एकातिर नाका बन्द, अर्कोतिर पहिरो

हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–६ लोक्पास्थित सर्दिभिर र डुयुखोला खण्डमा गएको पहिरो दुई महिनादेखि नरोकिँदा उत्तरी गोरखाका दुई वडामा खाद्यान्न अभाव हुन थालेको छ । पहिरोले दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड कट्न सकेको छैन । 

एकातिर नाका बन्द, अर्कोतिर पहिरो

लोक्पा पहिरोले आउजाउ अवरुद्ध बन्दा चुमनुव्री–६ चुम्चेत र ७ को छेकम्पारका झन्डै ६ सय घरधुरीका स्थानीयलाई खाद्यान्नसँगै आउजाउमा समस्या थपिएको हो ।

‘गाउँ आउने बाटो छैन, रासन सकिदै जान थालेको छ,’ छेकम्पारका लोप्साङ लामाले भने, ‘दुई महिनाअघि ढुवानी भएर स्टक बसेको चामलले कति दिन पुगोस् ? चामल, नुन, तेल, खुर्सानी, चिनि, चिउरा, बिस्कुट सबै सकिँदै छ, गाउँका पसल रित्तिँदै गएका छन् ।’ गोरखा तल्लो बजारबाट सामान ल्याउन लोक्पा पहिरोले छेकेको स्थानीयलाई नाका बन्द हुँदा तिब्बतबाट पनि दैनिक उपभोग्य सामग्री ल्याउन पाएका छैनन् ।

कोरोना महामारीको बहानामा चीन सरकारले ३ वर्षयता छेकम्पारको नाका एकतर्फी बन्द गरेको छ । कोरोना जोखिमअघिसम्म तिब्बती सीमा क्षेत्रबाट स्थानीयले उपभोग्य सामग्री खरिद गर्थे । ‘यस्तै अवस्था केही दिन रह्यो भने खाद्यान्नको संकट आउँछ,’ लामाले भने, ‘चामल सकिएपछि गहुँको पिठो र ढिडोले छाक टार्नुपर्ने बाध्यता छ, गाउँको उब्जनीले बाह्रै महिना पुग्दैन ।’ लोक्पामा अघिल्लो वर्षको वर्षायामबाट झर्न सुरु भएको पहिरोले यहाँका स्थानीयले डेढ वर्षयता समस्या झेल्दै आएका छन् ।

यसवर्ष पनि बर्खासँगै २ महिनाअघिदेखि लगातार पहिरो खसेको चुमनुव्री–६ का वडाध्यक्ष सरोज लामाले बताए । ‘दुई महिनाको बीचमा मौसम सफा भएपछि दुई पटकसम्म पहिरो पन्छाउने प्रयास गर्‍यौं, मौसमको भर नै छैन, आज बाटो बनायो, भोलि नै पहिरो जान्छ,’ उनले भने । वडा कार्यालयको अगुवामा गतसाता ३ दिनसम्म लोक्पा पहिरो पन्छाउन ९ जना खटिएका थिए । बाटो मर्मतकै क्रममा पहिरो खसेपछि अहिले काम रोकिएको छ ।

डुयुखोला र सर्दीबीचको झन्डै ८ सय मिटर पैदलमार्गमा पहिरो झरेको उनले जानकारी दिए । उक्त पहिरोका कारण चुम्लिङ, खार गुम्बा, चुम्चेत, काजु, सिप्चेत, रेन्जम, छेकम, जोङ, लेरु, लामागाउँ, लार, बुर्जी, निले, छुले लगायतका एक दर्जन गाउँका स्थानीयलाई आउजाउमा समस्या परेको हो ।

‘अर्को वैकल्पिक बाटो पनि छैन, स्थानीय जबर्जस्ती हिँडेका छन्’, उनले भने, ‘भारी बोकेको खच्चड त कट्न सक्दैन ।’ छेकम्पार र चुम्चेत पुर्‍याउन खच्चडमार्फत ढुवानी भएको उपभोग्य सामग्री पनि लोक्पामा रोकिएको छ । सडक सञ्जालले नछोएको उक्त क्षेत्रमा खच्चडमार्फत उपभोग्य सामग्री ढुवानी हुने गर्छ । ९/१० ग्रुप खच्चडका सामग्री पहिरो कट्न नसकेपछि लोक्पामा रोकिएको सरोजले जानकारी दिए ।

‘बाटो खुले कटाउन सकिन्छ भनेर लोक्पामा सामान ल्याएर राखेका छन्, मौसम खुलेपछि फेरि बाटो मर्मत सुरु हुन्छ,’ उनले भने । मनास्लु क्षेत्रअन्तर्गत चुम क्षेत्र पुग्ने विदेशी पर्यटक समेत लोक्पा पहिरोले कट्न नसकेको सरोजले जानकारी दिए । सिजनका बेला बाटोका कारण विदेशी पर्यटक चुम क्षेत्र पुग्न नसक्दा होटल व्यवसायी पनि समस्यामा परेका छन् । गतवर्ष पनि लोक्पा भीरमा खसेको पहिरोले झन्डै चार महिना आउजाउमा समस्या परेको थियो ।

प्रकाशित : आश्विन १३, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?