स्वास्थ्य संस्थामै सुत्केरी हुने बढे- गण्डकी - कान्तिपुर समाचार

स्वास्थ्य संस्थामै सुत्केरी हुने बढे

आमा र शिशुको स्वास्थ्य सुरक्षा हुने र भत्ता पनि पाउने भएपछि आकर्षण
प्रकाश बराल

बागलुङ — पहिलो बच्चा घरमै जन्माएकी गलकोट नगरपालिका–३ कि गोमा अर्गेजाले दोस्रो सन्तान स्वास्थ्य चौकीमा जन्माइन् । उनले चारपल्ट गर्भ परीक्षण पनि स्वास्थ्य संस्थामै गरिन् ।

फलस्वरूप उनले सरकारले दिने २ हजार रुपैयाँसहित गलकोट नगरपालिकाले स्वच्छ आमाका लागि दिने ४ हजार ६ सय रुपैयाँसमेत बुझ्न पाइन् । ज्यालामजदुरी गरेर खाने अर्गेजालाई काम गर्न नसक्दा पोषिलो खाने पैसा प्राप्त भयो ।

भिडियो एक्सरे सेवादेखि सुत्केरी प्रोत्साहन भत्ताले गलकोटमा होम डेलिभरी शून्य भएको छ । हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदीका अनुसार अन्य सेवा लिनेको पनि संख्या बढेको छ । हटियामा मात्र नभई गलकोट नगरपालिकाको ११ वटै वडामा दुई वर्षयता घरमा सुत्केरी कोही पनि नभएको उनले जानकारी दिए ।

गलकोट नगरपालिकाले सबै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी बनाएको छ । हटिया स्वास्थ्य चौकीमा चौबीस घण्टे सुत्केरी सेवासहित प्रयोगशालाको पनि व्यवस्था छ । रगत, दिसापिसाब र अन्य रोगको पनि यहाँ परीक्षण हुन थालेपछि पोखरा धाउनुपर्ने बाध्यता हटेको गलकोट नगरपालिका–७ की लक्ष्मी थापाले बताइन् । गलकोटका जुनसुकै स्वास्थ्य चौकीको बिरामी रेफर गर्नुपरे पनि तत्काल एम्बुलेन्स सेवासमेत छ ।

हटिया स्वास्थ्य चौकीमा मात्रै हरेक वर्ष २ सय ५० बढीले सुत्केरी सेवा लिने गरेका छन् । हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा विकास गरिएको छ । यहाँ पनि वर्षमा १ सय ५० बढीले सुत्केरी सेवा लिएका छन् भने अन्य स्वास्थ्य चौकीमा पनि ३० देखि ५० जनासम्मले सेवा लिएको मल्म स्वास्थ्य चौकीका प्रमुख अनिता कार्कीले बताइन् । मल्ममा यसअघि बर्थिङ सेन्टर थिएन ।

एक वर्षअघि स्थापना भएको सेन्टरमा अहिले पूर्णरूपमा सेवा प्रवाह भएको छ । कार्कीले भनिन्, ‘जटिल प्रकारका समस्या भएमात्रै हामीले अन्यत्र रेफर गर्छौं, नत्र ल्याब परीक्षणसमेत गलकोटमै हुने भएपछि समस्या परेको छैन ।’ पहिलो, दोस्रो र तेस्रो पटक गर्भ परीक्षणपछि केहीले भने स्वैच्छिक रूपमा पोखरा वा अन्य सहरी क्षेत्रमा पुगेर पनि सुत्केरी बनेका छन् । आफन्त भएका कारण उनीहरू त्यता गएको वडा नम्बर ७ का अध्यक्ष राजबहादुर थापाले बताए ।

ल्याब सेवाले गलकोटमा धेरै समस्या समाधान भएका छन् । हटियामा रहेको ल्याबबाट अघिल्लो वर्ष मात्रै ९ सय जनाले सेवा लिएकामा गत वर्ष ८ सय ६० जनाले सेवा पाएका थिए । फेयरमेड फाउन्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले हटियामा ल्याब, भिडियो एक्सरे, बेबी वार्मर र सूक्ष्मदर्शक यन्त्र सहयोग गरेको छ । अन्य सबै बर्थिङ सेन्टरमा आवश्यक पर्ने उपकरणसमेत दिएको छ । ‘स्वास्थ्य सामग्री र उपकरण नै सहयोग पाएपछि सेवाको गुणस्तरीयता बढेको छ,’ नगर स्वास्थ्य शाखाकी प्रमुख मीरा शर्माले भनिन्, ‘दक्ष जनशक्ति भएर पनि उपकरण अभावमा रोकिएका सबै सेवा सहजै चल्न सकेका हुन् ।’

गलकोट नगरपालिकाले तीन वर्षअघि नै चारपल्ट स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गरेको र स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता दिन थालेको थियो । यो सुविधा पाएकाले गाउँघरमा अनुभव बताएपछि सबैले सेवा लिन थालेको तथ्यांक छ । ‘स्वास्थ्य परीक्षण नगरेकै कारण आमा र शिशुको स्वास्थ्य समस्या भएको बुझेपछि यो निर्णय लिएका थियौं,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘अहिले त्यसको परिणाम देखिएको छ । कोही पनि घरमा सुत्केरी हुन खोज्दैनन् ।’

आफ्नो स्वास्थ्य सुरक्षा र प्रोत्साहन भत्ता दुवैले यो अवसर जुटाएको उनले बताए । स्वास्थ्य चौकी र बर्थिङ सेन्टरहरू सक्षम नहुँदा अधिकांश सेवाग्राही निजी क्लिनिकमा जाने गर्थे । हजारौं रकम खर्चेपछि सेवा नपाएर कोही ढिला गरी रेफर हुँदा आमा र शिशुको ज्यानै जोखिमसमेत भएकामा अहिले शून्यमा झरेको स्वास्थ्यकर्मी अञ्जना पुनले बताइन् ।

प्रकाशित : आश्विन १२, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

मर्स्याङ्दीमा खादाको सट्टा फूल

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रममा स्वागत गरिँदा प्रयोग गरिने जुनसुकै प्रकारको खादालाई रोक लगाएको छ । धार्मिक तथा व्यक्तिगत कार्यक्रममा भने रोक लगाइएको छैन । खादाको सट्टा फूलमाला प्रयोगमा जोड दिइने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार सरकारी पैसाबाट खादा किन्न गतवर्ष नै रोक लगाइएको थियो । 

पालिकामा व्यावसायिक रूपमा फूल खेती पनि सुरु भएको छ । केही स्थानीयले मौसमी फूलको खेती थालेका छन् । स्थानीय स्तरमै उत्पादन गरिएका फूललाई प्रवर्द्धन गर्न पनि पालिकाले सार्वजनिक कार्यक्रम, बैठक तथा भेलामा खादा प्रयोगमा रोक लगाएको हो । ‘खादा किन्दा पैसा लाग्छ । त्यो बाहिरबाट ल्याउनुपर्छ । हामीले फूल किन्दा यो रकम स्थानीय व्यवसायीलाई जान्छ । यसले स्थानीयलाई फाइदा पुर्‍याउँछ,’ उनले भने ।

स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवर्द्धन र बजारीकरण साथै वातावरणीय असर न्यूनीकरण गर्न पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा प्रतिबन्ध लगाएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । उनका अनुसार कार्यपालिका बैठकले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग, यसको बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जनमा वृद्धि र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गरी निर्णय कार्यान्वयन गर्न पालिकाले सबै सरोकारवालासँग अपिलसमेत गरेको छ ।

मर्स्याङ्दी कृषि फार्मका प्रवर्द्धक नवीनराज कुइँकेलले पालिकाको निर्णयबाट फूल खेती गर्दै आएका किसानमा उत्साह छाएको बताए । ‘गाउँपालिकाको निर्णयले अब स्थानीयस्तरमा उत्पादित फूलले स्थानीयस्तरमै बजार पाउनेमा ढुक्क छौं,’ उनले भने । उनका अनुसार मर्स्याङ्दी कृषि फार्मले वडा ९ मा ३ रोपनी र भलामचौर मृचे नमुना कृषि फार्मले १० रोपनीमा सयपत्री फूल खेती गरेको छ । दुवै फार्ममा बाह्रै महिना उत्पादन हुने गरी फूल खेती गरिएको उनले बताए ।

दुवै फार्मले गतवर्षबाट फूल खेती गरेको हो । उक्त फूल सदरमुकाम बेंसीसहरका औपचारिक तथा अनौपचारिक कार्यक्रममा समेत प्रयोग हुने गरेको छ । फूलको माग बढ्दै गएको र फूल खेतीले राम्रो बजार लिएको कुइँकेलले दाबी गरे । ‘हामीले खादाको विरोध गरेका होइनौं । तर, खादा किन्ने पैसा फूलमा लगानी गर्दा यसले स्थानीय किसानलाई फाइदा पुग्छ । व्यवसायीकरणमा थप टेवा पुग्छ । वातावरण प्रदूषण हुनबाट रोकिन्छ । पुँजी गाउँमै रहन्छ भन्ने हो,’ उनले भने ।

प्रकाशित : आश्विन १२, २०७९ ११:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×