१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दसैंलाई नयाँ नोट आएन

कान्तिपुर संवाददाता

म्याग्दी — नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज २ देखि नै नयाँ नोट वितरण थाले पनि म्याग्दीमा भने अझै आइपुगेको छैन । गाउँ–गाउँबाट दसैंको किनमेल गर्ने र नयाँ नोट साट्न आएका सेवाग्राहीलाई बैंकले पुराना र झुत्रा नोट दिएर फर्काउने गरेका छन् । जिल्लामा नोट कोष सुविधा लिएको नेपाल बैंक लिमिटेडले राष्ट्र बैंकले नै नयाँ नोट नपठाएकाले अन्य बैंक तथा सर्वसाधारणलाई नयाँ नोट दिन नसकेको बताएको छ ।

दसैंलाई नयाँ नोट आएन

‘राष्ट्र बैंक पोखराबाट बुधबार मात्र नयाँ नोट पठाउने भनेको छ । त्यो पनि कति आउने हो टुंगो छैन,’ नेपाल बैंक बेनी शाखा प्रबन्धक मोहन लामिछानेले भने, ‘दसैं बिदा हुन दुई दिनअघि मात्र नयाँ नोट आउँदा वितरणमा हैरानी हुन्छ । अन्य बैंकलाई पनि पुर्‍याउनुपर्‍यो, नेपाल बैंकले मात्र नयाँ नोट दिने भएकाले सर्वसाधारणको लाइन व्यवस्थापन गर्नै समस्या हुन्छ ।’

बैंकले खुद्रा पैसा नदिँदा सर्वसाधारण ठूला व्यापारीको दैलोमा पुग्न थालेका छन् । बैंकले नयाँ नोट नदिएपछि व्यापारीले पनि खुद्रा पैसा लुकाउन थालेका छन् । ग्रामीण भेगबाट दसैंमा किनमेल र खुद्रा पैसा साट्न आएका सर्वसाधारणको नयाँ नोट मात्र होइन खुद्रा पैसा नै नपाएको गुनासो छ । सहरमा झरेका अभिभावक तथा विद्यार्थी स्कुल, कलेज बन्द भएसँगै गाउँ फर्कने भएकाले घर तथा आफन्तलाई नयाँ नोट लैजान घटस्थापना अघि खुद्रा पैसा साट्नेको चटारो हुन्छ ।

‘गाउँगाउँमा दसैं लक्षित मेलाजात्रा लाग्ने र चहलपहल बढ्ने भएकाले सहर झरेका अभिभावक घर, आफन्त र छिमेकीलाई समेत आवश्यक नयाँ नोट बोकेर गाउँ जान्छन् । त्यसैले यहाँका केही ठूला व्यापारीले तीन साताअघि नै खुद्रा पैसा जम्मा गरी सामान किन्ने ग्राहकलाई मात्र खुद्रा पैसा दिने गरेका छन्,’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘बैंक वित्तीय संस्थाले पनि दसैंमा मात्र हुने नयाँ वा खुद्रा पैसा साट्न पनि आफ्ना ग्राहक र अन्य भनी विभेदकारी व्यवहार गर्छन् ।’

प्रकाशित : आश्विन १०, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?