३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तातोपानीमा खुल्यो सुविधासम्पन्न होटल

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण–२ स्थित भुरुङ तातोपानीमा कालीगण्डकी करिडोरका पर्वत, बागलुङ, म्याग्दी क्षेत्रकै सबैभन्दा ठूलो लगानी र क्षमताको होटल सञ्चालनमा आएको छ । 

तातोपानीमा खुल्यो सुविधासम्पन्न होटल

अन्नपूर्ण तथा नीलगिरी बेस क्याम्प तथा हिमालपारीको मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी ३५ करोड लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा आएको हो । २५ डिलक्स, ८ स्वीट रुमसहित ५७ गेस्टरुम रहेको ७ तले होटल घटस्थापनाको दिनदेखि औपचारिक सञ्चालनमा आएको हो । होटलमा एक साथ तीन सय पाहुना अट्न सक्छन् । एक सय ५० जना अट्ने सुविधायुक्त सभाहल छ ।

‘मुस्ताङ भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक, अन्तरिक तथा भारतीय पर्यटकको आगमन राम्रो भएको छ । बाह्य पर्यटक थोरै, आन्तरिक पर्यटक नै धेरै आएका छन्,’ होटल सञ्चालक राजु हमालले भने, ‘कोरोनाले अर्थतन्त्र थला परेपछि तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या घट्ने र आन्तरिक पर्यटकको खर्च क्षमता खस्केको यस्तो अवस्थामा होटल सुरु गरेका छौं । पर्यटन फेरि लयमा फर्कने विश्वास छ ।’ कोरोना कहरले निर्माण समयावधि लम्बिएको र निर्माण सामग्रीको मूल्य अधिक वृद्धिले होटल निर्माण लागत पनि धेरै बढेको उनले बताए ।

राउन्ड अन्नपूर्ण, राउण्ड धौलागिरी, अन्नपूर्ण–धवलागिरी सामुदायीक पर्यापदमार्ग र हिमालपारीको मुस्ताङ भ्रमणमा आउने पर्यटकको संगमस्थलमा अवस्थित यहाँको प्राकृतिक तातोपानी (हटस्प्रिङ) पर्यटक विच विश्वभर चर्चित छ । त्यस्तै बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानीमा बेनीका व्यवसायी प्रमोद श्रेष्ठले १८ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रिङ’ होटल सञ्चालनमा ल्याएका छन् । यसमा ६ वटा स्वीटसमेत ३८ वटा गेस्टरुम रहेको होटलमा १ सय ५० जना अट्ने सभाहल छ ।

‘पर्यटन क्षेत्र पुनः लयमा फर्कने कुरामा विश्वास छ । अहिलेसम्म हामी आन्तरिक पर्यटककै भरमा चलेका छौं,’ श्रेष्ठले भने, ‘अहिले व्यवसायीले खोजेजस्ता पर्यटक नै आएका छैनन् ।’

प्रकाशित : आश्विन १४, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?