म्यादी प्रहरीको लिखित परीक्षामा एक सय २१ प्रतिस्पर्धी अनुपस्थित

घनश्याम खड्का

म्याग्दी — आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि म्याग्दी जिल्लामा सञ्चालन गरिएको म्यादी प्रहरी छनोट प्रक्रियामा बुधबार लिइएको लिखित परीक्षामा माग भएको संख्याभन्दा थोरै प्रतिस्पर्धी सहभागी भएका छन् । शारीरिक परीक्षामा उत्तीर्ण भएका ९ सय ३३ जनामध्ये एक सय २१ जना लिखित परीक्षामा सहभागी नै भएनन् ।

म्यादी प्रहरीको लिखित परीक्षामा एक सय २१ प्रतिस्पर्धी अनुपस्थित

आम निर्वाचनमा सुरक्षाका लागि म्याग्दीमा ७ सय ३३ जना म्यादी प्रहरी माग भएकोमा ९ सय ८७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाई, तौल, दौड, सेटअप, पुसअप लगायत शारीरिक परीक्षामा ९ सय ३३ जना उत्तीर्ण भएका थिए ।

बुधबार जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बेनीको खुल्ला मञ्चको चौरमा लिएको लिखित परीक्षामा भने जम्मा ६ सय १२ जना सहभागी भए । शारीरिक परीक्षण उत्तीर्ण भएका तर लिखित परीक्षामा भने एक सय २१ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लिखित परीक्षा उत्तीर्ण उम्मेदवारलाई मौखिक परीक्षमा सहभागी गराइने छ ।

‘यसपटक म्यादी प्रहरीमा थोरै आवेदन परेकोमध्ये पनि आजको लिखित परीक्षामा त माग गरिएको आवश्यक संख्याभन्दा पनि धेरै कम सहभागी भएका छन्,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तीलक भारतीले बताए ।

छनोट भएका प्रतिस्पर्धीलाई १० दिने प्रशीक्षण हुनेछ । म्यादी प्रहरीको समयावधि ४० दिनको हुनेछ । यसका लागि उनीहरूले जम्मा तलब ३० हजार दुई सय ४० रुपैयाँ, खाद्यान्न वापत एकमुष्ठ सात हजार दुई सय, पोसाक तथा सामान खरिदमा ६ हजार रुपैयाँ पाउनेछन् ।

निर्वाचनका क्रममा म्याग्दी प्रहरीले बाटो खर्च १ हजार र बिमा सुविधा नेपाल सरकारले तोके अनुसार पाउने छन् ।

प्रकाशित : आश्विन १२, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?