१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्वाचन खर्च नबुझाउने म्याग्दीका ५०० उम्मेदवारलाई जरिवाना

घनश्याम खडका,

म्याग्दी — स्थानीय तह निर्वाचनमा कानुनले तोकेको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने म्याग्दीका एक नगरपालिकासमेत ६ स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष/वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका ५०० उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । 

आयोगले बेनी नगरपालिकाका मेयर/उपमेयरका उम्मेदवारलाई ४ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही २ लाखको दरले जरिवाना तोकेको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई ३ लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत चित्रनाथ शर्माका अनुसार मालिका गाउँपालिकाका १३२ जना, रघुगंगा गापाका ११४, बेनी नगरपालिकाका ९६, धवालागिरिका ४४ र अन्नपूर्ण गापाका ३५ जना उम्मेदवारले समयमा निर्वाचन खर्च बुझाउन नसक्दा जरिवानामा परेका हुन् । निर्वाचन कार्यालयका अनुसार बेनी नगरपालिकाका मेयर उम्मेदवार राप्रपाकी मीना सापकोटा, मंगल नेशनल अर्गनाईजेसनका नरबहादुर थापा, उपमेयरका उम्मेदवार एमालेकी पशुपति शाही, राप्रपाका एकेन्द्र रावलसमेत १६ जना वडाध्यक्ष उम्मेदवार तथा ९२ जना सदस्य उम्मेदवारले सम्पत्ति विवरण जरिवानामा परेका हुन् ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार कांग्रेसका बलबहादुर तिलिजा, राप्रपाका तीर्थ खड्का, मंगोल नेसनलका रामबहादुर गर्बुजा तथा उपाध्यक्ष पदका उम्मेदवार कांग्रेसकी ललिता तिलिजा र १० वडाध्यक्षसमेत ३१ जना, मालिका गापामा अध्यक्ष पदका उम्मेदवार कांग्रेसका श्रीप्रसाद रोका, मंगोलका खमबहादुर रोका, उपाध्यक्ष्मा कांग्रेसकी पीपला बुढा, माओवादी केन्द्रकी गौरी सेन्चुरी, नेसनलकी धनदेवी बुढा र २४ जना वडाध्यक्षसमेत १२७ जना सदस्य पदका उम्मेदवारले खर्च विवरण समयमा नबुझाउँदा जरिवानामा परेका छन् ।

त्यसैगरी रघुगंगा गापामा अध्यक्ष पदका उम्मेदवार एमालेका प्रेमबहादुर कार्की, माओवादी केन्द्रकी मीना विक, स्वतन्त्र सागर भण्डारी, उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमकुमारी पुन, माओवादी केन्द्रका रीम कटुवाल, स्वतन्त्र अनुरोध रिजाल तथा २७ जना वडाध्यक्षसमेत १०९ जना सदस्य पदका उम्मेदवार जरिवानामा परे ।

धवलागिरि गापामा अध्यक्ष पदका उम्मेदवार नेकपा एसका बमबहादुर पाईजा, उपाध्यक्षमा मंगोलका खममाया रोका तथा ९ वडाध्यक्ष समेत ४२ जना सदस्य पदका उम्मेदवार र मंगला गापामा अध्यक्ष पदका उम्मेदवार कांग्रेसका वीरेन्द्र बुढाथोकी, राप्रपाका योगेन्द्र शेरचन, मंगोलका गिरु रोका, उपाध्यक्षमा कांग्रेसकी शर्मिला थापा, माओवादी केन्द्रकी सुकमाया मगर र राप्रपाकी विन्दु मल्ल तथा १६ जना वडाध्यक्षसमेत ७३ जना सदस्य पदका उम्मेदवारले समयमा निर्वाचन खर्च नवुझाउदा जरिवानामा परेका छन् ।

प्रकाशित : आश्विन ८, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?