदा माछाखोलासम्म पनि ठूला गाडी चलेका छैनन्, दोभानसम्म त साना गाडी पनि जान सकेका छैनन् ।’

उक्त सडक भएर सिंगो चुमनुव्री गाउँपालिकावासी आउजाउ गर्छन् । सडक सफाइ नहुँदा उत्तरी गोरखाका स्थानीयको पैदल दूरी लम्बिएको छ । हिउँदमा दोभानसम्म सवारीमा पुगेको उपभोग्य सामग्री दोभानबाट खच्चडमार्फत ढुवानी हुँदै आएको थियो । अहिले माछाखोलाबाट खच्चडमार्फत ढ्वुानी गर्नुपरेको चुमनुव्री–३ का नवीन गुरुङले बताए । ‘दोभानसम्म गाडी नचल्दा चार घण्टाको बाटो धेरै हिँड्नुपर्छ,’ उनले भने, ‘दोभानसम्म गाडी चलेको भए ढुवानी भाडा पनि सस्तो हुन्थ्यो, गाडी नचल्दा ढुवानी भाडा पनि महँगो छ ।’

गोरखा–आरुघाट र लुइटेल–भच्चेक र बुंकोटको सडक कालोपत्र भए पनि यहाँका अन्य ग्रामीण सडक कच्ची छन् । कच्ची सडकमा बर्खे पानी जम्ने, पहिरो जाने र हिलाम्मे बन्दा सवारी मुस्किलले आउजाउ गरेका छन् । मसानेपाटी–पालुङटार सडकमा पानी बर्खाको बेला सडक हिलाम्मे बनेर सवारी आउजाउ प्रभावित बन्दै आएको छ । बर्खाले आउजाउ ठप्प बनेको उक्त सडकको बल्ल मर्मत सुरु भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मसानेपाटी–पालुङटार सडकको पनि ग्राभेल राख्ने र सफाइ गर्ने काम भइरहेको पालुङटार नगरपालिका–१ का वडाध्यक्ष कृष्ण परियारले जानकारी दिए । पालुङटार–१ अन्तर्गतका सडकको सफाइ बल्ल सुरु भएको हो । वडा कार्यालयले बाटो सफाइका लागि चार लाख छुट्याएको छ ।

बर्खा लागेसँगै पन्थ डी कटहरे हर्मी सडकमा सवारी सञ्चालन हुन सकेको थिएन । लुंगा हुँदै चापाभन्ज्याङ, सुन्दुर खोला हुँदै वरभन्ज्याङ सडकको पनि सफाइ थालिएको परियारले बताए । फूलपाती अगावै सवारी आउजाउमा सहज हुने तवरले बाटो मर्मत तथा सफाइ गरिएको छ ।

भत्किएको पालुङटार–९ बिर्दी पुलको पहुँच मार्ग पनि मर्मत हुन सकेको छैन । अहिले सवारी चुती खोलामा हेलिएर आउजाउ गर्दै आएका छन् । दसैंमा यात्रुको चापलाई ध्यान दिएर क्यूभन्दा बढी गाडी छुटाउने ग्रामीण क्षेत्रका यातायात सञ्चालन गर्दै आएको दरौंदी यातायात सेवा कम्पनी प्रालिका सञ्चालक समिति सदस्य अञ्जन खत्रीले बताए । ‘यात्रुको चापलाई मध्यनजर गरेर गाडी थप्छौं,’ उनले भने । बर्खाले बिगारेको केही ग्रामीण सडक भने सफाइ नहुँदा सवारी सञ्चालनमा समस्या भएको उनले बताए ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटकको पर्खाइमा डोल्फु क्षेत्र

पूर्वाधार निर्माणका काम गर्न नसक्दा पर्यटकहरु राराभन्दा माथि जान सकेका छैनन् 
राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासको डोल्फु क्षेत्र पर्यटकको पर्खाइमा छ । रारादेखि दुई दिनको पैदल यात्रापछि डोल्फु क्षेत्र पुग्न सकिन्छ । जहाँबाट मुगु, कोइजी मरक्कालगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

प्राचीन शैलीमा निर्मित प्रसिद्ध छायानाथ तीर्थस्थल, तामाखानी, तिहार गुम्बा, तिहार दोभानलगायत पर्यटकीय गन्तव्य पनि डोल्फु क्षेत्रमै छन् । तर पर्यटक पुग्न नसक्दा ती पर्यटकीय गन्तव्य सुनसान बनेका छन् ।

साविक डोल्फु गाविस रेडपान्डा, सेतो प्रजातिको कस्तूरी, नाउर, घोरल, मृगलगायतका लोपोन्मुख वन्यजन्तुका लागिसमेत प्रसिद्ध छ । डोल्फु जाँदा बाटोमा साना–ठूला झन्डै डेढ सय झरना पनि हेर्न पाइने स्थानीय छिरिङ लामाले बताए । ‘पर्यटकहरूले यहाँ घुम्ने ठाउँ भनेको रारा मात्र बुझे,’ उनले भने, ‘तर राराजस्तै प्राकृतिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका दर्जनौं गन्तव्यहरू पनि यहाँ छन् ।’

उनले प्रचारप्रसारको कमी, पूर्वाधार विकास नहुनु, भौगोलिक विकटतालगायत कारण डोल्फु र आसपासका क्षेत्रमा पर्यटक पुग्न नसकेको बताए । उनका अनुसार डोल्फुमै पहाड छेडेको ठूलो प्वाल छ । जसलाई स्थानीयले ‘तिब्बत हेर्ने दुलो’ भन्ने गरेका छन् । डोल्फु नजिकैको मुगुगाउँमा पर्यटकका लागि झन्डै एक दर्जन घरमा होमस्टेको व्यवस्था गरिएको उनले बताए । जहाँ स्थानीय परिकारदेखि तिब्बती परिकार चाख्न पाइन्छ ।

कान्जिरवा हिमालसहित माथिल्लो मुगुको पुलु, किम्री, माग्री, किम्रीलगायत गाउँहरूमा झन्डै १२ सय प्राचीन गुम्बा र चैत्य रहेको स्थानीय कल्सान लामाले बताए । ‘लामा संस्कृतिबारे अध्ययन गर्नेहरूका लागि पनि यो ठाउँ महत्त्वपूर्ण छ,’ उनले भने, ‘हाम्रा अधिकांश रीतिथिति तिब्बतसँग मिल्ने भएकाले अध्ययता र अन्य पर्यटक पनि यहाँ आउन सक्छन् ।’

पुवागाउँमा मात्रै झन्डै डेढ सय गुफा रहेको उनको भनाइ छ । उनका अनुसार माथिल्लो मुगु यार्चागुम्बु, पाँचऔले, अत्तिस, कटुकी, भोल्तेलगायत जडीबुटीको भण्डार पनि हो । पर्यटन व्यवसायी राजु कार्कीले रारालाई केन्द्रबिन्दु बनाएर पर्यटकहरूलाई डोल्फु क्षेत्रमा घुमाउने गरी नक्सा निर्माणलगायतको काममा पहल भइरहेको बताए ।

ग्रामीण पहुँच कार्यक्रमले गमगढीदेखि चंखेली हिमालसम्म पुग्ने सडक भर्खरै निर्माण गरेकाले रारा आउने पर्यटकलाई माथिल्लो मुगु घुमाउने गरी योजना बनाइरहेको छायानाथरारा–१४ का वडाध्यक्ष जुनबहादुर बडुवालको भनाइ छ । उनका अनुसार गाडीबाट रारादेखि चंखेली हिमालको फेदीसम्म डेढ घण्टाको समयमै पुग्न सकिन्छ ।

‘रारा आएका पर्यटकलाई छायानाथ तीर्थस्थल र ऋणमोक्षलगायत ठाउँमा पुर्‍याउन सके यहाँको आर्थिक कारोबारले फड्को मार्छ,’ उनले भने, ‘तर स्थानीय तहमा आउने थोरै बजेटले पूर्वाधार निर्माणका काम गर्न नसक्दा पर्यटकहरू राराभन्दा माथि जान सकेका छैनन् ।’

प्रकाशित : आश्विन १५, २०७९ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×