२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठूला भ्रष्टाचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ठूलठूला भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन् । हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि पनि ठूला भ्रष्टाचारीलाई प्रमाण पुर्‍याएर कानुनी कठघरामा उभ्याउन जरुरी रहेको उनले बताए ।

ठूला भ्रष्टाचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ पोखरा कार्यालयले प्रतिवेदन बुझाउने क्रममा प्रदेश प्रमुख गुरुङले भ्रष्टाचारमुक्त गर्न नसकिने भन्दै न्यूनीकरण गर्न अख्तियारको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए ।

अल्पविकसित मुलुकमा भ्रष्टाचार बढी हुने भन्दै उनले यस व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्रात्मक) अन्तर्गत तीन तहकै सरकारलाई जनविश्वास प्राप्त गर्नका लागि आयोगको सक्रिय भूमिका आवश्यक रहेको बताए । ‘बढीभन्दा बढी निष्ठा, इमान्दारीताका साथ काम गरे ठूला मान्छे पनि समात्न सकिन्छ‚’ उनले भने, ‘आयोग नै कमजोर भयो भएर ठूला माछा भनिएकालाई नै समात्न नसके जनताको विश्वास पनि गुम्छ । हजारौं सहिदको बलिदानबाट प्राप्त संविधान नै खतरामा पर्छ ।’

कार्यपालिका‚ न्यायपालिका र व्यवस्थापिकामा विश्वास दिलाउनका लागि यस कार्यालयले लगनशीलता र तत्परताका साथ काम गरेको उनको भनाइ छ ।

उनले प्रमाणका साथ मुद्दा चलाएर फैसला गरी दण्डजरिवाना गरेमात्र सिस्टम र संस्थाप्रति विश्वास बढेर जाने बताए । अख्तियार अनुसन्धान आयोग प्रदेश कार्यालय पोखराकी प्रमुख पार्वती शर्माले बुझाएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा गण्डकी प्रदेशमा १ हजार १ सय १८ वटा उजुरी परेका छन्‚ जसमा ६ सय ९२ वटा उजुरी अघिल्लो वर्षका सरेर आएका हुन् भने सोही वर्षमा ४ सय २६ उजुरी परेका थिए । तीमध्ये ७ सय ७ उजुरी फर्छ्यौट भएका छन् भने बाँकी उजुरी ४ सय १२ वटा रहेका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?