१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

महिना दिनमा खुल्यो सडक

प्रकाश बराल

बागलुङ — बागलुङदेखि बलेवा हुँदै दक्षिणतर्फ जाने मुख्य सडक अवरुद्ध भएको महिना दिनपछि बल्ल खुलेको छ । मालढुंगा बलेवा हुँदै कुश्मिसेरा जाने सडक अवरुद्ध हुँदा सयौं यात्रुले सास्ती खेपेका थिए ।

महिना दिनमा खुल्यो सडक

असार र साउनमा पनि बन्द भएको यो सडक गत भदौ पहिलो साता तीन दिनमात्रै खुलेको थियो । भदौ ९ गते बन्द भएपछि एक महिना यहाँ पैदलयात्रु समेत पार गर्न जोखिम बनेको थियो । दसैंैमा गाउँ जाने यात्रुलाई लक्षित गरेर बागलुङ नगरपालिकाले लगानी गरी सडक खुलाएको हो । सोमबार र मंगलबार एक्सकाभेटर र स्थानीय मजदुर लगाएर सडकको अस्थायी ट्रयाक खुलाइएको हो ।

पहिरोले यो सडकको दुइटा घुम्ती बगाएको थियो । यो सडकको घुम्तीका कारण कालीगण्डकी करिडोरसमेत पटकपटक बन्द हुने गरेको छ । तीन वर्षअघि खसेको पहिरोले दक्षिण बागलुङवासीलाई निरन्तर सास्ती दिएको छ । कमजोर जमिनमा खसेको पहिरो अहिले धेरै ठूलो भइसकेको छ । झरी पर्नासाथ खस्ने पहिरोले सडक क्षतविक्षत बनाउने गरेको हो । सडक बोर्डमा सूचीकृत भएपनि तत्काल यातायात खुलाउन नगरपालिकाले लगानी गरेको हो ।

यातायात सञ्चालन गर्न नसकेपछि दक्षिण बागलुङवासीले पर्वतको कुश्मा हुँदै घुमाउरो बाटो हिँड्न बाध्य थिए । पैदलै यात्रा गर्नुपर्ने र खाद्यान्न तथा अत्यावश्यक सामान ढुवानी गर्न नपाएर सास्ती खेपेका थिए । कतिपयले छोटो दुरीमा पनि चर्को भाडा तिरेर यात्रा गर्न बाध्य थिए । ‘सडक नखुल्दा बीचमा रोकिएका जिपले ५ किमीकै ५ सय रुपैयाँसम्म लिए,’ वडा नंं १२ का अध्यक्ष कोपिलामणि शर्माले भने, ‘जनताले सास्ती खेपेका थिए, अस्थायी भएपनि सडक खुलेपछि राहत मिलेको छ ।’ झरी पर्दा पुन: पहिरो खस्ने डर भएकोले हिउँदमा दिर्घकालीन समस्या समाधानका ेलागि काम गर्नुपर्ने इञ्जिनियर त्रिलोचन गिरीले बताए । तीन वर्षअघि राजनीतिक पहुँचको आधारमा जथाभावी शाखा सडक खन्दा पहिरो खसेको थियो । पहिरोले झन्डै ४ किमी कालोपत्रे पनि बिग्रेको छ ।

प्रकाशित : आश्विन १२, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?