१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चाडपर्वमै बजार सुनसान

कोरोनाका कारण अर्थतन्त्र चलायमान नहुँदा र आयातित सामानमा महँगी बढ्दा बजार चहलपहलमा कमी
सम्झना रसाइली

तनहुँ — दसैं भित्रिइसक्दा पनि तनहुँका बजार क्षेत्र सुनसान छन् । चाडपर्वका लागि किनमेल गर्नेहरू बजार नझर्दा सहर सुनसान हुन पुगेका हुन् । ग्रामीण क्षेत्रको बजारका रूपमा चिनिने सदरमुकाम दमौली पनि यतिबेला सुनसान छ ।

चाडपर्वमै बजार सुनसान

व्यवसायी दिनभरि ग्राहकको प्रतीक्षामा बसे पनि अक्कलझुक्कल मात्र बजार क्षेत्रमा ग्राहक देखा पर्छन् । अघिल्लो वर्ष तीज लगत्तै बजार क्षेत्रमा छुट्टै चहलपहल हुने गर्दथ्यो तर अहिले भने पसलमा मुस्किलले एक–दुई जना ग्राहक आउने गरेको व्यास नगरपालिका–२ स्थित फेन्सी व्यवसायी प्रमिला श्रेष्ठले बताइन् ।

‘घटस्थापनाको ४/५ दिनअघिदेखि पसल ग्राहकले भरिभराउ हुन्थ्यो । एक–दुई जनाले सम्हाल्न नसकेर चाडपर्वको समयमा कर्मचारी थप गर्नुपर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त सुक्खा छ । बजारमै मान्छे छैनन् । पसलमा कताबाट आउन् ? दसैंमा राम्रो व्यापार होला भनेर ५ जना कर्मचारी थपियो । अब व्यापार नै नभए कामदारलाई तलब कताबाट दिने भन्ने चिन्ता छ ।’

अघिल्ला वर्ष पसलमा ग्राहकको भीडभाडले खाना/खाजा पनि समयमा खान नपाएको सम्झँदै उनले भनिन्, ‘अहिले त आराम छ । पहिले एकै दिनमा थोरैमा २ लाखदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको व्यापार भएको थियो । अहिले एक लाख पनि पुग्छ कि पुग्दैन भन्ने चिन्ता छ ।’ जिल्लाको दमौली, डुम्रे, खैरेनी, दुलेगौंडा, आँबुखैरेनी, थर्पुलगायत बजार क्षेत्रमा विशेषगरी ग्रामीण क्षेत्रका ग्राहक किनमेलका लागि आउने गर्छन् ।

तर पछिल्लो समय कोरोनाका कारण धेरैले रोजगारी गुमाएर गाउँ फर्की गाउँमै सानोतिनो खाद्यान्नको पसल गरी बसेका छन् । कोरोनाकै असरका कारण यतिबेला मानिसको खर्च गर्ने क्षमता पनि कम भएको छ । आर्थिक पाटो कमजोर भएका कारण उनीहरू बजार क्षेत्रमा आएर किनमेल गर्ने पनि कम भएको हो ।

ऋणधन गरी भाँडामा कोठा लिएर व्यापार व्यवसायी गर्नेहरू चाडपर्वमा पनि व्यापार नहुँदा मर्कामा परेको बताउँछन् । ‘बजारमा अन्य दिनमा देखिने जति चहलपहल पनि छैन । पसलमा मुस्किलले दुई–तीन जना देखिन्छन्,’ फेन्सी व्यवसायी कविराज श्रेष्ठले भने, ‘चाडपर्वकै लागि भनेर लगानी ठुलो छ । कोठाको भाँडा, लगानी उठाउने भनेकै यही समय हो तर व्यापार भने शून्य जस्तै छ ।’

बढ्दो महँगीका कारण पनि व्यापार हुन नसकेको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारका व्यवसायी हरि थापाले बताए । ‘स्वदेशी उत्पादन केही छैन, सबै आयातित सामान महँगिएर आएको छ,’ उनले भने, ‘कोभिड–१९ का कारण आर्थिक कारोबार चलायमान नभएको र प्रायः मानिसमा खर्च गर्ने क्षमता कम भएकाले चाडपर्व नजिकिए पनि व्यापार भने शून्य छ ।’

कोभिड–१९ को असर, बैंक तथा वित्तीय संस्थाले ऋणधनमा लगानी नगर्दा र वस्तुको मूल्य वृद्धि भइदिँदा व्यापारमा असर परेको उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र श्रेष्ठ बताउँछन् ।

‘कोरोनाको असर बल्ल देखिएको छ । अहिले मानिसहरूसँग खर्च गर्नलाई त्यति पैसा छैन,’ उनले भने, ‘त्यहीमाथि हाम्रो आफ्नै उत्पादन नभएकाले गर्दा खाद्यवस्तुदेखि फेन्सी सामान सबै महँगिएर आएको छ । त्यही कारणले पनि व्यापार राम्रो हुन सकिरहेको छैन ।’

चाडबाडमा खाद्यान्नदेखि लत्ताकपडा व्यापारीले उपभोक्तासँग महँगो रकम लिए/नलिएको जाँच गर्न बजार क्षेत्रमा तीव्र रूपमा अनुगमन गरेको व्यास नगर उपप्रमुख इन्दिरा दरैले बताइन् ।

उनले भनिन्, ‘अघिल्ला वर्षभन्दा अहिले बजारमा सामान महँगो भएर आएका छन् । यसैमा पनि व्यापारीले ठूलो नाफा लिएर उपभोक्तालाई मारमा पार्छन् कि भनेर नगरपालिकाबाट बजार क्षेत्रका प्रत्येक पसलमा अनुगमन गरिरहेका छौं ।’

प्रकाशित : आश्विन ११, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?