कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक मापदण्ड मिचेर घरैघर

प्रकाश बराल

बागलुङ — तीन दशकअघि पोखरा–बागलुङ राजमार्ग निर्माण गर्दा सडकको मापदण्ड ३० मिटर थियो । सडक भने साँघुरो बन्यो । बागलुङ नगरपालिकाले नगरक्षेत्रभित्रको सडकलाई राजमार्ग नमानी पहुँच मार्ग नामकरण गरेर २१ मिटर मात्रै कायम गराइयो ।

सडक मापदण्ड मिचेर घरैघर

उक्त २१ मिटर पनि मिचेर नगरपालिकामा बनेका घरटहराले अहिले सडक साँघुरिएको छ । अहिले सडक मापदण्ड मिचेर घरैघर बनेका छन् । पहिला बनेका घरको कारण नयाँ बन्नेले पनि मापदण्ड मिचेका छन् ।

बागलुङ बजारको सडकमा फुटपाथ छैन । त्यसैले नालीमै जोडेर बनेका घरटहरा, जथाभावी राखिने निर्माण सामग्रीसमेतले दुर्घटनाको जोखिम बढाएको छ । ‘फुटपाथ नहुँदा पैदलयात्री सडकमै हिँड्छन् । कैयौंपटक दुर्घटना भएको छ,’ स्थानीय शान्ति रानाले भनिन्, ‘निर्माण सामग्रीले पनि यात्री र सवारीलाई हैरानी पारेको छ ।’

पैदल यात्री सडकमै हिँड्नुपर्ने अवस्था छ । ‘सवारीको चाप बढेपछि कार्यालय समयमा अधिकांश चोकमा जामले हैरान परिन्छ,’ स्थानीय चालक ज्योति नेपालीले भने, ‘गाडी साइड लगाउने ठाउँ नभएर धेरै समस्या परेको छ ।’ नगरभित्र ट्राफिकले एकतर्फी नो पार्किङको व्यवस्था गरे पनि अधिकांश स्थानमा दोहोरो पार्किङले बजार अस्तव्यस्त बन्दै आएको छ ।

सडकको मापदण्डविपरीत बनेका घरटहरा भत्काउन बागलुङ नगरपालिकाले तीन वर्षअघि नै गरेको पत्राचार फिर्ता लिएपछि यो समस्या बढ्दै गएको हो । पोखरा बागलुङ राजमार्गकै मापदण्डभित्र बनेका घरटहरा भत्काउन पत्राचार गरे पनि राजनीतिक दबाबले फिर्ता भएको हो । बानपा–२ ले ३ वर्षअघि १८ वटा घरटहरा तत्काल भत्काउन सार्वजनिक सूचनासमेत जारी गरेको थियो । तर एकाएक आफ्नै निर्णय फिर्ता लिएपछि बजारभित्रको सडक विस्तार अभियान प्रभावित भएको हो । नयाँ जनप्रतिनिधि आएपछि सडक चौडा पार्नेबारे कुनै पहल भएको छैन ।

मध्यपहाडी लोकमार्ग हाल बागलुङ नगरपालिका–१ को बाङगेचउरदेखि वडा ४ को उपल्लाचौरतर्फ जाने रुट तय भएको छ । त्यसबाहेक वडा २ को ट्राफिक चोकलाई पोखरा बागलुङ खण्डकै जिरो किलो मानिएको थियो । उक्त स्थानसम्म पुरानै मापदण्ड पनि पूरा नभएको हो । पुरानो मापदण्डमा सडकको बीच भागबाट साढे १० मिटर छाडेर घरटहरा बनाउनुपर्नेमा केही घरले पूरा गरेका थिएनन् । केही पुरानै घर अहिलेसम्म नभत्काएकोले सडक चौडा बन्न नसकेको हो ।

पुरानो मापदण्ड पनि मिचिएर घरैघर भएपछि सडकमा दोहोरो सवारी पार गर्नसमेत कठिन भएको हो । बागलुङको ट्राफिक चोक र रामरेखा क्षेत्रका सडक सबैभन्दा साँघुरा छन् ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?