१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बजारमा मुस्ताङे स्याउ छ्यापछ्याप्ती

प्रकाश बराल

बागलुङ — दुई साता भयो बागलुङमा चीन र भारतबाट स्याउ आएको छैन । बरु बजारमा भेटिने मुस्ताङको स्याउ प्रतिकेजी २ सय रुपैयाँमा बिक्री भएको छ । अधिकांश उपभोक्ताले मुस्ताङकै स्याउ खोज्ने भएकाले धेरै दिनदेखि अन्य स्याउ मगाउनै छाडेको स्थानीय हीरादेवी शर्माले बताइन् ।

बजारमा मुस्ताङे स्याउ छ्यापछ्याप्ती

‘मुस्ताङको स्याउ मीठो र सस्तो छ,’ शर्माले भनिन्, ‘अहिले कसैले पनि अरू स्याउ खोजेकै छैनन् ।’ चीन र भारतबाट आउने स्याउ कम्तीमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म पर्छ ।

थोक व्यवसायीले पनि यतिबेला बाहिरको स्याउ नराखेको बताए । ‘ट्रकमा दैनिक मुस्ताङे स्याउ आएका छन्, त्यसैले अरू स्याउ केही समय बिक्दैनन्,’ थोक विक्रेता मधु केसीले भने, ‘सदरमुकाममा मात्र हैन गाउँगाउँमा पनि मुस्ताङकै स्याउ छन् ।’

दसैं मनाउन घर जान निस्केकाले पनि मुस्ताङकै स्याउ खोज्ने भएपछि अन्य स्याउ र फलफूलसमेत बजारमा छैनन् । मुस्ताङका बगान फुगेर थोक वित्रेताले प्रतिकेजी ८० रुपैयाँसम्ममा खरिद गरेका छन् । कामविशेषले मुक्तिनाथ पुगेकाले खुद्रा खरिद गर्दा भने उपभोक्ताले मुस्ताङमै प्रतिकेजी १ सय ३० रुपैयाँ तिर्ने गरेका छन् । ‘कागबेनी पुगेर फर्कंदा केही स्याउ ल्याउन खोजेको थोकमा नकिने महँगो पर्ने रहेछ,’ स्थानीय प्रेमप्रसाद पोखरेलले भने, ‘छुट पाउन कम्तीमा दुई/चार कार्टुन नै किन्नुपर्ने रहेछ ।’

मुस्ताङ जाने सडक अझै जोखिममा छ । त्यसैले मुक्तिनाथ गएर फर्कनेले स्याउ किनेर ल्याउनुभन्दा सोझै बागलुङ र बेनी झरेर खरिद गर्न सजिलो भएको बताउँछन् । ‘बोकाएर ल्यायो, बाटैमा बास बस्नुपरे सास्ती हुन्छ, त्यसैले बेनी झरेर मात्रै स्याउ किनेर घरमा पठायौं,’ पोखरेलले भने, ‘उता सबै पोको पार्नुपर्छ, बजारमा आएर किनेपछि छानेर लैजान पनि पाइन्छ ।’ सडक जोखिम भएकाले भाडासमेत महँगो तिर्नुपर्दा चाहेर पनि २ सय घटीमा बेच्न नसकिएको फलफूल व्यवसायी संघका अध्यक्ष ध्रुवप्रसाद शर्माले बताए । वर्षा अझै नरोकिएकाले मेवालगायत अन्य फलफूल पनि बजारमा छैनन् ।

अघिल्ला वर्ष दसैंको मुखमा १ सय ८० रुपैयाँसम्ममा स्याउको खुद्रा मूल्य थियो । अहिले केही महँगो भएको हो । ढुवानी भाडा महँगो भएकाले अघिल्ला वर्षको तुलनामा यो मूल्य सामान्य भएको केसीले बताए । ‘एक केजी तरकारी नै दुई सय रुपैयाँ पर्न थालिसक्यो, स्याउ त पर्ने नै भयो,’ शर्माले भनिन्, ‘थोक खरिद, ढुवानी, स्टोरलगायतको खर्च कटाउँदा हामीलाई पनि फाइदा छैन ।’

प्रकाशित : आश्विन १४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?