१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चाड नजिकिएसँगै बजार अनुगमन

उपभोक्ताले देख्ने गरी मूल्यसूची नराखिएको, म्याद गुज्रिएका खाद्य तथा पेयपदार्थ राखिएको, व्यवसाय दर्ता नै नगरिएको भेटियो 
सम्झना रसाइली

तनहुँ — चाडपर्व नजिकिएसँगै जिल्लाका पालिकाले बजार अनुगमन तीव्र पारेका छन् । खाद्य, तरकारी, फलफूल, फेन्सी तथा मदिरा पसलमा अनुगमन तीव्र पारिएको हो । शुक्लागण्डकी नगरपालिकाले असोज ६ देखि १० गतेसम्म खाद्य, तरकारी तथा फलफूल पसलमा अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए ।

चाड नजिकिएसँगै बजार अनुगमन

उनले भने, ‘चाडपर्वको समयमा उपभोक्ता नठगिउन् र व्यापारी पनि जान अन्जानमा गलत काम गर्नबाट सचेत बनुन् भनी अनुगमन गरिएको हो ।’

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका बन्दना पन्थ तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले वडा २ देखि १० सम्मका १ सय ३८ पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएको सामान जफत गरिएको छ भने उद्देश्यविपरीत सञ्चालन गरिएको शुक्लागण्डकी–५ को एक किराना पसल सिलबन्दी गरिएको न्यौपानेले बताए ।

‘बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामान र पेय पदार्थ जफत गरी नष्ट गरिएको छ,’ उनले भने, ‘पालिकाको अनुमति पत्रबिना नै सञ्चालन गरिएका पसललाई भने वडाबाट अनुमतिपत्र लिएर सञ्चालन गर्न सुझाव दिइएको छ ।’ अनुगमनका क्रममा १५ वटा व्यवसाय वडामा नवीकरण गर्न, ४ वटा दर्ता गर्न, एउटालाई घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्न सुझाइएको छ । अहिले अनुरोध तथा सुझाव दिएर छाडिएको र अटेर गरे सम्बन्धित निकायमा कारबाहीको लागि माग गर्ने उनले बताए ।

भिमाद नगरपालिका क्षेत्रमा अनुगमन गर्दा अधिकांश व्यवसायीले व्यवसाय दर्ता नै नगरेको भेटिएको नगरपालिकाका अधिकृत अजय सुवेदीले बताए । उनले भने, ‘पसल दर्ता नै नगरी सञ्चालन गरेको भेटिएको छ । उनीहरूलाई जतिसक्दो चाँडो दर्ता गरी व्यवसाय सञ्चालन गर्न भनिएको छ ।’

पालिकाभित्रका ९० वटा खाद्य तथा तरकारी पसलको अनुगमन गर्दा उपभोक्ताले देख्ने गरी मूल्यसूची नराखिएको, म्याद गुज्रिसकेका पेय पदार्थ, बिस्कुट, मसला, घिउ राखिएको, ग्रामीण क्षेत्रका पसलले आन्तरिक राजस्व कार्यालयबाट अनुमति नै नलिई मदिरा बेचबिखन गरेको भेटिएको उनले बताए । सुवेदीले भने, ‘म्याद गुज्रिएका सामान जफत गरिएको छ र व्यवसाय पनि दर्ता गरी सञ्चालन गर्न भनिएको छ ।’

चाडपर्वमा खाद्यदेखि फेन्सी सामानमा व्यापारीले उपभोक्तालाई म्याद गुज्रिएको सामान बेचबिखन गर्छन् कि, पसलमा मूल्यसूची नराखी महँगो रकममा सामान बेचबिखन गर्छन् कि भनी व्यापारी र उपभोक्ता दुवैलाई सचेत गराउनका लागि चाडपर्व लक्षित बजार क्षेत्रमा तीव्र रूपमा अनुगमन गरिएको व्यास नगर उपप्रमुख इन्दिरा दरैले बताइन् । उनले भनिन्, ‘अघिल्ला वर्षभन्दा अहिले बजार सामान महँगो भएर आएका छन् । यहीमा पनि व्यापारीहरूले ठूलो नाफा लिएर उपभोक्तालाई मारमा पार्छन् कि भनेर नगरपालिकाबाट बजार क्षेत्रका प्रत्येक पसलहरूमा अनुगमन गरिरहेका छौं ।’

भानुमा भएन अनुगमन

भानु नगरपालिकाले भने अनुगमन अगाडि बढाउन नसकेको अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख उमा गोतामेले बताइन् । ‘पालिकाको अन्य बैठक र न्यायिक समितिको काम हेर्दाहेर्दै अनुगमन गर्न समय नै भएन’ उनले भनिन् ।

ग्रामीण क्षेत्रमा पहिलेदेखि नै वडास्तरबाट अनुगमन भए पनि बजार क्षेत्रमा अनुगमनलाई अगाडि बढाउन नसकिएको उनले बताइन् । उनले भनिन्, ‘वडाध्यक्ष र अनुगमन समितिका सदस्यलाई दसैंको बिदा हुनु अगाडि नै समय मिलेसम्म बजार क्षेत्रका पसलमा अनुगमन गर्न भनिएको छ ।’

चाडपर्वलक्षित अनुगमनको क्रममा शुक्लागण्डकीस्थित एक किराना पसल र डुम्रेस्थित मिठाई पसललाई कारबाहीको दायरामा ल्याउन सम्बन्धितलाई पत्राचार गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख प्रशान्त पोख्रेलले बताए । उनले भने, ‘पालिकाका जनप्रतिनिधि र कर्मचारीसहितको अनुगमनमा अधिकांश दर्ताबिना व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।’ डुम्रेस्थित एक मिठाई पसलबाट १० किलो ढुसी लागेको मिठाई, पसलमा खाद्य तथा अखाद्य बस्तु मिसाएर राखिएको, खराब तेलको प्रयोगजस्ता भेटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?